गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन्।
शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार मन्त्रालयको पहिलो काम भएको बताएका हुन्।
उनले सोहीअनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता गरिएको बताए।
उनले भने, ‘नागरिकतासम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ। अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ। यस्तै निर्वाचनसम्बन्धि ऐन पनि अगाडि बढाएका छौं। जग्गा प्राप्तिसम्बन्धि कानुन संशोधनको काम अगाडि बढेको छ।’
त्यस्तै उनले संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेको र तीनवटा कानुन संशोधनका लागि संसद पुगेका बताए। बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउँने र चाँडै पास गर्ने उनले बताए।
नेपाल प्रहरी ऐनसम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको पनि गृहमन्त्रीको भनाइ छ।
साथै, उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको भन्दै विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्ने बताए।
नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरूमा महत्त्वपूर्ण काम गरेको पनि बताए।
उनले भने, ‘क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ। यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ।’
यस्तै, गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौति देखिएको पनि उल्लेख गरे।