साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ। भारत आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा निधन भएको हो।
‘बसाइँ’ नेपाली साहित्यमा सबैभन्दा चर्चित उपन्यास हो। यही उपन्यासबाट लीलबहादुर क्षेत्री नेपाली साहित्यकाशमा चम्किन पुगे। नेपाली पाठ्यक्रमहरूमा समेत समावेश गरिएको यो उपन्यास कुनै बेला सबैभन्दा धेरै बिक्री हुने किताब भएको थियो। अँग्रेजी भाषामा समेत अनुदित यो उपन्यासमाथि चलचित्र समेत बनेको छ।
‘अतृप्त’ र ‘बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह, उपन्यासका साथै कथा, र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो।