अस्ट्रिया रेडबुल साल्जबर्गमाथि चेल्सीको सानदार जित

तस्बिरः एजेन्सी

चेल्सीले अस्ट्रिया रेडबुल साल्जबर्गमाथि सानदार जित निकालेको छ।

अस्ट्रियाको रेड बुलबेल एरेना साज्लबर्गमा भएको मैत्रीपूर्ण खेलको क्रिस्टियन पुलिसिकले दुई गोल गरेपछि चेल्सीले ५-३ को सहज जित निकालेको हो।

खेलको २० औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए।

त्यसको ३ मिनेट पछि रोस बाक्र्लेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

त्यसको ६ मिनेट पछि २८औं मिनेटमा पुलिसिकले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-० को अग्रता लिएको थियो।

दोस्रो हाफमा केही आक्रमक देखिएको रेडबुलले ३ गोल फर्काउन सफल भए पनि थप २ गोल खाँदा घरेलु मैदानमा पराजित हुनुपर्‍यो।

खेलको ५०औं मिनेटमा जेरोमी ओन्गुइनेले गोल गर्दै रेडबुललाई खेलमा फर्काउने संकेत देखाए। तर, ५७औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता पुन: ३ गोलमा लम्ब्याएका थिए।

खेलको ८६ औं मिनेटमा ताकुमी मिनामिनोले पेनाल्टीमा गोल गर्दै रेडबुललाई ४-२ को स्थितिमा ल्याए।

चेल्सीका रक्षक डेविड जापाकोस्टाले विपक्षी टोलीका खेलाडीमाथि पेनाल्टी बक्समा फाउल गरेपछि रेडबुलले पेनाल्टी पाएको थियो।

निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मिची बाट्सुवाईले चेल्सीका लागि पाँचौ गोल गरे।

निर्धारित समयको अन्तिम मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरे पनि रेडबुललाई हारबाट जोगाउन सकेनन्।

चेल्सीले आगामी खेलमा शनिबार जर्मनीको बोरुसिया मोन्चेन्ग्लाड्बाको सामना गर्नेछ। यसअघि आइतबार भएको खेलमा चेल्सीले इङ्ल्यान्डकै रिडिङलाई ४-३ गोल अन्तरमा हराएको थियो।

प्रकाशित मिति: : 2019-08-01 06:48:11

प्रतिकृया दिनुहोस्