म भारतको कलकत्ता विश्वविद्यालयको सेन्ट पल्स कलेजबाट स्नातक तह सकेर सन् १९५६ मा काठमाडौँ फर्किंदा युवाहरूका लागि सम्भावनाका धेरै ढोका खुलिसकेका थिए। कोलम्बो प्लान अन्तर्गत भारत, अमेरिका र बेलायत जानका लागि योग्यता पुगेका व्यक्तिले दरखास्त हाले पुग्थ्यो। गुरु डा. यादवप्रसाद पन्तले पढाएका आधारमा अर्थशास्त्रमा अलिकति चाख लाग्न थालेको थियो। अमेरिकाका लागि दरखास्त हालेँ र नाम निस्कियो। टाढा भए पनि अमेरिका नौलो ठाउँ थियो, आकर्षण थियो।
मैले कोलम्बो प्लान अन्तर्गत छात्रवृत्तिमा अमेरिकाको क्लोरमन्ट विश्वविद्यालयमा पढ्दै गर्दा राजा महेन्द्रबाट अमेरिकाको राजकीय भ्रमण (स्टेट भिजिट) भयो। त्यस क्रममा म पढिरहेको ठाउँ लस एन्जेलसमा राजा आउँदा त्यहाँका मेयरले दिएको भोजमा त्यस क्षेत्रमा भएका सबै नेपालीलाई बोलाउन भनिएछ। खोज्दाखोज्दा क्यालिफोर्नियामा जम्मा तीन जना नेपाली भेटिएछौँ– गेहेन्द्रमान, शङ्कर पौडेल र म।
अमेरिकाको पढाइको तरिका एसियाभन्दा फरक छ। शिक्षकले पढाउनेभन्दा विद्यार्थी आफैँले पढ्नुपर्छ। पढाइ राम्रो भएन र छात्रवृत्ति पाइएन भने त्यहाँ बस्नुको अर्थै नहुने र भविष्य अन्धकार हुने भएकाले मैले निकै मिहिनेत गरेको थिएँ। त्यही कारण पीएचडीको कक्षामा सबभन्दा राम्र्रो नतिजा मेरो थियो।