संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ।

आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारबाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल हुनेछ। यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवम् व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक– २०८१ मा दफावार छलफल हुनेछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2024-11-20 07:49:00

प्रतिकृया दिनुहोस्