मलाई थाहा थियो दरबारले यस्तै धोका दिन्छ भनेर

भोपालस्थित इन्जिनियरिङ कलेजबाट उनले डिप्लोमा सिध्याए । त्यस पछिको यात्रा काठमाडौंतर्फ मोडिनु स्वाभाविक थियो । किनभने काठमाडौं राजधानी थियो । यहाँ अवसर पनि थियो । २०१७ सालको कुरा हो यो ।  इन्जिनियर शिरोमणिप्रसाद उपाध्यायले पीडब्ल्युडीमा काम शुरु गरे । यो यो अहिलेको भवन विभागजस्तै प्रकृत्तिको थियो । यसले भवन निर्माणका कामहरू हेर्दथ्यो । 

जागिरमा उनको पदस्थापन पाल्पामा भयो । उनी पाल्पा गए र काम थाले । तिनताक नै तत्कालीन राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । जननिर्वाचित सरकार अपदस्त भयो । २०१७ सालको अन्तिम तिर तत्कालीन सरकारले चौधै अञ्चलका लागि दौडाहा टोली बनाएर परिचालित गर्यो । दौडाहा टोलीमा न्यायाधीश, इन्जिनियर, प्रशासकलगायतका सरकारी अधिकारीहरू राखियो । धवलागिरी अञ्चलका लागि पनि विकास विस्तार कार्यको निरीक्षण र अनुगमन गर्न न्याय क्षेत्रबाट मोहनप्रसाद शर्मा रहेको एउटा टोली गठन भयो । त्यसैमा इन्जिनियरकारुपमा संलग्न गराइए शिरोमणिप्रसाद उपाध्याय (८१) । 

सोमबार मित्रपार्कस्थित आफ्नो निवासमा ती दिनका कुरा सम्झिँदै थिए, इन्जिनियर उपाध्याय । उनले भने, “इन्जिनियरिङ क्षेत्रबाट म परेँ धवलागिरीको दौडाहा टोलीमा । पत्रका मलाई बाग्लुङ गएर टोलीमा सम्मिलित हुन भनियो । सायद, मेरो काम देखेरै मलाई त्यहाँ पठाइएको थियो । वास्तवमा एकदम शक्तिशाली टोली थियो त्यो ।”

त्यो उच्चस्तरीय टोलीले त्यस क्षेत्रको भौतिक विकास कति भएको छ ? योजनामा परेका काम भएका छन् कि छैनन् ? विकासका नाममा गलत गरेका त छैनन् ? यी सारा कुरामा ध्यान दिनु थियो । उपाध्यायका अनुसार सायद तत्कालीन राजा महेन्द्रले अपदस्त गरिएको सरकारलाई काउण्टर दिनै पनि यो कदम चालेका थिए । त्यसबेला शंका लागेकाहरूलाई टोलीले तुरुन्तै कारवाही पनि गथ्र्यो । विशेषाधिकार प्राप्त टोली थियो त्यो । 

त्यसबेला करिब दुई तीन महिना उनले टोलीका साथमा धवलागिरीका गाउँ गाउँमा बिताए । टोलीमा सैनिक र पुलिस पनि साथै रहन्थे । त्यसबेला उनको तलब २ सय रुपैयाँ थियो । भ्रमणका बेला भत्ता अलग थियो । त्यो दुई तीन महिना दह्रोसँग खटे उपाध्याय र उनी सम्मिलित टोली । अनि काठमाडौं पुगेर प्रतिवेदन बुझाए । 

उपाध्यायले सम्झिए एउटा प्रसँग । उनी भन्दैथिए, “अहिले पनि आङ सिरिङ्ग हुन्छ सम्झिँदा ! एक पटक म एउटा कुलो हेर्न डाँडामा गएँ । माथि डाँडामा पुगेर कुलो हेरेँ । कुलो देखाउन त्यहाँका स्थानीय पनि साथै थिए । त्यो गोरेटोमा हिँड्दा सेनाका दुई जवान अगाडि दिए । दुुई जना प्रहरी पछाडि थिए । भन्न त स्थानीयहरू भन्दै थिए, ‘काम भएको छ भनेर लेखिदिनुस् न’ । तर आफूले आँखाले नहेरी कसरी रिपोर्ट दिने ? हुँदैन भनेर म आफैँ हेर्न गएँ ।” 

त्यहाँको पहरामा पनि कुलो बनाएर लगेका रहेछन् । तल कालीगण्डकी बगिरहेको थियो । कसैगरी उपाध्याय र अरु केही व्यक्ति पुगे । परियोजना हेरे र फर्किए । 

एक दुई दिन पछि टोलीको क्याम्प अर्को डाँडा तिर सर्‍यो । त्यो डाँडामा जाँदा पो उनले आफू गएको कुलोको इलाका देखे । उनको आङ सिरिङ्ग भयो । त्यहाँबाट झरेको भए के हुन्थ्यो ? यो प्रश्नले उनको मथिङ्गल खायो । ‘नगएको भए पनि हुन्थ्यो’ भन्ने उनको मनले भन्यो । 

उनी हाँसे । भन्न थाले, “त्यो भीरमा समाउने सानो बुट्यान पनि थिएन । तर युवा जोश थियो सायद । त्यसैले नै त्यो कदम चालिएको थियो ।” काठमाडौं फर्किएर टोलीले रिपोर्ट दियो । तर त्यो रिपोर्ट कहाँ गयो ? के भयो ? त्यसका बारेमा हामी कसैलाई केही थाहा भएन !

०००

शिरोमणिप्रसाद उपाध्यायको बाल्यकाल सिरहाको भलुवाही गाउँमै बित्यो । उनका अनुसार त्यो बेलाको गाउँ स्वर्ग समान थियो । मधेसी पहाडीको फिलिङ अलिकति पनि थिएन । सबै मिलेर बसेका थिए । उनका अनुसार त्यसबेला मानिसले मानिसको कदर गर्थे । प्रायः सबै खेतीपातीमै व्यस्त रहन्थे । खेतीपातीको व्यस्तताले टिका–टिप्पणी र आलोचनामा खर्च गर्ने समय कसैसँग हुन्थेन ।  

 

प्रकाशित मिति: : 2019-07-25 09:26:16

प्रतिकृया दिनुहोस्