अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः एकपटक कठोर र भावनात्मक चेतावनी जारी गरेका छन्। जसले मध्यपूर्वमा बढ्दो तनावलाई अझ जटिल बनाउने संकेत दिएको छ।
‘इरानले मैले भनिएको सम्झौता गर्नुपर्ने थियो। यो लज्जास्पद छ, र मानव जीवनको अनावश्यक क्षति हो। सरल भाषामा भन्नुपर्दा, इरानसँग कहिल्यै पनि आणविक हतियार हुन सक्दैन’ सामाजिक सञ्जालमार्फत गरिएको आफ्नो भनाइमा ट्रम्पले भनेका छन्, ‘तेहरान (इरानको राजधानी) तुरन्त खाली गरियोस्। त्यहाँ अझै मानिसहरू मारिनसक्छन्।’
ट्रम्पको भनाइले न केवल इरान-अमेरिका सम्बन्धलाई थप चिसो बनाएको छ, तर यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा पनि प्रश्न उठाएको छ। यस्ता बयानहरूले परमाणु सम्झौतामा पुनः वार्ता हुने सम्भावनामा प्रतिकूल असर पार्ने विज्ञहरूको विश्लेषण छ। उनका अनुसार, ‘यो एक कूटनीतिक सन्देश मात्र नभई सम्भावित रणनीतिक दबाबको संकेत पनि हो।’
ट्रम्पले तेहरानबाट तत्काल मानिसहरूलाई हटाउन आह्वान गरेसँगै, अमेरिकी दूतावासहरू, अन्तर्राष्ट्रिय संस्था तथा आप्रवासी समुदायहरूमा चिन्ता गहिरिएको छ। इरानी अधिकारीहरूले ट्रम्पको अभिव्यक्तिलाई ‘अविवेकी, उत्तेजक र गैर-कूटनीतिक’ भन्दै खण्डण गरेका छन्।
यो सन्दर्भमा क्षेत्रीय सुरक्षा विश्लेषकहरू भन्छन्, ‘ट्रम्पको शैली शाब्दिक रूपमा आक्रामक छ, जसले स्थायित्व खोजिरहेको क्षेत्रलाई पुनः अस्थिरतामा लैजाने जोखिम बढाउँछ।’ त्यस्तै, अमेरिकी प्रशासनले आधिकारिक रूपमा कुनै सैनिक कारबाहीको संकेत नदिए पनि, द्धिपक्षीय सम्बन्धहरू तनावपूर्ण मोडतिर गइरहेको देखिन्छ।
यसैबीच, संयुक्त राष्ट्रसंघ र युरोपेली शक्तिहरूले संयम अपनाउन र वार्ताबाट समाधान खोज्न आह्वान गरिरहेका छन्। यो परिस्थितिले फेरि एकपटक सम्झाएको छ — जब शक्तिशाली राष्ट्रहरू बीच संवाद बन्द हुन्छ, तब शाब्दिक युद्धले सशस्त्र द्वन्द्वमा रूप लिन धेरै समय लाग्दैन।
इजरायल र इरानबीच लडाईं चर्किदैं गएपछि ट्रम्प क्यानडामा चलिरहेको जी सेभेन राष्ट्रहरूको बैठक छोडेर अमेरिका फर्किएका छन्। यसअघि पनि ट्रम्पले इरानमाथि इजरायलले अझै कठोर क्रुर आक्रमण गर्नसक्ने बताएका थिए।
इजरायली सैनिकले पनि तेहरानमाथि अझै भयानक आक्रमण हुनसक्ने भन्दै मानिसहरूलाई सहर छोड्न भनेको छ। यहीबीचमा इजरायाली सैनिकले इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कको भवनमाथि आक्रमण गरेको थियो। त्यतिबेला समाचार कक्षमा पत्रकारहरूले त्यही युद्धबारे प्रत्यक्ष प्रशारण गरिरहेका थिए।
गत सातादेखि इजरायल र इरानबीच एकअर्काको भूमिमाथि मिसाइल प्रहार जारी छ। दुबै राष्ट्र एकअर्काविरुद्ध ‘सिध्याइदिन’ अघोषित युद्ध लडिरहेका छन्। यो बीचमा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईको हत्या गर्न आदेश दिएको समाचारहरूसँगै मध्यपूर्वसहित पूरै विश्व तरंगित भएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इजरायलको त्यो योजनालाई भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिधै हस्तक्षेप गरेर रोकिदिएका छन्। अहिलेको अवस्थामा खामेनेईको ‘हत्या’ राम्रो उपाय नभएको भन्दै उनले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई उक्त योजना रोक्न भनेका हुन्।
यद्यपि यसबारे ट्रम्पले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। एउटा पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहूले पनि यसबारे जवाफ दिएनन्।
ह्वाइट हाउसले अहिलेको आक्रमणलाई मात्रै इरानका आणविक परियोजनाहरूलाई नष्ट गर्नमा केन्द्रित गर्न पनि भनेका छन्।
इरानमा आक्रमण गर्नुअघि नेतन्याहूले इरानी नागरिक आफ्नो दुश्मन नभएको भन्दै बरु इरानी जनताकै दुश्मनलाई नष्ट गर्ने आफ्नो योजनामा साथ दिन उनीहरूलाई आह्वान गरेका थिए। र इरानको सत्ता परिवर्तनका लागि तयार रहन पनि इरानी जनतालाई भनेका थिए।
इजरायलले आक्रमण सुरु गरेसँगै इरानी सर्वोच्च नेता खामेनेईलाई देशकै सबैभन्दा सुरक्षित बङ्करभित्र राखिएको छ। उनको सुरक्षा पनि पहिलाभन्दा निकै कडा पारिएको छ। इजरायले आक्रमण सुरु गरेपछि खामेनेईले इतिहासकै सबैभन्दा खराब परिणामका लागि तयार रहन इजरायललाई धम्की दिएका थिए।