भूकम्पको अझ ठूलो झट्का खेप्नै बाँकी छ नेपालले (भिडियाेसहित)

Break n Links
Break n Links

पुस २५ गते बिहानपख तिब्बतको टिंगरी काउन्टीलाई केन्द्रबिन्दु बनाएको भूकम्पले पूरै दक्षिण एशिया थरथरी काँप्यो। नेपालले पनि त्यसको एउटा निकै ठूलो झट्का महसुस गर्‍यो।

लगभग ६.८ रेक्टर स्केलको त्यो भू कम्पनले १२६ जनाको ज्यान लियो। तिब्बतमा त त्यसले ठूलै संरचनामा क्षति पुर्‍यायो सँगै सिमाना जोडिएका नेपाली भूमिमा पनि केही नोक्सान भयो।

नेपालले भूकम्प सुरक्षा दिवसको तयारी थालिरहँदा एकपटक यो भूमि फेरि बेस्सरी हल्लिन थालेको छ। तिब्बत कम्पनका पराकम्पनहरूले अहिले पनि नेपाली भूमिलाई हल्लाइरहेका छन्।

यही बीचमा नेपालले भूकम्प आज भूकम्प सुरक्षा दिवस मनाउँदै छ। यो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो। र यसपालि ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।

नेपालमा विक्रम सम्वत १९९० माघ २ गते ठूलो भूकम्प गएको थियो। त्यसलाई महाभूकम्प भनिएको थियो। त्यो भूकम्पले लगभग १७ हजार मानिसको मृत्यु भएको थियो। त्यही महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माई २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ।

त्यसपछि २०७२ सालमा फेरि अर्को ठूलो भूकम्पले पूरै देश हल्लायो। ‘गोरखा भूकम्प’ भनेर चिनिएको यो कम्पन करिब ८ हजार ७८९ जनाको मृत्यु र करिब ६ लाख भौतिक संरचनाहरू ध्वस्त हुनुको कारण बन्यो। जसले २२ हजारभन्दा बढी मानिसलाई घाइते र कैयौलाई अपांग बनायो। त्यो निकै शक्तिशाली अर्थात् ७.८ रेक्टरस्केलको कम्पन थियो।

२०७२ को महाभूकम्पपछि पछि संयुक्त राष्ट्र संघको ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ले विश्वका १ सय ९८ राष्ट्रमध्य नेपाल भू–कम्पीय उच्च जोखिमको ११औं स्थानमा रहेको निष्कर्ष निकालेको थियो। यस कारण नेपाल भूकम्पीय जोखिमका हिसाबले निकै संवेदनशील छ।

त्यसमा पनि पश्चिम नेपाल अझ जोखिमपूर्ण भूस्थलमा छ। त्यसको लगभग ८ वर्षपछि २०८० साल कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको अर्को एउटा शक्तिशाली भूकम्पले लगभग १५६ जना मानिसको ज्यान लियो र थुप्रै धनसम्पत्तिको क्षति गरायो। अहिलेसम्म न भूकम्प पीडितको पुनस्थापना हुन सकेको छ न भौतिक संरचनाहरू नै निर्माण भएका छन्।

त्यसपछि पनि पश्चिम नेपाल पटक पटक हल्लिरहेको छ, साना साना कम्पन र पराकम्पनहरूले।

भूकम्प भनेकै पृथ्वीको कम्पन अर्थात् काँप्नु हो वा हल्लिनु भनेको हो। त्यसलाई पृथ्वीको मुनि रहेका चट्टानी प्लेटहरूले हल्लाइरहन्छन्। तिनको गति र घर्षणले पृथ्वीलाई कति हल्लाउँछ भन्ने कुराको मापन गर्छ। त्यही गति वा शक्ति नै भूकम्पको रेक्टर स्केल हुन्छ।

उदाहरणका लागि पृथ्वीको एक सतहमा भएका मुख्य १६ वटा प्लेटहरूको चाल र घर्षणले त्यसमा प्रभाव पारिरहेका हुन्छन्। पृथ्वीको भूगोलअनुसार फरक-फरक प्लेटहरू मिलेर पृथ्वीको बाहिरी सतह बनेको हुन्छ।

सजिलो भाषामा भन्दा यी प्लेट भनेका चट्टानी पत्रहरू हुन्। जो चलिरहन्छन्, आफ्नै गतिमा। त्योमध्ये नेपालमा चाल उत्पन्न गर्ने भनेको इन्डियन प्लेट र तिब्बतियन प्लेट हुन्। यी प्लेटहरूको गति एकदमै मिहीन हुन्छ।

नेपालमा भूकम्पको मुख्य कारक मानिने इन्डियन प्लेट प्रत्येक वर्ष १५-२० मिलिमिटरको चालमा तिब्बतियन प्लेटतर्फ धकेलिइरहेको छ। यस्तै गतिमा एकअर्को सतह नमिल्दा पृथ्वी हल्लिन्छ, त्यो एउटा निश्चित विन्दुमा हुन्छ र त्यसैलाई भूकम्प गएको भनिन्छ। यी प्लेट आ- आफ्नो क्षेत्रका लागि हिमालय श्रृङ्खलामुनि अर्थात् नेपालको भू-भागमा संघर्षरत छन्।

एउटा प्लेट अर्को प्लेटको स्थानमा घुस्दा वा छुँदा उत्पन्न हुने वा सञ्चित हुने शक्ति वा ऊर्जाबाट निस्किने कम्पन भनै भूकम्प हो। अर्थात्, घुसाइका कारण सञ्चित हुने ऊर्जाको परिमाण बढ्दै जाँदा भू-गर्भको संरचनाले थेग्न नसकी भू-गर्भका चट्टानका चाक्लाहरु दोब्रिदाँ वा भाँच्चिदा हुने कम्पन नै भूकम्प हो। जसले जमिन हल्लाउँछ।

पाँच सय वर्षभन्दा धेरै समयदेखि नेपालमा खझ खासगरी पश्चिमी भूगोलमुनि प्लेटहरूबीच भइरहेको संघर्षका कारण ठूलै शक्ति सञ्चित भएको हुनसक्ने विज्ञहरू बताउँछन्।

अर्थात्, त्यो क्षेत्रमा कम्पनको त्यो शक्ति अहिले पनि सञ्चय भइरहेको भनेर विज्ञहरूले विश्लेषण गरेका छन्।

कम्तीमा शताब्दीको अन्तरालमा आउने भूकम्पले वर्षौं सञ्चित भएको त्यो ऊर्जा एकैपटक ननिस्किन पनि सक्छ। त्यसैले उसले एउटा कमजोर जमिन खोजिरहेको हुनसक्छ। भुकम्पको केन्द्रविन्दु भनेको पृथ्वी भित्रका चट्टानहरू फुट्ने वा ठोक्किने ठाउँ हो।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार करिब ५०० वर्षयता गोरखाभन्दा पश्चिमतिर अर्थात् भारतको देहरादून भू-भागसम्म कुनै पनि ठूला भूकम्प गएका छैनन्। त्यसैले नेपालमा अझ ठूलो भूकम्पकाे जाेखिम जहिल्यै छ।

पृथ्वीको सतह विशाल प्लेटहरू मिलेर बनेको छ, जुन महासागर र महाद्वीपहरूमा फैलिएको छ। यी तहहरू मुनि रहेका चट्टानहरू महासागरहरू मुनि भारी र महाद्वीपहरू अन्तर्गत हल्का हुन्छन्। जब चट्टान फुट्छ, यो ऊर्जा सतहमा पुग्छ र विनाश निम्त्याउँछ।

प्रकाशित मिति: : 2025-01-15 14:40:00

प्रतिकृया दिनुहोस्