एजेन्सी । इंग्लिस प्रिमियर लिगको क्लब टोटेनहम हट्स्परले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई पराजित गर्दै औडी कप उपाधि हात पारेको छ ।
बुधबार राति भएको खेलमा बार्यन म्युनिखलाई सडनडेथमा हराउँदै टोटेनहमले उपाधि उचालेको हो ।
निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि हटस्पर्सले सडन डेथमा ६-५ को जित दर्ता गरेको हो।
जेरोम बोटेङले निर्णायक प्रहार गोलमा परिणत गर्न नसक्दा बायर्न पराजित भएको थियो।
त्यसअघि टाइब्रेकरमा स्पर्सका क्रिस्टियन एरिक्सन तथा बायर्नका डेविड अलावाको प्रहार गोल हुन सकेको थिएन ।
खेलको १९ औ मिनेटमा ईरिक लामेलाको गोल गर्दै टोटेनहमले सुरूवाती अग्रता लिएको थियो।
पहिलो हाफमा जर्मन क्लबमाथि टोटेनहम पूर्ण रुपमा हाबी देखिन्थ्यो । पहिलो हाफसम्म १-० गोल अन्तरमा अग्रता लिएको टोटेनह्यामले खेलको ५९ औ मिनेटमा अग्रता दोब्बर पार्यो। उसका लागि क्रिस्टियन एरिक्सनले गोल गरे। उनले जर्जेस केभिन एनकुडुको क्रसलाई गोलमा परिणत गरेका थिए।
जवाफमा बायर्नले जान फिएट आर्प र अल्फोन्सो डेभिसको गोलमा खेल बराबरीमा ल्याएको थियो ।
खेलको ६१ औं मिनेटमा जान फिएट आर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने कोशिश गरे। ८१ औं मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै टोलीबाट गोल भएन र खेलको निर्णय पेनाल्टी सुटआउटबाट भयो।