हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गरेर विपिन कार्कीले आफूलाई नेपाली फिल्मको ‘उम्दा’ अभिनेता प्रमाणित गरिसकेका छन्। हालसालै चलचित्र विकास बोर्डले राष्ट्रपति भवनमा वितरण गरेको तीन वर्षको नेसनल फिल्म अवार्डमा उनले दुई वर्षको उत्कृष्ट अभिनेताको अवार्ड हात पारे। ०७३ मा ‘जात्रा’र ०७५ मा ‘प्रसाद’बाट अवार्ड उचालेका हुन् उनले। ‘गोपी’ ०७५ को उत्कृष्ट फिल्म घोषित भयो। अवार्डको नतिजाबाट उनी सन्तुष्ट छन् त? नेपालमा आयोजना भइरहेका फिल्म अवार्डलाई उनी कुन नजरले हेरिरहेका छन्? यही सेरोफेरोमा रहेर उनै विपिन कार्कीसँग नेपाल लाइभका सहकर्मी अनिल यादवले गरेको वार्ताः
एकैपल्ट दुई वर्षको नेसनल अवार्ड थाप्दा कस्तो महसुस हुनेरैछ?
छुट्टाछुट्टै थाप्न पा’को भए मज्जा हुन्थ्यो। अहिले त दुई वर्षको अवार्ड जितेपनि मलाई त एकपल्टमात्रै जितेजस्तो महसुस भइरा’छ। सायद एकैपल्ट थापेर होला!
०७५ सालमा तपाईंका तीन फिल्म रिलिज भए- ‘हरि’, ‘प्रसाद’ र ‘गोपी’। तर, उत्कृष्ट अभिनेताको अवार्ड ‘प्रसाद’बाट पाउनुभयो। ‘प्रसाद’मा तपाईंले निर्वाह गरेको बाबुराम परियारको भूमिका नेसनल अवार्डका लागि अरुभन्दा योग्य जस्तो लाग्छ?
‘प्रसाद’मा पनि मैले एक लेभलको काम त गरेजस्तो लाग्छ। तैपनि ‘हरि’ हुँदाहुँदै बाबुरामको भूमिका नेसनल अवार्डको हकदार थियोजस्तो मलाई लाग्दैन। मैले ‘हरि’बाट अपेक्षा गरेको थिएँ। ‘हरि’मा मैले साँच्चै चुनौतिपूर्ण भूमिका निर्वाह गरेका थिएँ।
तर, जब मलाई अवार्डका लागि ‘प्रसाद’बाट विपीन कार्की भनेर स्टेजमा बोलाइयो, एकछिन त म ‘ट्वा’ परेको थिएँ। ला...‘हरि’ त कुनैपनि विधामा परेनछ जस्तो महसुस भयो। त्यसपछि ‘हरि’को टिमसँग भेट्दा पनि मलाई निकै अप्ठेरो महसुस भएको थियो। के गर्छेस् नेपालमा यस्तै छ, अब, जुरीलाई तेरो फिल्म पचेन भनेर बुझ्नु भनेर कन्भिन्स गरेँ।
आफू ‘प्रसाद’बाट योग्य थिइनँ भन्ने लाग्दालाग्दै अवार्डचाँहि थाप्नुभयो है...?
मलाई अवार्ड घोषणा हुनु अघिसम्म कुनै पनि एंगलबाट ‘प्रसाद’बाट अवार्ड पाउँछु भन्ने लागेकै थिएन। कसैको मुखबाट छ्वास्स अलिकति सुनेकोचाहिँ थिएँ, ‘तपाईंले त एकैपल्ट दुईवर्षको अवार्ड पाउँदै हुनुहुन्छ रे।’ मैले ‘केबाट रैछ’भन्दा ‘जात्रा’ र ‘हरि’बाट भन्ने जवाफ आएको थियो। त्यसैले म त पाएँ भने ‘हरि’बाटै पाउँछु भन्नेमा ढुक्क थिएँ। र्दुभाग्य ‘हरि’ त फिल्मजस्तो नै ठानिएनछ।
राष्ट्रपति भवनमा दौरा सुरवाल लगाएर पुगिसकेपछि ‘प्रसाद’को नाम आउनासाथ अब मैले अवार्ड लिनुहुन्न भन्ने सोच त मेरो दिमागमा आउँदैआएन। किनभने त्यहाँ कार्यक्रममा पुगिसकेपछि राष्ट्रपतिको पनि गरिमा राख्नुपथ्र्यो। कि त कार्यक्रममा जानु नै हुँदैनथ्यो तर गएपछि नथाप्नुचाहिँ उचित होला भन्ने लागेन। बरु कुनै समयमा गएर ‘यो ठिक भएन भनौँला तर आज अपमान नगरौँ’ भन्ने भयो।
नेसनल अवार्डको नतिजा ‘लज्जास्पद’ आएपछि अहिले यो विवादमा तानिएको छ। समग्र नतिजाप्रति तपाईंको दृष्टिकोणचाहिँ कस्तो छ नि?
मैले राष्ट्रप्रमुखको हातबाट दिइने यो अवार्डलाई गरिमामय अवार्ड ठानेको थिएँ। त्यसैले दौरा सुरवाल लगाएर झकिझकाउ भएर गएको थिएँ। अवार्ड पाउँदैछु भन्ने त मलाई अगाडि नै थाहा भइसकेको थियो। विकास बोर्डको वार्षिकोत्सव कार्यक्रमका बेला नै जुरीका सदस्यले ‘तपाईंलाई भन्न त नमिल्ने हो तैपनि बधाई छ, हामीले त प्याक गरेका छौं तपाईंलाई’ भनेका थिए। ए, पाउँदैरैछु भन्ने भइसकेको थियो।
त्यस्तो ठूलो कुरा त लागेको थिएन किनभने अवार्ड पहिलोपल्ट पाइरहेको थिइनँ, धेरै अवार्ड पाइसकेको अवस्था थियो। घरभरि अवार्ड भएर अब र्याक नै बनाउनुपर्ने अवस्था भइसकेको छ। नत्र भए, एउटा बोरामा खादेर खाटमुनि राख्नुपर्यो! नेसनल अवार्डचाहिँ राष्ट्रप्रमुखको हातबाट पाइने भनेपछि अलिकति मोह जागेको थियो तर जब नतिजा विवादित भयो, बाहिर यो भएन र त्यो भएन भनेर अनेक टिकाटिप्पणी हुन थाल्यो।
त्यसपछि नेसनल अवार्डप्रतिको सम्मान घटेर गयो। अरुले टिप्पणी गरेजस्तै अनफेयर नै भएको हो कि क्या हो, चलखेल नै भयो कि क्या होजस्तो फिल पनि भयो। मलाई पनि चलखेल नै गरेर दिएको हो कि भनेर सोचिदेलान् भन्ने डर भयो। अवार्ड पाउनुअघि जति गरिमामय होला भन्ने सोचेको थिएँ, पाएपछि त्यस्तो महसुस भएन।
मैले सोध्न खोजेको– अवार्डको समग्र नतिजाबाट तपाईं सन्तुष्ट हुनुभयो?
धेरै अवार्ड थापिसकेपछि मैले महसुस गरेको कुरा के हो भने यो अवार्ड भनेको जुरीले छनोटमा भर पर्ने रहेछ। जुरीका सदस्यहरू कति जान्ने छन्, फिल्मप्रति उनीहरूसँग कत्तिको गहिरो ज्ञान छ, उनीहरूले फिल्मलाई कसरी बुझ्छन् भन्नेमा अवार्डको नतिजा निर्भर हुन्छ। उनीहरू कुनैलाई फिल्म देख्छन्, कुनैलाई फिल्म नै देख्दैनन्। कुनैलाई क्यारेक्टर देख्छन्, कुनैलाई क्यारेक्टर नै देख्दैनन्।
त्यसैले मलाई त के लाग्छ भने, यो अवार्ड भनेको फिल्म र कलाकारकोभन्दा बढी जुरीका सदस्यहरूको ज्ञान र बौद्धिकताको परीक्षा हो। आज जस्तो नतिजा उनीहरूले निकालेका छन्, त्यसले फिल्मप्रतिको उनीहरुको बौद्धिकता र बुझाइ झल्काएको छ। अब हेर्नुस् न, उहाँहरूले ‘हरि’लाई त फिल्म नै देख्नुभएन। खोइ कस्तो फिल्म हो, अँध्यारो–अँध्यारो थियो, बोलिरहेको थियो एउटा मान्छेजस्तो लाग्यो होला।