पाटनको भीमसेन मन्दिर निर्माणका लागि व्यवसायी श्रेष्ठद्वारा एक करोड दान

पाटनको भीमसेन मन्दिर पुनर्निर्माणका लागि एक करोड रूपैयाँको चेक हस्तान्तरण गर्दै स्थानीय व्यवसायी बिके श्रेष्ठ

पाटन दरबार परिसरभित्रको भीमसेन मन्दिर पुनर्निर्माणका लागि व्यवसायीबिके श्रेष्ठले एक करोड रूपैयाँ दान दिएका छन्।

एभरेष्ट बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठले आफ्ना पुर्खाले गर्दै आएको योगदानको निरन्तरता स्वरूप आफूले सहयोग गरेको बताए।

श्रेष्ठले उक्त रकमको चेक ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, मन्दिर पुनर्निर्माण समिति तथा उद्योग वाणिज्य संघका सभापति कृष्णलाल महर्जन, मंगलटोल सुधार समितिका अध्यक्ष तथा पुनर्निर्माण समिति उपाध्यक्ष किरणमान महर्जन र काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका प्रमुख रोहित रंजितकारलाइ संयुक्त रूपमा प्रदान गरेका थिए

मल्लकालिन यो मन्दिरलाई २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि हालै स्थानीय स्तरबाट पुनर्निर्माण सुरू गरिएको छ।

स्थानीय बासिन्दाले नै सहयोग जुटाएर मन्दिरको पुनर्निर्माण थालेका हुन्।

'काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट' को प्राविधिक सहयोग रमंगलटोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर महानगरपालिका र पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिरको पुनर्निर्माण थालिएको हो।

सुन लेपनबाहेक ४ करोड ९३ लाखको अनुमानित लागतमा बन्न लागेको मन्दिर पुनर्निर्माणमा ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश ३ सरकारबाट ५० लाख सहयोग हुने घोषणापछि श्रेष्ठले एक करोड दिने घोषणा गरेका हुन्।

पाटन पुर्खौली घर भएका व्यवसायी श्रेष्ठले उनका पिता एवं आफ्नो समयका चिनिएका व्यवसायी गणेशलाल श्रेष्ठको सम्झनामा यो रकम प्रदान गरेका हुन्।

प्रकाशित मिति: : 2019-07-10 23:28:58

प्रतिकृया दिनुहोस्