भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म रेलमार्ग बन्न थालेपछि महोत्तरी लोहारपट्टी–५ डठौराटोलका बासिन्दाले रेल चढ्ने सपना देख्न थालेका थिए । तर, बाढीबाट विस्थापित भएपछि उनीहरू निर्माणाधीन रेलमार्गमै बस्ती बसाउन बाध्य छन् । सिंगो बस्ती नै रातो खोलामा आएको बाढीले बगाएपछि डठौराटोलका दुई सय ९६ परिवारले अहिले रेल्वे लिकमै शरण लिएका छन् । तीमध्ये एक सय ६२ परिवार मुसहर छन् ।
दुई वर्षअघि पनि बाढीले डठौराको बस्ती सखाप बनाएको थियो । त्यतिवेला राहतस्वरूप पाएको पाल अहिले पनि काम लागेको छ । निर्माणाधीन रेल्वेमा त्यही पाल टाँगेर डठौरावासी कष्टपूर्वक बसेका छन् । हरेक दिनको झरीले उनीहरूलाई भिजाउँछ । खाना बनाउनसमेत मुस्किल हुने गरेको मुसहर बस्तीकी शनिचरी देवीले बताइन् । ‘कुन वेला विषालु सर्पले टोक्ने हो भनेर डर लाग्छ,’ उनी भन्छिन्, ‘तर, जाने ठाउँ छैन ।’
छैन अत्यावश्यक सुविधा
रेलको लिकमा बसेका बाढीपीडित शौचालय, खानेपानी, स्वास्थ्योपचारलगायत अति आवश्यक सुविधाको अभावमा छन् । दुई वर्षअघि बस्तीमा नेपाल रेडक्रस सोसाइटीले चर्पी बनाइदिएको थियो । तर, अहिले डुबानमा रहेकाले उनीहरूले चर्पी प्रयोग गर्न पाएका छैनन् । खुलास्थानमै दिसापिसाब र फोहोर फालिने गरिएकाले हैजा फैलिने जोखिम पनि छ । बालबालिका बाढीको पानीमा नुहाउँछन् । आफूहरूको स्वास्थ्य अवस्थाबारे कसैले चासो नलिएको उनीहरूको दुःखेसो छ । पीडितले एउटा स्वास्थ्य क्याम्प, शुद्ध खानेपानी र बिजुलीको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
उता, बलवा नगरपालिका–१० लेउरीका बासिन्दाले पनि यस्तै पीडा खेपिरहेका छन् । लेउरीसम्म पुग्ने बाटोसमेत बगेको छ । वडाध्यक्ष एकपटक राहतस्वरूप चिउरा बाँड्न आएदेखि फेरि फर्केर नआएको गुनासो उनीहरूले गरे । स्थानीय अंकित अनवरले जनप्रतिनिधिप्रति गुनासो गर्दै भने, ‘बस्तीको दुवैतिर नदी बगिरहेको छ । तर, सरकारले कुनै चासो दिएन । भोक मेट्नसमेत केही छैन ।’
बस्ती सार्न माग
डठौराका बासिन्दाले सिंगो बस्ती नै स्थानान्तरण गरिदिन आग्रह गरेका छन् । बाढीले बारम्बार दुःख दिने उनीहरूको भनाइ छ । सरकारले बाढी रोक्न हरेक वर्ष तटबन्द बनाउने गर्छ । जसमा करोडौँ खर्च हुन्छ । तर, त्यसले बाढी रोक्दैन । त्यसैले बारम्बार बाढीको क्षति सहनुभन्दा बस्ती सार्नुपर्ने निष्कर्षमा स्थानीय पुगेका छन् । ‘सरकारले नजिकै कतै सुरक्षित स्थानमा हामीलाई सारिदेओस्,’ स्थानीय रामदयाल सदाले भने ।