एजेन्सी । इटालियन च्याम्पियन युभेन्ट्सले सिरी 'ए' प्रतिद्वन्दी इन्टर मिलानलाई हराएको छ।
प्रि-सिजन टुर अन्तर्गतको चीनमा बुधबार बेलुका भएको इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराएको हो।
नानजिङ ओलम्पिक स्टेडियममा खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।
टाइब्रेकरमा दुवै टोलीले सुरूवाती पाँच प्रहारमा समान तीन-तीन गोल गरेका थिए।
तीमध्ये युभेन्ट्सले अन्तिम दुई प्रहारमा गोल गर्न सकेको थिएन। छैटौँ प्रहारमा युभेन्ट्सका मेरि देमिरालले गोल गरे भने इन्टरका इग्लेसियास भालेरो असफल भए।
पेनाल्टीमा युभेन्ट्सका जोआ कानसेलो, क्रिस्टियानो रोनाल्डो, एम्री कान र डिमिरलले गोल गरेका थिए।
इन्टरका लागि निकोल बरेल, जर्ज पुस्कास र जोआ मारियोले गोल गरेका थिए।
पेनाल्टीअघि खेलको १० औं मिनेटमा म्याथिज डे लिग्टको आत्मघाती गोलबाट इन्टरले सुरूवाती अग्रता बनाएको थियो। तर, खेलको ६८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले फ्रिकिकबाट गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काएका थिए ।
नयाँ सिजनको सुरुवातअघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली अहिले चीनमा रहेका छन् ।