जिल्ला प्रहरी कार्यालय बाराले एक महिने कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले बारा गत माघ १८ गतेदेखि फागुन २० गतेसम्मको (३० दिने) कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको हो।
विवरण अनुसार जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधिमा ५२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फरार प्रतिवादीबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवानासमेत असुल भएको छ।
त्यस्तै एक महिनाको अवधिमा ३ करोड ५८ लाख ४० हजार रुपैयाँ भन्सार/राजश्व संकलन गरेको छ।
लागु औषध मुद्धामा २ महिलासहित २४ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट ३ सय २० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम र १७०.४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
सोही अवधिमा स्रोत नखुलेको हुण्डी रकम तीन लाख २ हजार ५६५ रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।
एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय बारामा परेको १४० उजुरीमध्ये ८६ वटा उजुरी फर्छ्यौट भएका छन्।
महिला तथा बालबालिका एवं जेष्ठ नागरिक सेवा केन्द्रमा महिला हराएको १३ वटा उजुरी परेकामा ४ जना फेला परेका छन्। त्यस्तै १८ जना बालबालिका हराएको उजुरी परेकोमा ७ जना फेला परेका छन्।
प्रहरीले एक महिनाको अवधिमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि गरेको छ। त्यस्तै अनुचित लेनदेनमा ३ वटा उजुरी परेकामा २ वटा फर्छ्यौट भएको छ।
त्यस्तै ट्राफिक व्यवस्थापन अन्तर्गत माघ र फागुनमा ३६ सय जना कारबाहीमा पर्दा ३० लाख बढी राजश्व संकलन भएको कार्यालयका प्रवक्ता डीएसपी बिजयराज पण्डितले बताए।
त्यस्तै एक महिनाको अवधिमा प्रहरीले ९ बिघा क्षेत्रफलमा १ लाख ८१ हजार बोट गाजा नष्ट गर्दा २० हजार बोट अफिम पनि फाँडेको छ।
त्यस्तै १२ भट्टीबाट ३ हजार २५५ लिटर तयारी मदिरा र ८ हजार ३ सय लिटर कच्चा मदिरा नष्ट गरेको छ।
त्यस्तै भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेका १२ सय किलो बोइलर कुखुरा र २ सय कुखुराको चल्ला नष्ट गरेको छ। सोही अवधिमा करिब ९० हजार रुपैयाँको काठ बरामद गरेको छ।