एनआरएनको सपना मात्र हैन, '२ करोड ७८ लाख'को पसिना पनि बग्यो !

संखमुल पार्क : गैरआवासीय नेपालीको सपना मात्र चकनाचुर भएन, पसिना पनि बगाइदियो बाढीले ।

काठमाडोैंमा आएको भारी वर्षा र त्यसले ल्याएको भेल बाढीले गैरआवासीय नेपाली संघको एउटा महत्वाकांक्षी योजना पनि बगाइदिएको छ ।

वागमती नदी किनारको संखमुलमा बनाइएको संखमुल पार्क बग्दा एनआरएनको सपना मात्र हैन, पसिना पनि बगेको छ । 

संखमुल पार्कका लागि गैरआवासीय नेपाली संघको दुई करोड ५७ लाख ७७ हजार सात सय ४४ रूपैया ६९ पैसा खर्च भैसकेको छ । त्यसमध्ये विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली संघले संस्थागत र व्यक्तिले व्यक्तिगत रूपमा एक करोड ३२ लाख ७७ हजार तीनसय ५० रूपैया ८८ पैसा दिइसकेका छन् । विभिन्न संस्था र व्यक्तिले दिने कबोल गरेको एक करोड ८४ लाख २५ हजार सातसय ३५ रूपैया ९३ पैसामध्ये अझै ५१ लाख ४८ हजार तीनसय ८५ रूपैया पाँच पैसा उठ्नै बाँकि देखिन्छ । 

संखमुल पार्कका लागि एकसय जनाले सहयोग दिने बताए पनि ५५ जनाले मात्र दिएका छन् । ४५ जनाको नाम अझै नदिने सूचीमै रहेको पाइन्छ । 

संखमूल पार्क बाढीले क्षतविक्षत पारेपछि काठमाडौैंमै रहेका गैरआवासीय नेपाली संघका पदाधिकारीले त्यसको स्थलगत भ्रमण गरेका तस्बिरहरू सार्वजनिक भएका छन् । उपाध्यक्ष कुमार पन्तले फेसबुकमा लेखेका छन्- 'निकै दुःख गरी बनाएको, हरेक गैरआवासीय नेपालीको पसिना पोखिएको शंखमूल पार्क बाढीले यस्तो बनाएछ । निःशब्द ।'

 

प्रकाशित मिति: : 2019-07-13 07:37:03

प्रतिकृया दिनुहोस्