काठमाडौं । सिंगापुरमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप एशियाली छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई राखेपले विदाई गरेको छ।
प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जादैछ।
नेपालले मलेसियामा दुई ट्वान्टी–२० क्रिकेट खेल्नेछ। नेपालले मलेसियाविरुद्ध असार २८ र २९ गते प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबिच विदाई गरे। विदाइका क्रमका सिलवालले नेपाल क्रिकेट संघ क्यानको विवाद चाडै सुल्झिनेसमेत दाबी गरे।
नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै उनले अब समस्या लिएर मिडियामा जानु नपर्ने र राम्रो कुरा बाहिर लाने बताए। ‘समस्या मलाई भन्ने हो। म समस्या समाधानका लाग तत्पर छु,’ सिलवालले भने, ‘मैले आइसिसीले बनाएको पाँच सदस्सीय समितीलाई छलफलका लागि बेलाएको छु। क्यानको समस्या अब चाडै समाधान हुन्छ।’
सिंगापुर जानुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेल्ने जानकारी गराउँदै कप्तान पारस खड्काले नेपाल सन्तुलित टोली रहेको र बेन्च पनि बलियो भएको बताए। ‘हामी सिंगापुरमा हुने प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर मानेका छैनौं। त्यहाँ प्रदर्शन गर्नेछौं। विश्वकपको यात्रा सहज भने छैन,’ खड्काले भने।
मलेसियाबाटैं नेपाल साउन ४ गते सिंगपुर जानेछ। सिंगापुरमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले साउन ७ गते कतारविरुद्धको खेलबाट प्रतियोगिता शुरुआत गर्नेछ।
साउन ८ गते नेपालले दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। ११ गते कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालले १२ गते अन्तिम खेल आयोजक सिंगापुरविरुद्ध खेल्नेछ।
प्रतियोगिताको विजेताले ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ।
यसैबिच एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेलिरहेका रोहितकुमार पौडेल र पवन सर्राफ मलेसियाबाटै टोलीमा सामेल हुने व्यवस्थापक रमण शिवाकोटीले जानकारी गराए।
नेपाली टोली
पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, अबिनाष बोहरा, रोहितकुमार पौडेल र पवन सर्राफ।