खेलकुदमन्त्रीले पेल्न खोजेपछि राखेप बोर्ड बैठकमा धक्कामुक्की

Break n Links
Break n Links

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एकलौटी निर्णय गर्न खोजेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बिथोलिएको छ।

कार्यकारी समिति गठन तथा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्देशिकालगायत विषयमा छलफल गर्न मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बोर्डको १२०औं बैठक बसेको थियो।

बैठकमा निर्णय प्रक्रियामा बोर्डका अध्यक्षसमेत रहेका मन्त्री चौधरी र बोर्डका उपाध्यक्ष ध्रुब आचार्यले एकलौटी गर्न खोजेपछि बैठक बिथोलिएको बोर्ड सदस्य प्रकाशकुमार कुसारीले जानकारी दिए।

मन्त्री चौधरी र उपाध्यक्ष आचार्यले दैनिक प्रशासन सञ्चालनका लागि आवश्यक पर्ने कार्यकारी समितिका सदस्य चयनमा राजनीतिक चलखेल गर्न खोजेका थिए। परिषद्को सो समिति सात सदस्यीय हुने गर्छ।

जसमा सदस्य सचिव संयोजक, मन्त्रालयका खेलकुद हेर्ने सह-सचिव सदस्य तथा परिषद्को कर्मचारी प्रशासनका विभागीय प्रमुख स्वतः समितिको सचिव हुने तथा बोर्ड सदस्यहरूबाट बाँकी चार जना सदस्य चयन गर्ने व्यवस्था छ। ती चार जना सदस्य चयन गर्ने क्रममा मन्त्री चौधरी र उपाध्यक्ष आचार्यले चलखेल गर्न खोजेका थिए।

मन्त्री चौधरी र उपाध्यक्ष आचार्यले काँग्रेसनिकट तीन जना (रञ्जना प्रधान, कमल भट्टराई र भानबहादुर चन्द) तथा एमालेनिकट एक जना (सुवर्ण श्रेष्ठ)लाई समितिको सदस्यमा चयन गर्न खोजेका थिए।

तर, उनीहरूको सो निर्णयमा एमालेनिकट नन्दा बस्याल, विश्वविद्यालयका तर्फबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य मधुसुदन सुवेदी तथा माओवादी केन्द्रनिकट अन्जना श्रेष्ठ र विना श्रेष्ठलगायतले असन्तुष्टि जनाएका थिए। त्यसपछि विवाद उत्पन्न हुँदा बैठकमा धक्कामुक्की भएको थियो।

बैठकको स्थिति असहज भएपछि बोर्ड सदस्यहरू प्रकाशकुमार कुसारी, अन्जन धमाला र जनकप्रसाद बार्तौलाले बैठक बहिष्कार गरेका हुन्।

बैठकमा ३५ जना सदस्य उपस्थित थिए। सहभागीमध्ये अधिकांश सदस्यहरूले मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको ‘पेल्ने शैली’प्रति असन्तुष्टि जनाएका छन्।

बैठक बिथोलिँदा आगामी चैत २३ देखि ३० गतेसम्म कर्णालीमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत अनिश्चित बन्ने खतरा बढेको छ। 

‘अध्यक्ष र उपाध्यक्षले पेलेर जाने नीति लिँदा बोर्ड बैठक बिथोलिएको छ, यसले गर्दा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नहुने सम्भावना बढेको छ’, सदस्य कुसारीले भने।

प्रकाशित मिति: : 2025-01-28 19:06:00

प्रतिकृया दिनुहोस्