'ब्लू एप्रोन लगाएका गुरुङ सर घन्टी बजेपछि गितार बोकी क्लासरूमबाट जानुभयो। र, फर्केर कहिल्यै आउनुभएन।'
लेखक कुमार नगरकोटीले केही साताअघि छ कक्षा पढ्दाका आफ्ना अंग्रेजी गुरुबारे भावुक हुँदै 'कान्तिपुर कोसेली' मा यी हरफ कोरेका थिए।
नगरकोटीका गुरु थिए विक्रम गुरुङ, जोसँग मैले काठमाडौं र हङकङका कोठा, बार्दली, रेल–बसका सिट, मान्छे हराउने सडक र कन्सर्टका भव्य हलहरूसम्म साथै बसेर नजिकिने मौका पाएको थिएँ।
रेडियो नेपालका तमाम श्रोताजस्तै अरुण थापाका 'आँखाको निँद खोसी लाने', 'भुलुँभुलुँ लाग्यो मलाई सपनीमै' र 'कतै टाढा' जस्ता गीतका गीतकार एवं संगीतकारका रूपमा गुरुङलाई चिन्नु त झन् आम कुरा नै थियो।
विक्रम दाइ यसपालिको पलेँटी श्रृंखलामा गाउन नेपाल आउँदै हुनुहुन्छ- यो अलि पहिलेको समाचार थियो।
विक्रम दाइ आइपुग्नुभयो- यो गत साताको समाचार।
समाचार सुन्नेबित्तिकै मेरो मनमा फेरि नगरकोटीका त्यही लेखका यी हरफ खेल्न थाले–
'मलाई अंग्रेजी क्लास नरमाइलो लाग्न थाल्यो। गुरुङ सरको अभाव खट्किन थाल्यो। कानमा उहाँको आवाज गुञ्जिन थाल्योः 'इफ यू मिस द ट्रेन आई एम अन, यू विल नो द्याट आई एम गन...यू क्यान हियर अ ह्विसल ब्लो अ हन्ड्रेड माइल्स...'
मेरो बालमनको एकान्त प्रदेशमा बजेको ह्विसल म सुन्थेँ र कल्पना गर्थेँ...त्यो ट्रेनको कुनै डिब्बामा गुरुङ सर बस्नुभएको छ। उहाँले ब्लू एप्रोन लगाउनुभएको छ। र, उहाँको हातमा गितार छ।
यसरी गुरुङ सर मेरो जीवनबाट जानुभएको थियो। सदासदाका निम्ति। साह्रै न्यास्रो लाग्दा मेरी गुरुङसेनी आमालाई चिठ्ठी लेख्ने गर्थेँ- मेरो फेभरेट टिचरले मलाई छाडेर जानुभयो। ट्रेनमा, ह्विसल बजाउँदै। झ्यालखाना (होस्टल) मा म एक्लो छु। आमा, उहाँ पनि तपाईंजस्तै गुरुङ हुनुहुन्थ्यो। उहाँले झैं तपाईंले चैं मलाई कहिल्यै नछाड्नु होला।'
हरफहरू सम्झिसकेपछि मैले नगरकोटीलाई फोन गरेँ।
'के तपाईंले अझैसम्म आफ्नो फेभरेट टिचरलाई भेट्ने मौका पाउनुभएको छैन?'