जापानको ट्रेल दौडको उपाधि विजेता हुमी बुढा मगर स्वदेश फर्किइन्

तस्बिरः बिएल

जापानमा सम्पन्न माउण्ट ताइसेत्सु ट्रेल जोर्नीको उपाधि विजेता हुमी बुढामगर स्वदेश फर्किएकी छन्। उनलाई त्रिभुवन विमानस्थलमा बिभिन्न संघ संस्थाका व्यक्ति तथा आफन्तले स्वागत गरेका थिए। जापानमा सम्पन्न माउण्ट ताइसेत्सु ट्रेल जोर्नीमा विजय भएपछि हुमी नेपाल फर्केकी हुन्।

४० किलोमिटरको उक्त दौड ५ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै हुमी च्याम्पियन बनेकी थिइन्।

अघिल्लो वर्ष नोभेम्बरमा हङ्कङमा भएको सम्मिट ट्रेल च्यालेञ्जको ५० किलोमिटर दौडको उपाधि जितेकी उनी जापानको दौडमा सहभागिता जनाउने मौका पाएकी हुन्।

नेपालको एयरपोर्ट अधिकारीहरुले रोकेपछि चार पाँच दिन ढिलो हुमी जापान पुगेकी थिइन्। जापान जस्तो विकसित मुलुकमा गएर आफूले जित्न पाउदा खेल प्रति निकै उत्साहित भएको र आगामी दिनमा खेल क्षेत्रमै केहि गरेर देखाउने उर्जा थपिएको उनले बताइन्।

हुमीका बुबा डम्बर बुढामगरले छोरीले एकै साथ जापानमा भएको माउण्ट ताइसेत्सु ट्रेल जोर्नीको उपाधि र १२ कक्षामा पनि उत्कृष्ट नम्बर लिएर पास भएकोमा निकै खुसी लागेको बताए।

हुमीको मामा विवेक बुढामगरले एक दुर्गम गाँउमा जन्मिएर सानो उमेरमै जापानमा भएको माउण्ट ताइसेत्सु ट्रेल जोर्नीको उपाधि जितेर नेपालको नाम राख्न सफल भएकोमा सबैले सहयोग गर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय खेल जित्दा पनि नेपाल सरकार र अन्य संघ संस्थाले वेवास्ता गरेको भन्दै दुखेसो पोखे।

प्रकाशित मिति: : 2019-08-01 10:50:37

प्रतिकृया दिनुहोस्