पछिल्लो समय मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधन चलाउनेको संख्या कम हुँदै गएको छ।
लामो समयदेखि प्रयास र प्रभावकारी कार्यक्रमका कारण केही हदसम्म घटना न्यूनीकरणमा सफल भएका छौं।
विगतमा जुन किसिमको रेसियोमा मापसे थियो अहिले धेरै कम भएको तथ्यांकले नै देखाउँछ। चेकजाँचमा ल्याइएको केही परिवर्तनले परिणाममा सहयोग पुर्याएको छ।
एउटै सेड्युलमा नगरेर परिवर्तन गर्दा परिणाम पनि राम्रो आएको छ। जस्तै शनिबार र बिदाको दिन दिउँसो पिकनिकहरुमा गएर दिउँसै मापसे गरेर गर्ने चलन थियो।
अहिले भने त्यो क्रम कम भएको छ। रातको समयमा पनि विशेष गरेर ७ देखि ८ बजेको समयमा चेकजाँचको सेड्युल सुरु गरिरहेका हुन्छौं। त्यस कारण केही न्यूनीकरण भएको हो।
मापसेको कारणले सवारी दुर्घटना हुनेहरुको संख्या गत २०७९–८० मा चाँही ६४९ वटा थिए भने त्यसमा १० जनाको मृत्यु भएको थियो। ४८ जना गम्भीर घाइते भएका थिए। ६२३ जना सामान्य घाइते भएका थिए। यता २०८०–८१ मा ६५० वटा चाँही मापसेको कारण दुर्घटना भएर १२ जनाको मृत्यु भएको थियो।
५१ जना गम्भीर घाइते हुनुभएको थियो। जुन अहिले २०८१–८२ को साउनदेखि अहिलेसम्म गर्दा ३१६ वटा दुर्घटना भएको छ। जसमा १६ जनाले ज्यान गुमाएका छन्। १७ जना गम्भीर घाइते हुनुभएको छ। ३८ जना सामान्य घाइते हुनुभएको छ। यस हिसाबले केही न्यूनीकरण भएको हो कि जस्तो लाग्छ।
मापसेलाई अलग्गै कारवाहीको व्यवस्था छैन्। तर अहिलेसम्म आर्थिक वर्षमा २० करोड ८५ लाख बराबरको कारवाही रकम उठाइसकेका छौं। ३ लाख २० हजार २२९ ट्राफिक उल्लंघनका घटनाहरुमा २० करोड ८५ लाख ६० हजार कारवाहीमा परेर नै राजश्व जम्मा गरेका छौं।
नियन्त्रण गर्ने भनेको सबैभन्दा ठूलो कुरो आफूले पनि सबै कुरामा संस्कार बसाल्नुपर्छ। ट्राफिकको डरले मात्र कम गर्न सम्भव छैन। तर पनि कम गर्नको लागि ट्राफिक नियमको प्रचार प्रसार बढी गरिरहेका छौं।
विगतमा मापसे चेकिङ गल्लीहरुमा गरेका थियौं। त्यतिबेला ट्राफिक प्रहरीप्रति नकारात्मक कुराहरु धेरै नै आए। तर अहिले भित्र भन्दापनि मुख्य सडकमै फोकस गरेका छौं। मुख्य सडकहरुमा दुर्घटना नहोस् भन्ने हिसाबले अहिले ट्राफिक चेकजाँच गरिरहेका छौं।
अहिले दैनिक एकसय प्लस जना मापसे कारवाहीमा पर्ने गरेका छन्। कारवाहीमा परेकाहरुलाई जनचेतनामूलक कक्षाहरु सञ्चालन गरेका छौं। विभिन्न अन्तरक्रिया गरेर एउटा संस्कार बसोस भनेर काम गर्दा धेरै प्रगति समेत भएको छ।
मापसे गरेर सवारी चलाउनेको संख्या कम भएका छन्। कसैले मापसे गरेको छ भने साथीलाई ड्राभिङ गर्न लगाएर आफू पछाडि बस्ने संस्कार पैदा भएको छ।
अहिले हामीले चेकजाँचहरु बढाउने र जनचेतनाहरु अभिवृद्धि गर्ने कामलाई बढी प्राथमिकता दिएका छौं। मापसे बाहेक अन्य कारणले दैनिक दुई हजार प्लस कारवाहीमा परिरहेका छन्।
अहिले बिदाको दिन १५ सयदेखि दुई हजार प्लस हुन्छ भने अन्य दिन दुई हजारदेखि २५ सय तीन हजारको हाराहारीमा कारवाहीहरु भएको देखिन्छ। अहिले विशेष गरेर यो महिनादेखि बढि फोकस ‘नो हर्न’ लाई लिएका छौं।
गलत प्रवृत्ति छ हर्न बजाउने। यसलाई सबैले तुरुन्तै छोड्नुपर्छ। यसमा पनि बढी कारवाही भइरहेको छ। ट्राफिक लेनहरुका सवालमा हाम्रै कन्ट्रोल रुमबाट हेरेर कुन सवारी साधनले ट्राफिक नियम उल्लघंन गरेको छ, रातो बत्तीमा गएको छ कि, पिक एन ड्रप गलत ठाउँमा गरको छ की, ढोकाहरु खुल्ला छ की भनेर पनि मनिटरिङ गरेर कारवाही गरिरहेका छौं।
अहिले काठमाडौं उपत्यकामा एएन पिआर अटोमेटिक नंम्बर प्लेट, स्पिड जस्ता कुराहरु कार्यालयबाटै हेरिरहेका हुन्छौं। काठमाडौं उपत्यकामा ५५ भन्दा बढी स्पिड ठिक होइन। त्यसैले यी कुराहरुमा पनि हामी काम गरिरहेका छौं।
स्पिड बढीकै कारण महिनामा २० जनाको मृत्यु हुने गरेको देखिन्छ। यसमा पनि दुईपांग्रे सवारी साधनबाट बढीको मृत्यु भइरहेको देखिन्छ। साथै पछाडी बस्ने र पैदल यात्रीहरुको मृत्यु हुने गरेको छ। पुस महिनामै २० जनाले मृत्युवरण गर्नु भएको छ।
माघको १ देखि १८ गतेसम्म दुई जनाको मृत्यु भएको छ। मृत्युहरु स्पिड, रातिको समयमा वा ट्राफिक नभएको समयमा सवारीमा ठोक्किएरलगायत भएर भएका छन्। दिनमा सवारी चाप बढी भएको कारणले पनि प्रायजसो दुईपांग्रे सवारी साधनहरुको स्पिड बढी देखिन्छ। त्यस्तै सार्वजनिक यातायातहरु पनि सबैभन्दा बढी स्पिडकै कारणले कारवाहीमा परेका छन्।
यतिमात्र होइन लेनको कुरा पनि छ। हामीले विशेष रुपमा दुई पाङ्ग्रेहरुको लागि एउटा अभियान सुरु गरेका छौ। दुई पाङ्ग्रेहरुको लागि दुई मिनेट भनेर चालकको समय लिएर कुरा गर्ने गरेका छौं। यसबाट हामीले घटनाको विवरण पनि लिन्छौ र यसमा मोबाइलको प्रयोग, मापसे, ओभरटेक गरेर हाँक्ने र हेलमेट नलगाएको कारण बढी दुर्घटना हुने कुराहरु प्राप्त भएको छ। यही कुराहरुलाई ध्यानमा राखेर सजक गराउन अभियानमा लागेका छौ। तर चालकहरु आफैंले यस्तो संस्कार नबसाएसम्म पूर्ण रुपमा कम हुन सक्दैँन्।
अहिलेको अवस्थामा सवारी चालकहरुलाई मात्र दोष दिएर हुँदैन्। अहिले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने पैदल यात्रीहरु हुन्छन्। पैदल यात्रुहरुलाई पनि विशेष ध्यान दिनुपर्ने अवस्था छ। उहाँहरुले क्षती भयो भने त आफूलाई नै हो कारबाहीको कुरा पछि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ।
हामीले विशेष भीड हुने चोकहरुमा सामुदायिक प्रहरीको सहयोगमा पैदल यात्रीहरुलाई बाटो काट्ने तरिका सिकाउने वा सम्झाउने कामहरु पनि गरिरहेका छौ। अहिलेको समयमा पनि यसरी सम्झाउन पर्नु भनेको त्यति सुहाउँदो होइन। त्यसकारण आफैले बुझेर गर्नुपर्छ।
‘नो हर्न’ अभियान ०७३ सालमा पनि चलाएका थियौ र त्यो बेलाको दुर्घटनाको संख्या घटेको थियो र त्योबेला हामीले केही प्रशंसाहरु पनि पाएका थियौं। यसले हामी कति सभ्य छौं भनेर देखाउँछ। हर्न बजाउने कुरा भनेको गाली गरे जस्तो हो। जाममा बसेको बेला पनि बजाउने, कतै रोकिएको बेला पनि बजाउने यो राम्रो नभएको हुनाले अभियान चलाएका हौं।
अहिलेको समयमा प्रविधि अनुसार चल्नको लागि अनलाइनबाट जरिवाना तिर्न सक्ने व्यवस्था ल्याएका हौं। अहिलेको समयमा लाइन लगाएर भौचर लिएर बस्ने कसैको समय पनि हुदँैन र यो अलि गार्हो पनि हुन्छ। जरिवाना दुःख दिनको लागि तिराएको होइन। चालकहरुले अबदेखि यस्तो गल्ती फेरि नगरोस भनेर हो।
ट्राफिक व्यवस्थापनमा प्रहरी पूर्ण रुपले ठिक नहोला तर एकदुई जनाको नियतका कारण सिंगो ट्राफिकलाई गाली गर्नुपनि हुँदैन्। नियत र प्रवृत्ति गलत भएर चिट काट्नु राम्रो होइन्। अब यसलाई कसरी हुन्छ दुःख दिउ भन्ने मानसिकता राख्नु हुँदैन्।
यी कुराहरुमा सच्याउन हाम्रो नेतृत्व प्रमुखबाट पनि सहजीकरण भइरहेको छ। बोली, व्यवहार, अनुशासन सुधार गर्न सुझाव दिने गरिएको छ। ट्राफिक प्रहरीहरुको बानीमा अहिले सवारी चालकहरु, सवारी धनीहरु, पैदल यात्रीहरुले विगतको तुलनामा केही फरक अनुभव गर्नु भएको छ। दुईचार जनामा सुधार नभएको होला तर धेरै सुधार भइसकेको छ।
राजश्व संकलनकै कुरा गर्दा आर्थिक वर्ष ०८०–०८१ मा ७३ करोड ५४ लाख काठमाडौं उपत्यका प्रहरी कार्यालयले संकलन गरेको हो। हाम्रो लक्ष्य राजश्व उठाउने मात्र होइन, हामी कारवाही भन्दा पनि सचेतना अभियान चलाइरहेका छौं। चेकिङ भन्दा पनि शिक्षामा फोकस गरेका छौ। सवारी चालकहरुको अनुशासनमा वृद्धि हुनु भनेको सवारी नियम पालना भएको भनेर बुझ्नुपर्छ।
ट्राफिक प्रहरीले धेरै कारवाही गरेको भन्ने पनि लाग्न सक्छ। तर सवारी चालकहरुले धेरै अनुशासित र नियमको पालना गर्नुभएको छ भन्ने हाम्रो बुझाइ हो। अर्काे कुरा अहिले प्रविधिलाई बढी फोकस गरेका छौ। प्रविधिमार्फत कारवाही गरेका कारणले पनि अहिले कमी आएको हो। चालकहरुमा पनि के छ भने ट्राफिक प्रहरीहरु अगाडि देखिंदा मात्र कारवाही परिने होइन कतैबाट हेरिरहेको छ भन्ने बुझ्नु भएको छ।
समयक्रम अनुसार प्रविधिमा अग्रसर हुनैपर्छ। काठमाडौ उपत्यकामा मेयरसँग भेटेर पोलुसनको अभियान चलाइसकेको छौ। २१९ जना पोलुसनको कारवाहीमा परेका छन्। महानगरको सहकार्यका ट्राफिक लाइटलाई डिजिटलमा रुपान्तरण गरिरहेका छौं।
ट्राफिक लाइटसँगै विभिन्न प्रविधिलाई सरकारले जोड दिनुपर्छ। दैनिक सवारी साधनहरुको वृद्धि कुन हिसाबले भइरहेकोछ, इन्जिनियरहरु साथै सडकहरुको अवस्था के कस्तो छ त्यसलाई ध्यान दिनुपर्ने देखिन्छ। प्रविधि र शिक्षामा जोड दिनुपर्छ।
ट्राफिक प्रहरी कसैको दुश्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ। यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो। छिटो पुग्नुहोस भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस भन्ने हाम्रो अभियान हो। ट्राफिक प्रहरीको डरले वा कारवाहीको डरले ट्राफिक नियमको पालना गर्ने मात्र होइन ट्राफिक नियमको पालना गर्ने संस्कारको विकास होस भन्ने लाग्छ।
दुर्घटनाहरु न्युनिकरण र ट्राफिक व्यवस्थापनमा सबै पक्षबाट सहयोग मिलोस् भन्ने अपेक्षा छ।