एनआरएन क्यानडामा लाग्यो चुनाव : सुरू भयो आरोप-प्रत्यारोप

आगामी अगस्ट १० मा एनआरएन क्यानडाको निर्वाचन हुदैछ । तर, जति जति निर्वाचन नजिकिदैछ, त्यति त्यति नै नेतृत्वको लागि फोहोरी राजनीति पनि सुरू भएको संकेत मिलेको छ । 

यसैक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले र महासचिव चिरञ्जिवी घिमिरेले मोटो रकम लिई संस्थाको लेटरप्याड मानव तस्करलाई बेच्ने गरेको आरोप सहितको समाचार एक अनलाइन पोर्टलमा सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसको मुखपत्र मानिने आइतबारे साप्ताहिक देशान्तरको अनलाइन पोर्टलमा आएको त्यो समाचारको अध्यक्ष काफ्ले र महासचिव घिमिरेले खण्डन गरेका छन् । 

उनीहरूले एनआरएन क्यानडाको चुनावलाई प्रभावित पार्न केही निहित स्वार्थ भएका तत्वहरूले नियोजित रूपमा भ्रम छरेको बताउँदै वक्तव्यमा त्यस्तो प्रमाण ल्याउन चुनौति दिएका छन् र प्रमाणित भएमा जुनसुकै किसिमको सजाय भोग्न तयार रहेको पनि बताएका छन् । 

उनीहरूले यसबाट आफ्नो चरित्रहत्या भएको बताउँदै त्यस्ता तत्वविरूद्ध कानूनी उपचारको बाटो खोजिसकिएको पनि बताइएको छ । 

गैर आवासिय नेपाली सघ क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले र महासचिव चिरञ्जिवी घिमिरेले मोटो रकम लिई संस्थाको लेटरप्याड मानव तस्करहरुलाई बेच्ने गरेको खुलासा भएको हो । अध्यक्ष काफ्ले र महासचिव घिमिरेले मोटो रकम लिई मानव तस्करले भनेको व्यक्तिको नाममा संस्थाको लेटरप्याडमा एनआरएनए क्यानडाको कार्यक्रममा सहभागिताको निम्तो पठाउने गरेको विशेष सूत्रले देशान्तरलाई बतायो । बागलुङ घर भएका एक नेपालीले एनआरएनए क्यानडाको कार्यक्रमको निम्तोमा क्यानडा जाने गरी दलाललाई ३५ लाख बुझाएको नाम उल्लेख नगर्ने शर्तमा देशान्तरलाई बतायो । 
(देशान्तरको समाचारको एक अंश)
.................................

अध्यक्ष र महासचिवका तर्फबाट संस्थाको लेटरप्याड कहीँ/कतै दुरूपयोग नभएको र आरोप लगाउनेहरूलाई दुरूपयोग भएको भनिएका लेटरप्याड (२०१७-२०१९) प्रमाणस्वरूप ल्याएर आउँनका लागि हामी खुला चुनौति दिन चाहन्छौं ।यदि दुरूपयोग भएको पाइएमा हामी जस्तोसुकै सजाय भोग्न पनि तयार छौं ।... साधारण समाचार सम्प्रेषण गर्ने आधारभूत कुरा समेत उल्लेख नगरी चुनावलाई प्रभावित पार्न राजनैतिक दाउपेच खेल्ने जो कोहीलाई पनि किमार्थ छाडिदैन । 
(एनआरएन क्यानडाका अध्यक्ष र महासचिवले जारी गरेको प्रेस विज्ञप्तीको एक अंश)

निर्वाचनको मुखमा एक राजनीतिक दलको नजिक रहेको समाचार पोर्टलमा नाम बताउन नचाहने स्रोत प्रयोग गरेर लगाइएको यो आरोप र त्यसले सिर्जना गरेको प्रत्यारोपलाई एनआरएनलाई गैरराजनीतिक संस्थाका रूपमा देख्न चाहनेले कति पनि रूचाएका छैनन् ।

उनीहरूले यसबाट संस्थाको बदनाम हुने भएकाले त्यसो नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण पनि गराएका छन् ।

कांग्रेस निकट पोर्टलमा समाचार आएकाले यसलाई कांग्रेस पक्षधरले नै चुनावलाई प्रभावित गर्न खोजेको भनेर कांग्रेसइतर पक्षले आरोप लगाएका छन् ।

यस कार्यबाट उनीहरूलाई नै घाटा लाग्ने पनि उनीहरूले बताएका छन् । कांग्रेस विचार बोक्ने एनआरएनका सच्चा अनुयायीले यसलाई सही कदम मान्न नसकिने बताएका छन् ।

प्रकाशित मिति: : 2019-07-30 07:55:54

प्रतिकृया दिनुहोस्