स्वदेश फर्कन युवालाई ओलीकाे आग्रह, दसैँकाे टिकट बुकिङ १२ गतेबाट

Break n Links
Break n Links

यस्ता छन्, आज दिनभरिका प्रमुख १५ समाचार:

असोज १२ गतेबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने

दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ।

मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएकाे हाे।

बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिनेछ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

निमित्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा राईले उक्त निर्देशन दिएका हुन्।

उनले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए।

प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ।

समितिको आजको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयम्ले नाम फिर्ता लिन निवेदन दिएकाले उनको नाम सर्वसम्मतिबाट अस्वीकृत गरेको हो।

यसअघि आजै प्रस्तावित राजदूत भट्टराईले आफ्नो नियुक्ति प्रक्रिया अघि नबढाउन समितिमा निवेदन दिएका थिए।

दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालबाट डिस्चार्ज भएका छन्।

पक्राउ परेकै दिन प्रसाईंको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो। प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ।

प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको हो। सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेकाे छ।

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे।

विपीन जोशीको रिहाइका लागि विश्व नेताहरूमाझ आरजुको अपिल

हमास-इजरायल युद्धका बेला बेपत्ता पारिएका विपीन जोशीको सकुशल रिहाइका लागि परराष्ट्रमन्त्री डा.आरजु राणाले विश्व समुदायलाई अपिल गरेकी छन्।

असंलग्न राष्ट्रहरुको सङ्गठनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले जोशीको रिहाइका लागि विश्वका नेताहरूसामु अपिल गरेकी हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन यतिबेला प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल अमेरिकामा छ।

बैंकिङ कसुर र सहकारी ठगीको मुद्दामा मुद्दा मिलापत्रको लागि बाटो खुला

बैंकिङ कसुर र सहकारी ठगीको मुद्दा मिलापत्रको लागि बाटो खुला भएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले यसबारे जानकारी दिएका हुन्।

उनले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा मुद्दा चल्ने बताए।

भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ: धवलशम्शेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन्।

आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन्।

उनले एक्ला-एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरे।

काठमाडौंमा पहिलोपटक स्याउ मेला आयोजना हुने

किसान भेन्चरले प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला) आगामी असोज १७ गते देखि सुरु गर्ने भएको छ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भेन्चरले आगामी असोज १७ गते देखि १९ गतेसम्म तीन दिन मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्ने र विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवम् नेपालमा कृषिको सम्भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले  मेलाको आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ।

त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो।

यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ।

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन्। इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन्।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ। आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ।

ऐतिहासिक पदक विजेता एरिका स्वदेश फिर्ता

चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन्।

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो।

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्।

विश्वकप लिग– २: ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

आइसीसी विश्वकप लिग– २ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ

नेपालले यसअघि खेलेका यस सिरिजका तीनै खेलमा हार ब्यहाेरेकाे छ। नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार ब्यहाेरेकाे छ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन्। जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ।

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।

साफ महिला च्याम्पियनसिप अक्टोबर १७-३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ।

प्रकाशित मिति: : 2024-09-24 21:57:00

प्रतिकृया दिनुहोस्