टोरन्टो । क्यानाडामा जारी ग्लोबल टी-२० अन्तर्गत विन्नीपेग हक्स टोरन्टो नेशनल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।
गएराति सम्पन्न खेलमा हक्सले नेशनल्सलाई ३ विकेटले हराएको हो। टोरन्टोले दिएको २१७ रनको लक्ष्य पछ्याएको विन्नीपेगले अन्तिम बलमा७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
विन्नीपेगका लागि क्रिस लीनले८९ रनको अर्धसतकीय पारी खेलेका थिए। ४८ बल खेलेका उनले १० छक्का र २ चौका प्रहार गरेका थिए।
यस्तैसन्नी शोहलले २७ बलमा ६ छक्का र २ चौकासहित ५८ रन बनाउँदाशैमान अनवरले २१ बलमा ४३ रन बनाएका थिए। उनले समान ४-४ चौका र छक्का प्रहार गरेका थिए।
टोरन्टोका सलमान नाजार र क्रिस ग्रीनले समान २-२ विकेट लिएका थिए। युवराज सिंह र जेरेमी गोर्डनले १-१ विकेट हात पारे।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको थियो ।
टोरन्टोका लागि रोड्रीगो थोमस र केरन पोलार्डले अर्धसतकीय इनिङ्स खेलेका थिए। थोमसले ४६ बलमा ६५ रन बनाएका थिए भने पोलार्डले २१ बलमा ५२ रन बनाएका थिए। कप्तान युवराज सिंहले २६ बलमा ४५ रनको योगदान दिएका थिए।
विन्नीपेगका ड्वाने ब्राभोले ४ विकेट लिएका थिए ।
योसँगै विन्नी पेगले अहिलेसम्म खेलेका ३ खेलमा २ खेलमा जित हाशिल गरेको छ भने एक खेलमा पराजय भएको छ।
त्यस्तै टोरन्टो भने ३ खेलमा २ खेलमा पराजित भएको छ भने एक खेल मात्र जितेको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी हिजोको खेलमा बेन्चमै बसेका थिए।
गत वर्ष मोन्टरियल टाइगर्सबाट खेलेका सन्दीप यस बर्ष भने टोरोन्टो नेसन्सबाट खेल्दैछन्। त्यस्तै सोमपाल भने पहिलो पटक विदेशी फ्रेन्चाइजलिग खेल्दैछन्। सोमपाललाई भने विन्नीपिग हक्सले लिएको छ।
सन्दीप र सोमपाल दुवै खेलाडीलाई टोलीले विश्राम दिएको हो। लगातार क्रिकेट खेलेर लामो यात्रा तय गरेका कारण दुवैले आराम पाएका हुन्।
अब विन्नीपेगको खेल आगामी विहिबार छ भने टोरन्टोको खेल आगामी शनिबार रहेको छ।