डाँडै बिसौनी.... गीतबाट चर्चामा आएकी गायिका पूर्णकला बिसीलाई त्यसपछि नेपाली सांगीतिक बजारमा पछाडि फर्केर हेर्नुपरेन।
२०५९ सालमा बसन्त थापासँग मिलेर गाएको दोहोरी गीत ‘डाँडै बिसौनी...’ ले उनकी सांगीतिक करियरमा नयाँ उचाई थपिदियो।
‘साँच्चैनै यो गीत मेरो लागि भविश्यको ढोका खोलिदिने कोशेढुङ्गा साबित भयो,’ उनले बिएल नेपालीसँग कुरा गर्दै भनिन्।
तीजको गीत रेकर्ड गर्न व्यस्त रहेकी यी गायिकाले अघिल्लो वर्षको जस्तो धेरै तीज गीत गाउँदिनन् रे।
‘अरू वर्षको तुलनामा यो वर्ष थोरै मात्र आफ्नो आवाजमा तीज गीत बजारमा ल्याउने छु’, उनले भनिन्, ‘गीतको स्तर खस्किदै गएकाले बरू कम निकाल्ने तर, राम्रो निकाल्ने भएकाले थोरै मात्र बजारमा आउनेछ।’
सुमधुर आवाजकि धनि लोकगाइका पुर्णकला बिसी सानै उमेरमा धेरैको मन जितेकी थिइन्।
हुने विरुवाको चिल्लो पात भनेझै कक्षा तीनमा पढ्दैदेखि स्कूलस्तर, गाविसस्तर तथा जिल्लास्तरका प्रतियोगितामा पहिलो हुने पूर्णकला बर्दियाकी एक मध्यम वर्गिय परिवारमा जन्मिएकी हुन्।
घरकी माइली छोरी पूर्णकलाका १ दिदी ३ बहिनी र एक भाइ छन्।
सानै उमेरदेखिनै गीत संगीतमा औधि रूचि राख्ने उनी कतै मादल बज्यो कि, गीत गाउन कुदिहाल्थिन्। तर, घरमा बुवा आमा कडा स्वभावका भएकाले साँझ घरबाट बाहिर जान बन्देज थियो। उनी पनि घरको आज्ञाकारी छोरी थिइन्। बाबाले भनेको मान्ने गर्थिन्। साँझमा कतै गीत गाउन जादैनथिइन्। यदि जानै परे पनि गाउँको कसैले जिम्मा लिएर जानुपर्थ्यो।
बर्दियाकै नेपाल सम्भु शरण उमावि पढेकी उनले विद्यालयका अतिरिक्त कृयालापमा सधै अब्बल थिइन्।
स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा भाग लिने उनी लोक गीतमा रूची राख्थिन्। यसै क्रममा पूर्णकलाले तीन कक्षा पढ्दै खेरी जिल्लाका विभिन्न स्कुल, र कार्यक्रमहरूमा भाग लिएर पहिलो भएर आउँथिन्।
‘कुनै कुनै सांकृतिक कार्यक्रममा मात्र म दोस्रो भए होला,’ उनले विगत सम्झिइन्,‘नभए मलाई उछिन्ने कोही हुँदैन थियो।’
यहाँ सम्मकी कुनै कुनै कार्यक्रममा उनी सहभागी हुने भनेपछि प्रतिश्पर्धिले हार्ने डरले नामै फिर्ता लिएको धेरै उदाहारण छन् उनीसँग।
चञ्चले स्वभावकी पूर्णकलाका बाबु सामान्य किसान थिए भने उनले गाउँमा पौड शिक्षासमेत पढाउने गर्थे। आमा गृहणी थिइन्।
२०६३ सालमा एसएलसी दिएकी उनले राम्रैसँग परीक्षा पास गरिन्।
पास भइसकेपछि मन एकतमासको भयो। ‘अब के गर्ने काठमाडौं गएर पढौं भने पैसा छैन। गीत संगीत झन छोड्नै सक्दिनँ। ठूली गायिका बन्ने सपना छ। घरमा बुवा आमाले पनि यस्तो अवस्थामा सहयोग गर्ने सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘कोही न कोही दुःख पर्दा भेटिन्छ भने जस्तै मलाई भिनाजु बलबहादुर बिसीले सपनाको सहर काठमाडौं ल्याउनुभयो।’
ठूली गायिका बन्ने धोको बोकेर बर्दिया छोडेर काठमाडौं आएकी पूर्णकलाको असली संघर्ष काठमाडौंमै सुरू भयो।
दुईटा नाउमा खुट्टा राखेर काठमाडौं पुगेकी पूर्णकला जब विरानो सहर काठमाडौं पुगिन् उनको एउटा खुट्टा गायिका बन्ने नाउमा थियो त अर्को खुट्टा शिक्षा हासिल गर्ने नाउमा।
उच्च शिक्षाका लागि ललितकला क्याम्पसमा भर्ना भएकी उनले एक वर्षमै कलेज जान छोडिन्।
जेठी दिदीको बिहे भइसके पछि घरमा बहिनी र भाइको जिम्मा उनैको काँधमा थियो। उनैले बहिनी र भाइको पढाई खर्च ब्यहोर्थिन्।
दोहोरी साँझमा काम गर्ने गरेकी थिइन्। कमाइ त्यति राम्रो हुँदैन थियो। जेन तेन घर खर्च पुग्थ्यो आफ्नो पठाइलाई उनलाई अगाडि बढाइनन् बरू भाइ बहिनीतिर ध्यान दिइन्।
नामी गायिका बन्ने चाहना पूरा गर्ने उनको संघर्षलाई पूर्णविराम लाउने दिनको पर्खाइकै क्रममा उनले दोहोरी साँझमा गाउन थालिन्। दोहोरी साँझमा गाउँदा गाउँदै उनले गाएको ‘विपनीमा अत्यार लाउनाले अवेरसम्म सुतेछु निर्माया, सपनीमा तिमी आउनाले... गीतले केही बजार लियो।
तीन वर्षसम्म दोहोरी साँझमा काम गरेकी उनले आफ्नै साथीहरूबाट पीडित थिइन्।
काम गर्दा धेरै टिप्स आएको बेला साथीहरुले टिप्स नै दिदैन थिए, अनि थोरै टिप्स आएको बेला मात्र टिप्स पाउने गर्थिन्। तर दोहोरी साँझमा पूर्णकलाको आवाज मन पराउनेको लर्को लाग्थ्यो, उनी गीत मात्र राम्रो गाउने होइन मान्छे पनि राम्री थिइन्। ‘महिलाको दुश्मन महिलानै हुँदोरहेछ। राम्रो गीत गाएको देखेर साथीहरू मेरो डाहा गर्थे,’ उनले भनिन्, ‘कतिपय अवस्थामा मैले गीत गाउँदैगर्दा समाइरहेको माइकसमेत साथीहरूले खोसेका छन्।’
तर उनले हार खाइनन्। आफ्नो लक्ष्यमा अगाडि बढिरहिन्। दोहोरी साँझमा आउने पाहुनाको दुर्व्यवहार उनले कहिलै सहनुपरेन।
‘दोहोरी साँझमा काम गर्दा कहिलेकाही बिरक्त लागेर आउँथ्यो। घर फर्किन मन लाग्थ्यो पैसा नभएकैले एल्बम निकाल्न नपाउँदा साह्रै मन खिन्न हुन्थ्यो,’ उनले भनिन्।
बिडम्वना गायिका बन्ने ढोका खोल्ने उनको पहिलो प्रयास असफल भयो। घोडा चढ्ने लड्छ भनेजस्तै पहिलो असफलतालाई उनले सफलताको चूरो बनाइन् र आफ्नो गायीका बन्ने आशाको त्यान्द्रो जिवितै राखिन्।
‘जीवनमै पहिलोपटक रेकर्ड गरेको गीत प्राविधिक कारणवस बजारमा नआउनुले मलाई ठूलो निरासा पैदा गरायो,’ उनले भनिन्,‘तै पनि मेरो गायिका बन्ने संघर्ष जारी नै रह्यो।’ जीवनको करिअर सुरु गर्दाको पहिलो गीत नै बजारमा आउन नसक्दा उनलाई कता कता अब गाउँतिरै फर्किहाल्ने कि भन्ने सम्म पनि नभएको होइन।
त्यसपछि उनले संगीतकार बसन्त सापकोटालाई भेटिन्। सापकोटाले उनको आवाज मन पराए नभन्दै उनलाई गाउने अवसर दिए। त्यसै क्रममा स्वर भरेको डाँडै विसौनी, सबै कुरा राम्रो छ, मेरो राजाको एउटै ढाँट्ने बानीले पार्छ रिसाउनी.... गीतसँगै उनको संघर्षले पूर्ण विरामको लक्षण देखायो।
२०६९ सालमा सार्वजनिक भएको यो गीतले सोचेभन्दा राम्रो बजार पायो। त्यसपछि पूर्णकलालाई दर्शक-स्रोताले मन पराए। ‘यो गीत बजारमा आउँदा म जाजरकोटको एउटा कार्यक्रममा थिएँ। त्यहाँ फोन लाग्दैन थियो। फर्किएपछि बसन्त सरले फोनमा भन्नुभयो- बहिनी बधाई छ गीतले तहल्का पिटिरहेको छ, स्टुडियोमा तिमीलाई गीत गाउन दिने साथीको लर्को छ, उहाँले यसो भनिरहँदा मेरो खुसीको सीमै थिएन,’ उनले भनिन्, त्यो गीतको सफलता पछि मैले पछाडि फर्केर हेर्नु परेको छैन। मैले अगाडि बढ्ने अरू अवसर पाएँ, जिन्दगीनै नयाँ सुरूवाद भएजस्तै भयो।’
मेहनतको फल मीठो हुन्छ । जव उनी मेहनतको पनि सहपाठी भइन् संघर्षका दिनले डाँडो काट्दै थिए । उनी फेरि फरक खालको संघर्षको आलिङ्गनमा बाँधिनु पर्यो । श्रोताको चाहना बमोजिमका गीत गाउने तथा भावानुसारको स्वर बनाउने संघर्षसँगै लडिबुडी खेल्ने भएकी छिन्। ‘म जस्तो मान्छे यहाँसम्म आउनु कम चुनौतिको कुरा होइन लामो श्वास फेर्दै पूर्णकला विगत सम्झन्छिन्–सानै उमेरदेखि गाउन हौस्याउने नै मेरा गुरु हुन्, उनीहरुकै प्रेरणाले म यो अवस्थामा आइपुगेकी हुँ, यसमा मेरो संघर्षले पनि अहम् भूमिका निभायो।’
काठमाडौंको कपुरधारामा श्रीमान र ५ वर्षिय छोरीसँगै बस्दै आएकी उनले कान्छी बहिनी र भाइलाई पनि यतै ल्याएर पढाउँदैछिन्।
नेपालमा अझै पनि जातीयताको भेदभाव रहिरहेको बेला उनले अन्तर्जातीय बिहे गरिन्।
बैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका धन परियारसँग उनको फेसबुकमा भेट भएर पछि बिहे गरेकी हुन्।
उनी भन्छिन्, ‘संसारमा केवल दुई जाति छन्, एक पुरूष र अर्को नारी।’
‘तर खै किन मानिसले जातीयताको विभेद गर्छ, जुन मान्छेमा मानवता छैन जसको बानी व्यहोरा तुच्छ हुन्छ त्यही व्यक्ति दलित हो, हामी त मान्छे हौ,’ उनले आक्रोश पोखिन्।
लोक, आधुनिक, तीज गीत तथा देउडासमेत गरी पाँचहजार भन्दा बढि गीतमा आवाज दिइसकेकी उनले दुई वटा व्यक्तिगत एल्बमसमेत निकालिसकेकी छन्।
राष्ट्रिय तथा स्थानीय क्षेत्रबाट विभिन्न पुरस्कार तथा अवार्डहरू पाइसकेकी छन्।
‘जिन्दगीका २९ औं वसन्त टेक्नै लाग्दासम्म पाँच हजार गीतमा स्वर भर्ने अवसर विना संघर्ष कसरी सम्भव हुन सक्छ त? पूर्णकलाले प्रति प्रश्न गरिन्, ‘संघर्षले धेरै सिकायो, सिकाउँदैछ पनि। संघर्ष गर्नेहरुको निम्ति सफलता टाढा छैन।’