नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूको समूहबाट प्रहरीमाथि सांघातिक आक्रमण भएको सीसीटीभी फुटेज सार्वजनिक गर्ने प्रहरीमाथि नै छानबिन सुरु भएको छ।
काठमाडौंको ठमेलमा माघ २४ गते राति ड्युटीमा खटिएका प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि विद्यार्थी नेताहरूले आक्रमण गरेका थिए।
आक्रमणको सीसीटीभी फुटेज बाहिरिएपछि आक्रमणकारीहरूमाथि कारबाहीको दवाब बढेको थियो। विद्यार्थी नेताहरूमाथि अनुसन्धान नै नगर्ने तयारीमा रहेको गृह प्रशासनमाथि जनदवाब बढेपछि अन्तत बिहीबार अनेरास्ववियु नेता कमल जोशी पक्राउ परेका थिए।
सीसीटीभी सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न प्रहरीमाथि पनि दवाब बढेको थियो। प्रहरीबाटै जानबुझले सीसीटीभी फुटेज सार्वजनिक भएको भन्दै सत्तारुढ दलका नेताहरूको दवाबपछि प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि पत्र पठाएको खुलेको छ।
स्रोतका अनुसार रानीपोखरीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको छ। र सीसीटीभी फुटेज सार्वजनिक गरेर नेताहरूको कर्तुत बाहिर ल्याउँने र कारबाहीको लागि दवाब सिर्जना गर्ने प्रहरीमाथि नै कारबाहीको तयारी छ।
जोशीभन्दा अघि सोही घटनामा अनेरास्ववियु नेताहरू दिनेश सिग्देल र रमेश फुलारा गत आइतबार नै पक्राउ परेका थिए।