सभामुख महराको निर्णय क्षमतामा नै ह्रास आयोः
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन् । ‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भरपर्छ। प्रतिनिधिसभाको नियमावाली छ। यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ। सभामुखको भूमिका ढंगले चलेको छैन। त्यही भएर बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ। त्यही भएर बैठक चलिरहेको छ।’
सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले भने, ‘अहिले जनताका दैनिक जनजीवनसँग जोडिएका विषयहरु छन्, संसद भनेको साझा थलो हो। छलफल हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका थियौं। तर, सरकार जनताप्रति उत्तरदायी देखिएन।’
उनले सभामुख महराको निर्णय क्षमतामा नै ह्रास आएको टिप्पणी गरे।
सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए। उनले भने,‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ । जनअपेक्षाअनुसार काम गर्न सकेको छैन।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणि खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ।
उनले भने,‘नेपाल डब्लुटिओको सदस्य सन् २००४ मा भएको हो। त्यतिबेला नेपालमा खाद्य प्रविधि तथा अध्ययन अनुशन्धान कार्यालय खोलिएका हुन् । अहिले त देशमा १२ वटा निकाय छन् । तर, उहाँले कार्यालय र निकाय छैन भन्नुभयो ।’ उनले नेपालले भिजिट नेपाल–२०२० मनाउन गैरहेको सन्दर्भमा यसरी तरकारीमा विषादी खुवाउने हो भने कसरी पर्यटकहरु नेपाल आउँछन्? भन्दै प्रश्न गरे।
त्यतिमात्रै नभएर यही असार २५ गतेको मन्त्रिपरिषद बैठकले विदेशमा ल्याउने सामानको म्याद गुज्रने मितिलाई ८० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेको पनि उनले सुनाए। उनले भने,‘डब्लु.टि.ओ.अनुसार विदेशी सामान आयात गर्दा ८० प्रतिशत म्याद गुज्रने मिति हुनुपर्ने थियो, अब त सरकारले त्यसलाई पनि घटाएर ४० प्रतिशतमा झारेको छ । सामान उपभोक्ताको हातमा पुग्दा त म्याद नै गुज्रन्छ।’
उनले सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि बताए । नेता विश्वकर्माले सरकारले वितण्डा मच्चाईरहेको पनि आरोप लगाए। उनले भने,‘आफूले गरेका गलत काम र वितण्डाको बारेमा जनताले थाहा पाउँछन् र नांगेझार भईन्छ भन्ने डरले सदन स्थगित गरिएको हो ।’
उनले पार्टीको संशोधित नियामावली सर्वसम्मतीले पारित हुने दाबी गरे। उनले भने,‘कृष्ण सिटौलाजी उपस्थिति भएको बैठकले नै विधान पारित भएको हो।’ उनले पार्टीको आचरण र अनुशासनभित्र के पर्ने? के नपर्ने? भन्नेबारे विवाद भएको भन्ने चर्चामाथि टिप्पणी गर्दै भने,‘पद प्राप्त गर्ने रणनीतिअनुसार कुराहरु आएका हुन। पार्टी अनुशासनअनुसार चल्नुपर्छ।’ कांग्रेसका भातृसंगठन र शुभेच्छुक संघ–संस्थाहरुले अनुशासन मान्न नहुने भनेर केही साथीहरुले वकालत गरेको सुनाउँदै त्यसलाई उनले हाँस्यस्पदको संज्ञा दिए ।
विश्वकर्माले पार्टीको लेबी र शुल्क लिने विषयमा पनि केही साथीहरुले धेरै भयो भनेर तर्क गरेकोमा नियतमाथिको प्रश्न भएको धारणा राखे । उनले भने,‘कांग्रेस पदाधिकारीले मासिक ६ सय तिर्नुपर्ने कुरा के बढि हुन्छ ? यो त नियतमा प्रश्न हो । यो त पार्टीभित्रको प्रतिपक्षी नियत हो।’