नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको सबै आपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाहनै संलग्न भएको दाबी गरेका छन्।
शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक रहेको कुरा इतिहासमा पनि देखिएको र अहिले पनि देखिएको भन्दै यसरी छाडा हुने छुट दिन नहुने बताए।
उनले सरकारले कडा कदम चाल्ने समय पनि यही नै भएको भन्दै अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
उनले भने, ‘अहिले जे भइरहेको छ यो एकदमै प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो र ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो र अहिले पनि देखिएको छ। त्यसकारण यही समय सरकारले कडा कदम चालोस्। अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिदैन। नेपाली जनता त्यसको लागि तयार छैनन्। यसमा पनि सरकार गम्भीर हुनुपर्छ।’
यस्तै, उनले राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहिन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु गम्भीर विषय भएको भन्दै यसलाई सरकारले समिक्षा गरेर आउने दिनको लागि पुनः तयारी भएर बस्नु पर्ने पनि बताए।
उनले भने, ‘यो पहिलो कुरा सरकार र प्रहरीको राम्रो तयारी देखिएन, आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झण्डै ४०, ४५ मिनेटसम्म सुरक्षाकर्मीहरू नदेखिनु बडो बिडम्बना नै भन्नुपर्छ। यो खालको घटना होला भन्ने अपेक्षा नगरेको कुरा सुरक्षा क्षेत्रबाट आएको छ तर राजधानीको मुटुमा यस्तो तोडफोड, विवेकहीन, अपराधिक घटना हुँदा सुरक्षाकर्मी समयमा आउन नसक्नु यसलाई गम्भीर समिक्षा सरकारले गरोस र आउने दिनको लागि पुनः तयारीमा जाओस।’