तोसिमाको पक्षमा सर्वोच्चको फैसला, जोगियो सांसद पद

Break n Links
Break n Links

सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको मुद्दामा अन्तिम सुनुवाइ गर्दै उनी सांसदको उम्मेद्वार बन्न योग्य रहेको ठहर गरेको छ।

मंगलबार न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले तोसिमाको पक्षमा रिट जारी गरेको हो।

तोसिमाले २ वर्षअघि उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको फैसलासँगै तोसिमाको सांसद पदमाथिको वैद्यताको प्रश्नको अन्त्य भएको छ। उनको सांसद पद जोगिएको छ।

सांसद कार्कीले लाभको पदमै हुँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा ललितपुर-३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेको थियो।

कार्की त्यतिबेला नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि कार्की निर्वाचन जितेर प्रतिनिधि सभा सांसद बनेकी थिइन्। सोही मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ सकेर आदेश सुनाएको हो।

प्रकाशित मिति: : 2025-03-11 15:50:00

प्रतिकृया दिनुहोस्