द्वन्द्व सकिएको लामो समय बितिसक्दा पनि घाइते अपाङ्गहरुले परिपुरणमा राज्य मौन भएपछि चित्त दुखाउन थालेका छन्। केन्द्र, प्रदेश र स्थानीय सरकारले उपेक्षा गर्दा उनिहरुको घाउ दुखिरहन्छ। २०६० साल चैत ८ गते म्याग्दीको ‘बेनी आक्रमणमा’ खुट्टामा बम लागेपछि पञ्चबहादुर बिक ‘जापान’को खुट्टा काटियो। परिबर्तन गाउँपालिका २ राङसी रामखुमका ४५ वर्षीय पञ्चबहादुरलाई माओवादीले ५ दिनसम्म डोकोमा बोकेर म्याग्दीबाट रुकुम ल्याई पुर्याएका थिए। बेहोस अवस्थामा रहेका उनको खुट्टा छिया छिया थियो। अस्पताल लैजाने सम्भावना नरहेपछि मृत्यु हुने निश्चित थियो।
अलि अलि औषधि, बेहोस बनाउने सुई, हड्डी काट्ने औजार थियो। तर स्वास्थ्यकर्मी कोही थिएनन्। अरुको उपचार गरेको पटक पटक देखेका अर्का माओवादी ऋषिराम रोकाले जे पर्छ पर्छ भनेर घुडामुनिबाट खुट्टा काटेर फाली दिएछन्। ‘ए ऋषि खै मेरो खुट्टा? पख मुद्दा हाल्छु’, कहिलेकाहीँ पञ्चबहादुरले ठट्टा गर्छन। ‘हे हे हे। काटेर वाल्टीनमा हाले। भिरमुनि फाले’, ऋषि पनि रेडिमेट जवाफ दिन्छन्।
त्यो बेला लामो समय घर नगएका कारण परिवारले मर्यो कि भन्ने ठानेका रहेछन्। बैसाखी टेकेर एउटा खुट्टमा घर पुग्दा त घरभरी रुवाबासी भयो। श्रीमती बेहोस। छोराछोरी आँखाभरी आँसु ल्याएर हेरेको हेर्यै। ‘सपना जस्तो लाग्छ त्यो क्षण सम्झिँदा। अब त विर्सिन थाले’, उनी भन्छन्।
दुर्गम गाउँ राङसीका पञ्चबहादुर दुई छोरा, एक छोरीका पिता हुन। उनी २०४८ सालदेखि जनमोर्चाका कार्यकर्ता थिए। २०५२ को सुरुबाटै माओवादी युद्धमा होमिएका उनले २०५० मै सार्वजनिक मुद्दा खेपेको बताउँछन्। उनी अहिले एउटा खुट्टा बिनाको कृषक हुन्। जेठो छोरालाई बैदेशिक रोजगारीमा पठाएको ऋण फाल्नै बाँकी छ। कान्छो छोरा पढ्दै छन् भने छोरीको बिबाह भइसक्यो। शरीरमा एउटा खुट्टा छैन। सरकारले दिएको जीवन निर्वाह भत्ताको नाममा मासिक ६ हजार पाउँछन्। त्यो पनि बीचमा ३ बर्ष पाएनन्।
‘ए सर! ६ हजार ले के पो हुन्छ र?’ पञ्चबहादुर दुखेसो पोख्छन्, ‘तै पनि सधै पाए त हुन्थ्यो कहिले दिन्छन कहिले दिदैनन्।’ संविधान बनेर जनप्रतिनिधि आएकोमा सन्तोष भए पनि आफ्नो पीडा आफैंभित्र गुम्साएका छन्। ‘स्थानीय सरकारले अलि हेरिदिए हुन्थ्यो। खर्च पानी पु-याउन धौ धौ छ।’ गाइभैँसी पालेका पञ्चबहादुर स्थानीय सरकारले कुनै आर्थिक सहयोग नगरेकोमा कुढिएका छन्।
कृत्रिम खुट्टा जोडेका उनी विस्तारै हिड्छन्। म्याग्दीको बेनीबाट बोकाएर रुकुमको मैकोट पुगेपछि अलि अलि होस पाएका पञ्चबहादुरलाई घाउ ड्रेसिङ गर्दैछन होलाजस्तो लागेको थियो। ‘होसमा आउँदा त खुट्टै थिएन’, जीवनकै सबैभन्दा ठूलो पीडा त्यहीँ थियो। ‘टेक्ने खुट्टा गएपछि त के भो के?’ युद्धमा खुट्टा गयो। खुट्टासंगै जीबनको यात्रा नै फेरियो। गत चुनाबमा सकेजति नेतालाई सहयोग गरेका पञ्चबहादुर पछिल्लो समयको बेवास्ताले दिक्क बनेका छन्।