नेकपा एसमा पार्टी निर्णयविरुद्ध बोल्न र फरक मत राख्न प्रतिबन्ध!

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी निर्णयबाहिर गएर बोल्न र फरक मत राख्न प्रतिबन्ध लगाउने तयारी गरेको छ।

पार्टी केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेता-कार्यकर्ताले पालना गर्नुपर्ने १३ बुँदे आचारसंहिता प्रस्ताव गरेका छन्। उक्त प्रस्तावमा नेता कार्यकर्तामाथि लगाम लगाउने उल्लेख छ।

‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ । तर, पार्टीका निर्णयविरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन,’ अध्यक्ष नेपालले प्रस्ताव गरेको आचारसंहितामा उल्लेख छ।

मार्क्सवाद–लेनिनवादलाई पार्टीले मार्गदर्शक सिद्धान्त मान्ने भएकाले सबै किसिमका विभेद र शोषणको विरुद्ध आवाज उठाउनु पार्टीका नेता–कार्यकर्ताको मूल्य–मान्यता हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै श्रमको सम्मान गर्ने, श्रमशोषण नगर्ने, आफैं पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय, अत्याचारको विरोध गर्ने, सबै किसिमको विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अर्थात् आमूल परिवर्तनका लागि निरन्तर लागिपर्ने आचारसंहितामा उल्लेख गरिएको छ।

त्यस्तै, नेता–कार्यकर्ताले विवाहेत्तर सम्बन्ध राख्न नहुने, खानपान, रहनसहन, बसउठ सरल र सामान्य हुनपर्ने प्रस्तावित आचारसंहितामा उल्लेख छ।

आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौं। परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्धबाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ। कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नुहुँदैन ।’ 

त्यस्तै, सादा जीवन, उच्च विचारलाई सूत्र मान्नुपर्ने, बोल्दा अश्लील र अपशब्दको प्रयोग नगर्ने एवं विभेद हुने गरी अभिव्यक्ति दिन नहुने, आर्थिक जीवन र व्यवहार पारदर्शी हुनुपर्ने विषय पनि समेटिएको छ । 

प्रकाशित मिति: : 2025-02-22 14:12:00

प्रतिकृया दिनुहोस्