सिंगापुरसँग नेपाल स्तब्ध, विश्वकप खेल्ने सपना समाप्त

Agency

विश्व वरीयतामा एघारौं स्थानमा रहेको नेपालले १६ राष्ट्र सहभागी हुने सन् २०२० टी-२० विश्वकप खेल्ने मौका गुमाएको छ। सहभागी टोलीमध्ये एक मात्र एकदिवसीय मान्यता पाएको राष्ट्र नेपालले सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी -२० एसिया छनोट अन्तर्गत आइतबार घरेलु टोलीसँग लज्जास्पद हार व्यहोर्दै अष्ट्रेलियामा हुने विश्वकप खेल्ने सपना चकनाचुर भएको हो।

टस जितेर पहिले ब्याटिङ गर्दै सिङ्गापुरले दिएको १९१ रनको बिशाल लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटियो।

जितसँगै सिङ्गापुर दुई महिनापछि यूएईमा आयोजना हुने टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पहिलो पटक छानिएको छ।

नेपालले आक्रामक शुरूवात गरे पनि ब्याटिङ स्तरीय हुन नसक्दा नसोचेको पराजय व्यहोर्न बाध्य भयो।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए। तर, ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई क्रिजमा टिक्न दिएन।

मल्लले ३९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २३, खड्काले १२ र सोमपाल कामीले ११ बनाए। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

सिङ्गापुरका लागि सेलाडोर विजयकुमारले चार र विनोथ बसकरणले दुई विकेट लिँदै नेपाली इनिङ्स ध्वस्त पारे।

८२ रनको हार नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा दोस्रो ठूलो रन अन्तरको हार हो। यसअघि नेपाल नेदरल्याण्डसँग २०१५ मा १०३ रनले पराजित भएको थियो।

सन् २०१४ मा टी-२० विश्वकप पहिलो पटक खेलेको नेपाली टिमले त्यसपछि २०१६ टी-२० विश्वकपमा पनि छनोट हुन सकेन। लगातार दोस्रो पटक नेपाली टिम टि-२० विश्वकप छनोट हुन असफल भएको हो।

प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको हार बेहोरेको थियो। त्यसपछि मलेसिया र कुवेतलाई पराजित गर्दा अन्तिम खेल जिते आगामी चरण छनोट हुने समीकरण थियो।

प्रतियोगिताको सम्पूर्ण खेलहरु सकिदा सिंगापुरको ४ खेलमा ३ जित र १ बराबरी अंकसहित ७ अंक जोड्दै शीर्ष स्थानमा कायमै रह्यो। कतार ४ अंकसहित दोस्रो र समान ४ अंक जोडेको नेपाल रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेर विश्वकप छनोट यात्रा टुंग्यायो।

सिङ्गापुरको इन्डियन क्रिकेट एसोसियसनको मैदानमा आइतबार टिम डेभिड र रोहन रङ्गराजनको उत्कृष्ट ब्याटिङमा सिंगापुरले निर्धारित २० ओभरमा प्रतियोगिताकै धेरै रन बनाउने क्रममा १९१ रनको योगफल तयार पार्‍यो।

टी-२० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध कुनै पनि राष्ट्ले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।

गतवर्ष नेदरल्याण्डले नेपालविरुद्ध १७४ रन बनाएको थियो।

डेभिडले सिङ्गापुरको लागि सर्वाधिक ७७ रन जोडे। ४३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि उनले रोहन रङ्गराजनसँग ८९ रनको साझेदारी गरेका थिए। ओपनर रङ्गराजनले ४९ रन जोड्नु सिङ्गापुरको लागि महत्तपूर्ण बन्यो।

मनप्रित सिंहले २७ बलमा ४२ रन बनाउदा सिङ्गापुरको स्कोर दुई सय नजिकै पुग्न सक्यो।

नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिएका थिए।

सर्वाधिक ४ विकेट लिनेक्रममा ४ ओभ बलिङ गरेका उनले ३५ रन खर्चिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो दोस्रो उत्कृस्ट बलिंग फिगर हो।

यसअघि बसन्त रेग्मीले टी-२० विश्वकप २०१४ मा हङकङबिरुद्ध ४ विकेट लिँदा ४ ओभरमा १६ रन मात्र खर्चिएका थिए जुन अहिलेसम्मै उत्कृस्ट नेपाली बलिङ फिगर हो।

करन केसीले २ विकेट लिनेक्रममा ३ ओभरमा २६ रन खर्चिए। समान ओभर बलिङ गरेका सोमपाल कामीले १५ रन खर्चिए पनि विकेट लिन सकेनन्।

यस्तै शरद भेसवाकरले ३ ओभर बलिङ गर्ने क्रममा २५ रन खर्चिए र विकेट बिहिन बने।

अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो। यसअघि सोमपाल कामीले नेदरल्याण्डबिरुद्ध गत वर्ष ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए।

३ ओभर बलिङ गरेका सन्दीप लामिछानेले ३४ रन खर्चिए। यी दुवै स्पीनर विकेटविहिन भए।

लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक सुरुवात गरेको थियो। तर, चौथो ओभरमा पारस खड्का १२ रन बनाएर आउट भए पछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो। पारसले १० बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसपछि ज्ञानेन्द्र मल्ल २१ बलमा ४ चौका र ३ छक्का मदतले सातौं ओभरमा ३९ रन बनाएर आउट भए।

त्यसपछि शरद ७, रोहित पौडेल, ५, बिनोद भण्डारी ९ तथा करन केसी खाता नखोली आउट भए।

त्यसपछि सोमपाल कामी र दिपेन्द्र ऐरीले साझेदारी बनाउने संकेत देखाए पनि सोमपाल १३ औं ओभरमा १० रन बनाएर रन आउट हुन पुगे। लगत्तै सन्दिप पनि खाता नखोल्दै आउट भए।

एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी २२ बलमा १ चौका र १ छक्का बनाएर नवौं विकेटको रुपमा १५ औं ओभरमा आउट भए। सोहि ओभरमा अविनाश बोहरा पनि खाता नखोली आउट हुँदा नेपाल अल-आउट हुन् पुग्यो।

सिंगापुरका बलर भिजयकुमारले सर्वाधिक ४ विकेट लिए। यस्तै बस्करनले २ तथा जनक प्रकास, अमजद महबुब र ए कृष्णले १/१ विकेट लिए।

ग्लोबल क्वालिफायरमा को को

यूएईमा हुने ग्लोबल क्वालिफायरमा १२ राष्ट्र छानिएका छन्।

टी-२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा ११ देखि १६ स्थानमा रहेका स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छन्। यद्यपी निलम्बनमा परेका कारण जिम्बाबेले प्रतियोगिता खेल्न नपाउन सक्छ।

आयोजकका रुपमा यूएई स्वत: छनोट भएको छ।

त्यसबाहेक पूर्वी एसिया प्यासाफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट दुई टोली केन्या र नामिविया तथा युरोपबाट जर्सी छनोट भइसकेका छन्। अब अमेरिकाबाट दुई राष्ट्को छनोट हुन बाँकी छ।

ग्लोबल छनोटका ६ टोली आगामी वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकपमा सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2019-07-28 10:19:29

प्रतिकृया दिनुहोस्