सशस्त्र प्रहरीले फागुन २० गते करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित पेट्रोल पम्प नजिकैबाट चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षिय, निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षिय, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षिय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षिय गरी ४ पुरुष छन्।
एपीएफ इन्टेलीजेन्स व्यूरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरूले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
साथै उनीहरूले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाईकल र बा१५च १७७३ नम्बरको होण्डाको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
थाई एयरवेजको उडान नम्बर टीजी३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीया महिलाले लगेजभित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ किलो गाँजासहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुनः जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिईएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ।