'पार्टी एकतामा निजी स्वार्थ बाधक'

फोटो तथा भिडियोः दिपेन श्रेष्ठ/अन्नपूर्ण

अन्नपूर्ण सम्वाद

नेकपा एकीकरण प्रक्रियामा निजी स्वार्थलाई प्राथमिकता दिन खोजिएकाले पार्टी संगठन, सरकार र मुलुकलाई समेत क्षति पुगेको बताउँछन् नेकपा स्थायी समिति सदस्य भीम रावल। सरकारको गलत क्रियाकलापको कटाक्ष, संविधानको रक्षा र राष्ट्रहितका पक्षमा बोलेकै कारण पार्टीभित्रै प्रतिपक्षी मानिन्छन् रावल। ०३३ सालमा तुलसी गिरीले भारतमा दिएको वक्तव्यलाई लिएर ‘श्री ५ को सरकारको घुँडा टेक्यो नीति मुर्दावाद’ भनेर समेत लोकतन्त्र र राष्ट्रहितमा उत्रेको उनको विगत छ। विलम्ब हुँदै गएको नेकपा एकीकरण प्रक्रिया, गतिशील हुन नसकेको सरकार र कूटनीतिका बारेमा अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारी र रामकृष्ण अधिकारीले गरेको कुराकानी :


नेकपाका शीर्षनेता पार्टी एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको बताइरहेका छन्, सकिएकै हो त एकताको काम ?

पोलिटब्युरो बन्न बाँकी छ। केन्द्रीय समितिका सबै सदस्यको कार्य विभाजन भएको छैन। जनसंगठनमा प्रमुख मात्र तोकिएका छन्, त्यसले पूर्ण आकार पाउन सकेको छैन। केन्द्रीय निकाय बनिसकेका छैनन्। प्रदेश, जिल्ला कमिटीका कार्यालय र सचिवालय तथा स्थानीय कमिटी बनिसकेका छैनन्। एकीकरण प्रक्रियाका थुप्रै काम बाँकी छन्।

विलम्ब हुनुको कारण के होला ?

आआफ्ना निजी स्वार्थलाई प्राथमिकता दिन खोजिएकाले ढिलाइ भएको हो। एकीकरणका काममा विलम्ब हुनु राम्रो होइन। विलम्बले पार्टीको संगठनात्मक काममा नकारात्मक असर पारेको छ। यसले पार्टी, सरकार र मुलुकलाई समेत क्षति पुर्‍याएको छ। एकता घोषणा गर्दा (२०७५ जेठ ३) तीन महिनाभित्र एकताका सम्पूर्ण काम सकिने भनिएको थियो। हामीले त्यसैमा सहमति जनाएका थियौं। निर्णय गर्नुपर्ने प्रमुख व्यक्तिहरूले समय नदिने, फराकिलो ढंगले गम्भीर छलफल नगरेकाले एकता प्रक्रियामा ढिलाइ भएको छ।

पोलिटब्युरो गठन नहुँदै केन्द्रीय सदस्यको कार्यविभाजन थाल्नुलाई कसरी बुझ्ने ?

पार्टी सुढृढ बनाउन पहिले पोलिटब्युरो गठन गर्नु पथ्र्यो। हामीले स्थायी समिति बैठकमा त्यही सुझाव दिएका थियौं। पोलिटब्युरो पहिले गठन भएको भए जिल्ला इन्चार्ज बनाउँदा जो पोलिटब्युरो सदस्य हुन्थे, तिनैले त्यो जिम्मेवारी पाउँथे। तर त्यसो हुन सकेन। संगठनात्मक दृष्टिकोणबाट पोलिटब्युरो गठन नगरी इन्चार्जको जिम्मेवारी दिनु युक्तिसंगत होइन। यसबाट भविष्यमा पुनः केन्द्रीय सदस्यको कार्य विभाजनमा हेरफेर गर्नुपर्ने अवस्था उत्पन्न हुन सक्छ।

पार्टी स्कुल विभाग नेतृत्वका लागि देखिएको मतभेदबारे के भन्नुहुन्छ ?

पार्टी बलियो बनाउने हो भने व्यक्तिको सम्बन्धित विषयको ज्ञान, क्षमता, सक्रियता, उसको विगतको पृष्ठभूमि, निरन्तरता, पार्टीमा खेलेको भूमिका हेरेर जिम्मेवारी दिँदा राम्रो हुन्छ। कुन व्यक्तिले के पाएन भन्दा पनि यो राष्ट्रलाई विगतका सामन्ती प्रणाली व्यवस्थाको उपजबाट मुक्त गराउन कसरी अगाडि जान सक्छौं भन्नेमा बहस केन्द्रित गर्नुपर्छ। अब विषयवस्तुमा राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित, देशको स्वाभिमान, जनताको अधिकार, पार्टीलाई बलियो बनाउनेतिर ध्यान नगएसम्म विभागको प्रमुख को हुने भन्ने लडाइँ जारी रहन्छ।

प्रकाशित मिति: : 2019-07-28 11:47:56

प्रतिकृया दिनुहोस्