आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग वीरगञ्जको विकासका लागि गरेको भन्दै प्रश्न गरेका छन्।
आजपाद्वारा शनिबार वीरगञ्जमा आयोजित भ्रष्टाचारविरूद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले वीरगञ्जबाट राजस्व लिने तर वीरगञ्जको विकासका लागि केही पनि गर्नु ओलीको बेइमानी भएको टिप्पणी उनले गरे।
वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउन तथा भ्रष्टाचारकोविरूद्धको खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले भने, ‘देश बदलावमा वीरगञ्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
‘वीरगञ्जको अग्रणी योगदानबाटै आज नेपालबाट राजतन्त्रको अन्त्य भयो र पार्टीका नेताहरु अहिले राज गरिरहेका छन्। म वीरगञ्जको पवित्रधर्तीबाट नेताहरुलाई सोध्न चाहन्छु, प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोध्न चाहन्छु तपाईंले वीरगञ्जको लागि के गर्नुभयो?’, उनले भने।
वीरगञ्ज एक ऐतिहासिक शहर भएको बताउँदै उनले वीरगञ्ज हेर्न दुनियाका मान्छेहरु आउँने गरेको बताए। पहाडका मान्छेहरु रोजगारी, शिक्षा, बिचार लिन वीरगञ्ज आउँने गरेको बताउँदै उनले वीरगञ्जलाई दलाल नेताहरुले उजाड बनाएको टिप्पणी उनले गरे।
‘वीरगञ्जलाई तपाईंहरुले के दिनुभयो। वीरगञ्ज उजाड हुदैछ, ठुलाठुला व्यपारीहरु वीरगञ्ज छोडदैछन्। पुँजी पलायन हुँदैछ, यस्तो बेहाल किन बनाउनुभयो भन्ने प्रश्न गर्न चाहन्छु। देशको झण्डै आधा भन्दा बढी राजस्व वीरगञ्जबाट उठछ। यसको रिटर्नी वीरगञ्जले पाउँने की नपाउने?’, आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईं के हेर्नुहुन्छ यो पहिलाकै बनेको पुर्वाधारहरु हो। घण्टाघर, नारायणी हस्पिटल, ठाकुर क्याम्पस, नारायणी रंगशाला, कृषि औजार कारखाना, चिनी मिल यी सबै पहिलाकै हो। म यि चोर नेताहरुलाई प्रश्न गर्न चाहन्छु तपाईंले वीरगञ्जको लागि के गर्नुभयो?’
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाट तीन जना मन्त्री छन्। नेपाली कांग्रेसबाट अजय चौरसिया कानून मन्त्री, एमालेबाट राजकुमार गुप्ता प्रशासन मन्त्र, जसपाबाट प्रदिप यादव खानेपानी मन्त्री छन्। तीनै जना मन्त्रीलाई ‘चोर नेता’को संज्ञा दिदै आजपा अध्यक्ष प्रभु साहले प्रश्न गरे, ‘यहाँबाट मन्त्री भएका चोर नेताहरुलाई म प्रश्न गर्न चाहन्छु तपाईंले वीरगञ्जका लागि के गर्नुभयो। नारायणी अस्पताल मेडिकल कलेज हुन्छ की हुँदैन? ठाकुरराम क्याम्पस यूनिभर्सिटी बन्छ की बन्दैन? त्यहाँ पिएचडीको पढाई हुन्छ की हुँदैन? १५ बिगाभन्दा बढी क्षेत्रफलमा फैलिएको नारायाणी रंगशाला किन जिर्णअवस्थामा पुग्यो?’
संविधान निर्माण गर्ने बेलामा ओली नेतृत्वको सरकारले संविधान गलत बन्दै गर्दा विरोध गरेपछि हत्या गरेको दिन स्मरण गर्दै उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गर्नु अपराध भएको बताए। कार्यान्वयन नभएको संविधान संशोधन गर्नुभन्दा पहिला नेताहरुले जनताका बीचमा गएर माफी माग्नुपर्ने उनले बताए।
जनताको तिरेको राजस्व सरकारले लुटिरहेको आरोप उनले लगाए। भन्सारको नाममा सरकारले सर्वसधारणको निजि सम्पत्ति लुटिरहेको बताउँदै उनले यो सरकार लुटेराको सरकार भएको आरोप लगाए।
सरकारले कर आतंक मचाएर देश र जनतालाई लुटिरहेको बताउँदै उनले भारत र चीनमा समानहरु सस्तो हुने तर नेपालमा महंगो किन भएको भन्दै प्रश्न गरेका छन्।
‘म प्रधानमन्त्री र तिनका दलालहरुलाई भन्न चाहन्छु वीरगञ्ज आर्थिक राजधानी भएन भने अब जनता चुप लागेर बस्नेवाला छैनन्। प्रभु साह चुप लागेर बस्नेवाला छैन। कान खोलेर सुन्न म ति दलालहरुलाई भन्न चाहन्छु’, आजपा अध्यक्ष साहले भने, ‘काठमाडौँलाई प्रशासनिक राजधानी बनायौं। भर्खर पोखरालाई पर्यटकीय राजधानी बनायौं। के वीरगञ्ज आर्थिक राजधानी बनाउँनुपर्छ कि पर्दैन? यदि हुन्छ भने क्याबिनेटबाट छिटो निर्णय गर्नुस्। नत्र हामी चुप लागेर बस्दैनौँ।’
बारा, पर्सा, रौतहटको विकासमा सरकारले ध्यान नदिएको बताउदै उनले यस क्षेत्रको विकासका लागि आजपाले आवाज उठाउने उनले बताए। वीरगञ्ज सहितका क्षेत्रको विकासका लागि प्रभु साह चुप लागेर बस्न नसक्ने बताउँदै उनले अब कडा कदम चाल्नुपर्ने आवश्यक भएको बताए।
आजपा अध्यक्ष प्रभु साहले भने, भ्रष्टाचारीहरुलाई तह लगाउन अब जनस्तरबाटै प्रतिवाद जरूरी रहेको बताए। देशको चोर र भ्रष्ट नेताहरुलाई तह लगाउन आम जनता अगाडि आउनैपर्ने बेला भएको उनले बताए।
उनले भने, ‘इतिहास साक्षी छ, जनताको शक्ति न विगतमा कमजोर थियो, न वर्तमानमा कमजोर छ, न भविष्यमा कमजोर हुनेछ। यसका लागि हामी सबै ईमान्दार, प्रगतिशिल र देशभक्त शक्तिहरु एकजुट पर्छ।’
आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटकारी व्यवस्था एवं दलाल दलतन्त्रविरुद्ध आवाज उठाउँदै आएको छ।
आजपाले मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारकाविरूद्धमा वीरगञ्जमा विरोधसभा गरेको छ। वीरगञ्जमा शक्ति प्रदर्शन गर्दै आजपाले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचारविरूद्ध खबरदारी सभा गरेको हो।
सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे। वीरगञ्जको इतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन्।
हालै मधेस प्रदेशमा भ्रष्टाचारविरूद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढ्दै गइरहेको जनाएको छ।
‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ। भ्रष्टाचारी जोगाउने, बचाउने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन। भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउने काम गरेको छ’, आजपा अध्यक्ष साहले भने, ‘विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ। तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुँदैन। विभिन्न ठुला काण्डको फाइल सरकारले लुकाएर राखेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन्। यी लुटेराहरुले देशलाई लुटेर कंगाल बनाइसके, राज्यको ढुकुटी लुटेका छन्, विदेशमा पैसा थुपारेका छन्। यिनीहरुबाट देश समृद्ध हुँदैन।’
देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपालीमाथि विदेशी ऋण बढाउँदै गइरहेका छन्। विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउने काम यो सरकारले गरिरहेको आरोप साहको छ।