एजेन्सी । टोटेनहम हट्सपरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टसलाई हराएको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा आइतबार भएको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत खेलमा इंग्लिस क्लब टोटनह्याम ३-२ ले विजयी भएको हो।
टोटेनहमलाई जिताउन दिलाउन एरिक लामेला, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे। युभेन्ट्सका गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए।
निकै रोमान्चक खेलको ३१ औं मिनेटमा एरिक लामेलाको गोलबाट टोटेनहमले सुरूवाती अग्रता बनाएको थियो।
खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो। तर, ५६ औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए।
त्यसको चार मिनेटपछि रोनाल्डोले गोल गर्दैयुभेन्ट्सलाई २-१ को अग्रता दिलाए।
उक्त अग्रता लामो समय भने टिकेन । वैकल्पिक खेलाडी टान्गुइ एनडोम्बेलेले दिएको पासलाई लुकास मौराले पोस्टको दिशा दिंदै खेल बराबरीमा ल्याए।
खेल बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा टोलीका कप्तान केनले उत्कृष्ट गोल गरे। इन्जुरी समयमा उनले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक वोजचिएक सेचेज्नीको टाउको माथि हुँदै गोलमा परिणत भएको थियो। यो गोल सँगै टोटेनहम ३-२ को जित निकाल्न सफल भयो।