काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्ने बताएकी छिन्।
बुधबार काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुर्नलाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको समेत बताइन्।
उनले भनिन्, ‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ। नागरिकको आँगनको सरकारले यो काम गर्छन्। संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ। यसकोणबाट सबै तहका सरकारको समान भूमिका छ।’
महानगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ। स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ।’
विपदमा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले, आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको बहस चलिरहेको र यस बहसलाई गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ थियो।