पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन्। उनी समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौं उडेका हुन्।
पूर्वराजालाई पोखरामा पञ्चेबाजासहित विदाइ गरिएको छ। उनको समर्थनमा राजा आउ देश बचाउको नारा लगाइएको थियो। उनलाई दुबोको मालासहित दही खुवाएर विदाई गरिएको छ।
गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्।
विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्याउँने कार्यक्रम तय छ।
राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए।