तत्कालिन एमाले अखिलका 'चर्चित बाहुबली' नेता टेण्डी शेर्पाको अमेरिकामा उपचार नभएपछि उनलाई नयाँदिल्ली लैजान लागिएको छ ।
उनलाई इएलेस डिजिज (Eales Disease- ED) नामक एक विरानो रोग लागेको छ । त्यसैको उपचार गर्न केही समय अगाडि उनलाई अमेरिका ल्याइएको थियो । अमेरिकामा समेत त्यस रोगको उपचार नभएपछि उनकै ईच्छाअनुसार आयुवेर्दिक उपचार गर्न नयाँ दिल्ली लैजान लागिएको उनका दाजु नवाङ निमा शेर्पाले बताएका छन् ।
शेर्पाका अनुसार उनलाई अमेरिकाका न्युयोर्कबाट स्थानीय समयानुसार मंगलबार विहान ७ बजे त्यसतर्फ लैजान लागिएको हो ।
बोल्नसमेत नसक्ने अवस्थाका टेण्डीको नयाँ दिल्लीस्थित एक आयुर्वेदिक अस्पतालमा २१ दिनसम्म उपचार हुने बताइएको छ । दिल्लीमा उनका साथीहरूसमेत आउने र त्यसपछि उनलाई कता लैजाने सल्लाह गरिने उनका दाजु ङिमाले बताए ।
उनले भने- 'टेण्डीले नेपाल नै जाने भनिरहेको छ । शायद हामी उसको इच्छाअनुसार नेपाल नै लैजान्छौ होला ।'
टेण्डी कुनै बेला एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको 'चर्चित बाहुबली' नेता थिए । उनी अमृत साइन्स कलेजको स्ववियु सभापति पनि भएका थिए ।
विद्यार्थी नेतापछि उनी खेलकुद व्यक्तित्व बने । कुनै समय यस्तो थियो, उनी नेपाली खेलकुदकै सर्वशक्तिमान व्यक्ति बनेका थिए । खेलकुद क्षेत्रमा लामा टेण्डी शेर्पाका नामले परिचित उनी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत भएका थिए । अहिले पनि उनी नेपाल बास्केटबल संघको अध्यक्ष र नेपाल ओलम्पिक कमिटिका महासचिव रहेका छन् ।