काठमाडौं । वेस्टइन्डिजका क्रिस गेलले ग्लोबल टी-२० क्यानाडामा आक्रामक ब्याटिङ गर्दै शतकीय पारी खेलेका छन् ।
गेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १२२ रनको पारी खेलेका छन्। गेलले ४७ बलमा आफ्नो शतक पुरा गरेका थिए। २७ बलमा अर्धशतक पुरा गरेका गेलले अर्को २० बलमा थप ५० रन बनाउँदै शतक पुरा गरेका हुन्।
गेलले ५४ बल खेल्दै ७ चौका र १२ छक्कासहित अविजित १२२ रन बनाएका थिए ।
गेलको टी-२० क्यारियरमा यो २१औं सतक हो ।
मोन्टेरियल टाइगरविरुद्ध भान्कुभर नाइटबाट खेलेकागेलको १२२ रनको मद्धतले भान्कुभरले २० ओभरमा ३ विकेट गुमाउँदै २७६ रन बनाएको थियो।
त्यस्तै भान डेर दुसेनले २५ बलमा ५६ रन बनाएका थिए भने टोबियास भिसेले १९ बलमा ५१ रन बनाएका थिए।
भान्कुभेरले २७६ रन बनाएपनि खेल मौसममा खराबी आएका कारण रद्ध भएको थियो।
आयोजकले आँधिसहित वर्षा हुने सम्भावना भएपछि खेल रद्ध गर्दै दुवै टिमलाई अंक बाडेको छ।
यो सँगै भान्कुभेरले ३ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। यसअघि टोरन्टो नेशनललाई रोमाञ्चक खेलमा हराउँदै विनिपेग हग्स दोस्रो स्थानमा उक्लिएको छ। हग्सको ३ खेलबाट ४ अंक भएको छ। यस्तै ब्राम्टन ओल्भस् २ खेलबाट शतप्रतिशत जितसहित ४ अंक जोडेर शीर्ष स्थानमा छ।