रिंकु सदाका लागि न्याय माग्दै लहाना प्रदर्शन, घरमै पुगेर प्रचण्डको प्रतिवद्धता

नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन्। 

मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार बिहान प्रदर्शन भएको हो। हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको सडकमा सिंहनाद गरे। 

उनीहरुले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए।

मुसहर समुदायका अगुवा अरुण सदाले दलित, गरिब र कमजोर वर्गप्रति न्याय गर्न र उनीहरुको सुरक्षा प्रवन्ध गर्न सरकारसँग माग गरे। सदाले रिंकुलाई न्याय दिन ढिलाइ गरिए सिरहाको सडकमा आगो बल्ने दावी गरे। 

प्रचण्डकाे प्रतिवद्धता

त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल सदाको घरमा पुगेका थिए। 

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन्। जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका अध्यक्षसहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

यस्तै, उनले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए। 

उनले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरिएको बताए। 

रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पनि उनले तराई मधेसका विभेद, अपमान र अत्याचारका विरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। 

रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो।  माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्।
 

प्रकाशित मिति: : 2025-03-01 11:14:00

प्रतिकृया दिनुहोस्