राप्रपालाई पुनर्जागृत गर्छौ: कमल  थापा

तस्बिरः बिएल

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई पुनर्जागृत गराएरै छाड्ने दृढता ब्यक्त गरेका छन्।

पार्टीको मोरङ जिल्ला कार्य समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपालाई जनताले विस्तारै आशा र विश्वासको नजरले हेरिरहेको तथा कांग्रेस कम्युनिष्ट असफलताको दिशामा गएको दाबी गरे। ‘म पछिल्लो छोटो अवधिमा मेची- महाकाली दुई पटक गएँ, ५०-५२ जिल्लाको भ्रमण गरेको छु,’ थापाले कार्यकर्तालाई ढाडस दिँदै भने, ‘राप्रपाको भविष्य छ, बिस्तारै उठ्दैछ, उठ्छौ, हामीले एजेन्डा स्थापित गराएरै छाड्छौ।’

कार्यकर्ता कोहि पनि बिचलित हुनु नपर्ने भन्दै थापाले अभाब र संकटमा मान्छेको परीक्षा हुने भएकोले खरो रुपमा उत्रन कार्यकर्तालाई निर्देशन दिए।

आरोप प्रत्यारोप लगाउने वा कुनै निहुँ र बहाना बनाएर कसैलाई निष्कृय हुने छुट नभएको भन्दै थापाले बलियो एजेन्डा, प्रतिबद्ध, निष्ठावान र लगनशील कार्यकर्ताको बलमा राप्रपा अघि बढ्ने दाबी गरे।

राप्रपालाई मुलुकको प्रमुख राजनीतिक शक्ति निर्माण गरेरै छाड्ने आँट आफूमा रहेको भन्दै थापाले काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपा केही समयमा राजनीतिक परिदृष्यमा उदाउने विचार ब्यक्त गरे।

कार्यक्रममा पार्टीका प्रदेश -१ का अध्यक्ष राम थापा, सहायक महामन्त्री केदार कोइराला, दिनेश साह, माधब आचार्य लगायतले बोलेका थिए।

थापा धनकुटा, मोरङ, इलाम र झापाको कार्यक्रममा सहभागी हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-07-12 21:46:29

प्रतिकृया दिनुहोस्