शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन्।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताइन्।
उनले भनिन्, ‘अर्को कुरा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सन्दर्भमा स्वास्थ्यमन्त्रीले अस्ती बोल्नुभएको कुराले थोरै विवाद आएको जस्तो लाग्छ तर उहाँको आँखाले देखिसकेपछि एउटा भाव व्यक्त गर्नुभएको हो तर मलाई के लाग्छ भने स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता जनाएको पनि हो। सबैले आवश्यक छ भनेको विश्वविद्यालय निर्माण गरेर जाउँ।’
साथै, उनले लामो समयदेखि बैठक र सभा हुन नसकेको सिटीइभिटीको दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताइन्।
‘६९ सालदेखि काम हुन नसकेको सिटीइभिटीको परिषद्को बैठक म जाँदा ११ महिनादेखि बसेको थिएन। सिटीइभिटीको सभा भनेर ८ वर्षदेखि बसेको थिएन, जसले नीति गत निर्णय गर्नुपर्ने थियो, मैले सभा र बैठक दुवै राखि सकेपछि एक ढङ्गले त्यसलाई नियमित गर्ने प्रयास गर्दैछु। लामो समयदेखि वेतिथिमा रहेको ठाँउलाई बनाउन समय लाग्छ। उनले भनिन्, ‘त्यसकारण आजै यो किन भएन भनेर भनि राख्दा त्यसलाई बनाउनु, गर्नुपर्ने प्रयत्नहरु अझै बाँकी छन्। त्यसैले हामीले आज समितिले दिएको सबै निर्देशनलाई पालना गर्ने दायित्व सरकारको हो। गर्नुपर्छ तर त्यसको लागि हुने कानूनी जटिलता र प्रक्रियाहरु फुकाउनु पर्ने हुदाँ त्यो फुकाउनको लागि केही समय लाग्ने हुदाँ यस वर्ष तपाईले भन्नु भएको सबै काम गर्नको लागि अर्को क्यालिन्डर पर्खिनु पर्ने कुरा अनुरोध गर्न चहान्छु।’