पूर्वराजदूत केशवराज झाको हत्या अनुसन्धान परिवारतिर सोझिएको छ। गत भदौ ३ गते राति बबरमहलस्थित घरमा चक्कु प्रहारबाट ८० वर्षीय झाको हत्या भएको थियो।
प्रहरीको अपराध अनुसन्धान महाशाखाले घटनालगत्तै झाको घरमा कार्यरत सानुकान्छा तामाङ, आइतसिंह तामाङ र जयबहादुर तामाङलाई पक्राउ गर्यो। तर उनीहरू भदौ २९ गते आठ हजार रुपैयाँका दरले धरौटी बुझाएर छुटे।
घरभित्रकै चक्कु प्रयोग हुनु, बाहिर कुनै संकेत नदेखिनु र परिवारभित्रबाट सुरुदेखि नै संका गर्ने ठाउँ मिल्नुले प्रहरी अनुसन्धान अहिले त्यतै सोझिएको संलग्न अधिकारी बताउँछन्।
महाशाखा स्रोतले भन्यो, ‘सम्पत्तिका कारण उनकै आफन्तको संलग्नतामा हत्या भएको हुन सक्नेमा पुगेका छौं। उनीहरू सुरुदेखि नै हाम्रो अनुसन्धानमा बाधक बन्दै आएका थिए।’
झाका बहिनी र भाइले एकअर्कालाई दोष दिने गरेको महाशाखाका अधिकारीले बताए। उनले भने, ‘सम्पत्तिका नाममा उनीहरूको झगडा भएको रहेछ, पछिल्लो गतिविधिमा पनि प्रशस्त शंका गर्ने ठाउँ छ। हामी प्रस्ट प्रमाणको खोजीमै छौं।’
प्रहरीको अनुसन्धान क्षमतामा नै प्रश्न उठ्ने यो अर्को घटना बन्दैछ। हत्याका घटना अनुसन्धानमा सहज हुने भएपनि एक वर्षसम्म प्रहरी निचोडमा पुग्न सकेको छैन।
प्रहरी भन्छ, ‘परिवारले सहयोग नगर्दा हामी निचोडमा पुग्न सकिरहेका छैनौं।’ पक्राउ परेका झाको घरका कामदारले अनुसन्धानका क्रममा यातना दिएको भन्दै प्रहरीविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
उजुरीपछि पटक–पटक प्रहरीसँग आयोगले बयान लिएको छ। पूर्व डिआइजी हेमन्त मल्ल भने उजुरीले प्रहरीको मनोबल गिरेको बताउँछन्। उनी भन्छन्, ‘मानव अधिकार आयोगमा जाने उहाँहरूको अधिकार हो, जान पाउनुपर्छ आयोगले पनि आफ्नो काम गर्छ नै । तर, यसले घटनालाई कस्तो असर गर्छ भन्ने कुरा हेर्नुपर्छ।’
परिवारको संलग्नताबारे उनले भने, ‘त्यस्तो हो भने घटनासँग ती प्रमाण लिङ्क गर्न सक्नुपर्छ।’
आयोगमा उजुरी परेपछि लामो समयदेखि सेलाएको झाको हत्या अनुसन्धान फाइल महाशाखा प्रमुख फेरिएसँगै अगाडि बढेको छ। महाशाखाका प्रवक्ता एसपी केदार ढकालले अनुसन्धान तदारुकताका साथ अगाडि बढाएको बताए। तर उनले भनेजस्तो अनुसन्धानमा तीब्रता नतिजाले देखाएको छैन। बरु पूर्व डिआइजी मल्लले भनेजस्तो प्रहरी मनोबल कमजोर हुँदा अनुसन्धानमा सफलता हात नपरेको बुझ्न सकिन्छ।
अहिले पनि अनुसन्धानमा संलग्न अधिकारी केस अगाडि बढाउन डराइरहेको पूर्व प्रहरी बताउँछन्। ‘यदि अनुसन्धानमा दक्ष प्रहरी भए डराउनु हुँदैन, प्रमाणले जवाफ दिन सक्नुपर्छ’, मल्ल भन्छन्।
हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षागार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडालगायत वस्तु घटनास्थलमा फेला परेका थिए।
झाको हत्यामा आफ्नै भान्साको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट फिंगर प्रिन्टसँग नमिलेको प्रहरीले जनाएको छ। यस्तै झाको मोवाइलबाट पनि कुनै प्रमाण प्रहरीले फेला पार्न सकेन। संभावित व्यक्तिमाथि अनुसन्धान गर्दा कुनै प्रमाण फेला नपरेपछि फेरि प्रहरी अनुसन्धान घरभित्रै र आफन्तमा केन्द्रीत भएको प्रहरीले जनाएको छ।
पोलिग्राफमा झुटो बोलको भन्दै प्रहरीले सानुकान्छा तामाङको नार्कोसमेत परीक्षण ग¥यो। जुन नेपालमा वैधानिक मानिँदैन। तर यसरी पनि कुनै रहस्य पत्ता लागेन।
बरु झाको हत्या भएको एक महिनापछि असोज ४ गते सुनसरीमा खुर्सिद आलमको हत्या भयो। खुर्सिदको हत्या भारतीय खुफिया एजेन्सी ‘रअ’ ले गराएको कुरा आएपछि प्रहरीले झाको हत्या अनुसन्धान त्यता पनि केन्द्रीत ग¥यो। झा पाकिस्तानसँग नजिक मानिने भएकाले शंका गरिए पनि प्रमाण फेला परेन। त्यसमा पनि घटनाको प्रकृति हेर्दा पनि रअको संलग्नतामा शंका गर्ने ठाउँ कम भयो।
सानुकान्छा तामाङ भान्छे हुनु, आफ्नै भान्साको चक्कु प्रयोग हुनु, पोलिग्राफमा झुटो बोल्नु र कुकुरले पनि तामाङतर्फ इंगित गरेको भन्दै उनलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। तर प्रहरीले सफलता हात पार्न सकेन।
बरु उनी छुटिसकेपछि आफूलाई यातना दिएको भन्दै प्रहरीविरुद्ध उजुरी दिए। उनको उजुरीपछि मानवअधिकार आयोगले प्रहरीविरुद्ध अनुसन्धान थाल्यो भने प्रहरीको अनुसन्धान सेलाउँदै गयो। महाशाखामा प्रमुख फेरिएसँगै फेरि अनुसन्धान अगाडि बढाएको त भनिएको छ तर उपलब्धि देखिएको छैन।