गाउँ फर्कंदा बाँच्ने आस छैन

भीमफेदी : शिला थिङ १४ दिनकी सुत्केरी छिन्। राम्ररी हिँडडुल गर्नै सक्दिनन्। उनका श्रीमान् इमानसिंह साँझपख सुत्केरी श्रीमतीका लागि खाना पकाउँदै थिए। घरमाथिबाट पहिरो, मुनिबाट भेलबाढीको तीव्र कटानले जोखिम बढाइरहेको थियो। घरभित्रै भेल छिर्न थालेपछि पाक्दै गरेको खाना छाडेर उनी श्रीमती, १४ दिने छोरा र साढे दुई वर्षका अर्का छोरा च्यापेर घरबाट निस्किए।

घरछेउको भेल तर्न नसकेपछि मध्यरात एस्काभेटरमार्फत उनीहरूको उद्धार गरियो। भीमफेदी बजारस्थित हात्तीसारको सामुदायिक भवनमा परिवारलाई सुरक्षित तवरले राखेपछि मात्र उनले ढुक्कको श्वास लिन सके।

असार २६ को साँझ सम्झिँदा २० वर्षीया शिला विचलित हुन्छिन्। न खानेकुराको ठेगान छ न त व्यवस्थित बसोबास। सेनाले बनाइदिएको जस्ताको टहरामा अस्वस्थ शरीर लिएर आ श्रय लिइरहेकी छन्। उनको नवजात शिशु पनि बिरामी छ।

‘चिसो सिमेन्टमा बस्नुपरेको छ। घरबाट एकसरो कपडाबाहेक केही झिक्न पाइनँ’, उनले दुखेसो पोखिन्, ‘आलु र भात खाएर बसेको ६ दिन भइसक्यो। सुत्केरी ज्यान, म पनि बिरामी छु। बच्चालाई झाडापखाला र ज्वरोले छाडेको छैन।’ इमान् ६ दिनपछि बुधबार घर फर्किए। घरपारिको डाँडामा टेन्ट गाड्दै गरेका उनले भने, ‘सधैं घर छाडेर कहाँ बस्नु ? मरे पनि बाँचे पनि अब गाउँमै बस्छु।’

दुईवर्षे छोरा च्यापेर घर छाडेकी सावित्री घलान र उनको बच्चा पनि बिरामी छ। ‘झुलको व्यवस्था छैन, चिसो भुइँ, धमिलो पानीले बिरामी भयौं’, उनले भनिन्, ‘अन्त जाने ठाउँ छैन, घर फर्कौं भने कति खेर फेरि पहिरो र बाढी आउने हो थाहा छैन।’

माथिल्लो दमारकै सानुमाया घलान बुधबार हस्याङफस्याङ गर्दै घर फर्किंदै थिइन्। गाउँमा उनको घरगोठ त ठडिएकै थियो तर गाईबाख्रा सकुशल थिएनन्। ‘मध्यरातमा गोठमा भएको घाँसपात हालेर गाईवस्तु छाडेर हिँडेको यत्रो दिनसम्म के खाएर बाँचोस्’, उनले भनिन्, ‘तीनवटा बाख्रा मरिसकेछन्।’ मायाको परिवारका १० सदस्य भने भीमफेदी र हेटौंडामा आफन्तको आ श्रय लिएका छन्।

 

गाउँ माथिको डाँडामा स्थानीयको विरोधका बीच सडक खनिएको थियो। ‘सडक खन्दा फालिएको माटो आएर गाउँलाई पुरेको हो’, स्थानीय विमला स्याङ्तानले भनिन्, ‘गाउँको पारिपट्टि खानीले उत्खनन् गर्दा पनि पहिरो आयो।’

बाबा माइन्स एन्ड सिनरल्स प्रालिले यहाँबाट चुनढुंगा उत्खनन् गर्दै आएको छ। सडक विभागले हेटौंडा-कुलेखानी-काठमाडौं सडकको वैकल्पिक मार्गका रूपमा भीमफेदीबाट सिस्नेरीसम्म सडक निर्माण गरिरहेको छ। ‘सडक निर्माण गर्दा गाउँपट्टि ड्याम नहालेर खानीतर्फ हालियो त्यही भएर गाउँमा खोला छिर्‍यो’, उनले भनिन्।

एकसरो कपडा च्यापेर थातथलो छाडेका वृद्धवृद्धालाई गाउँघरकै चिन्ता छ। ‘भर्खर साउन लाग्दै छ, गाउँमा फर्केर पनि अब यस्तै पानी पर्‍यो भने कसरी ज्यान बचाउनु ? ’, ६६ वर्षीय राममाया स्याङ्तानले भनिन्, ‘अब हामीलाई कतै सारिदिए हुन्थ्यो।’

 सामुदायिक भवन र आफन्तकोमा बसिरहेका उनीहरूले झेलेको यो पीडा तेस्रो पटक हो। ‘२०५० र ५९ सालमा पनि घर छाडेर बाँचेकोे’, स्थानीय ७० वर्षीय बुद्धिमाया स्याङ्तानले भनिन्, ‘बर्खा लाग्यो कि आधा मन लिएर बाच्नुपर्छ। गाउँ फर्किंदा बाँच्ने आस छैन। बरु सरकारले अन्तै सारिदिए हुन्थ्यो।’

प्रकाशित मिति: : 2019-07-19 09:24:32

प्रतिकृया दिनुहोस्