...अनि सिस्नु माडेर खायौँ

हेमन्त विवश

काठमाडौं
Break n Links
Break n Links

खिइँदै गएका गाडीका नटबोल्ट जस्तो जिन्दगीसँगै मनका अन्तरकुन्तरमा जम्मा भएका यादका घडाहरु बोकिरहेकै छन् कालिकोटे स्रष्टा मोतिराज बमले पनि। मौनतामा बसेर कतै विगतका घटना त कतै कल्पनाका रेशा मनन गरिरहन्छन्।

कहिलेकाहीँ सोच्न थाल्छन् खै कस्ता हुने हुन आउने दिनहरु। अनि आफैँले आफैँलाई सम्झाउन थाल्छन्, ‘खै कसलाई थाहा छ र भविष्यको बारेमा! व्यर्थमा भविष्यको चिन्ता गरेर समय किन खेर फाल्नु?’

जीवनमा थुप्रै भेटिए। कसैले आँसु दिएर गए त कसैले हाँसो। कोही आह्लादित तुल्याउन आइपुगे त कोही काँडा झिक्न। जोड्ने, फुटाउने, किनारा लगाउने, न्यानो दिने, चिसो दिने थुप्रै भेटिए यतिन्जेलसम्मको जिन्दगीरुपी यात्रामा। उनी भन्छन्, ‘दुख मापन गर्ने यन्त्र हुँदो हो त भन्न सकिँदो हो यति दुख पाएँ भनेर। जुन कुरा मापन नै गर्न मिल्दैन, त्यसको परिभाषा पनि कसरी दिनु। उसो त धर्तीमा आगमन हुनु नै दुःख भोग्न र संघर्षका पाइला चाल्नलाई न हो। समय बलवान भइदिन्छ। जुन हामीले स्वीकार्नुको विकल्प छैन।’

नियतिले मान्छेलाई आफ्नो बसमा डोर्याइरहेकै हुन्छ। सुख र दुखको चित्त बुझ्दो परिभाषा नै पनि कहाँ छ र। हामीले दिने परिभाषा त केवल कामचलाउ मात्र न हुन्। जसले केही हदसम्म चित्त बुझाउन सक्छन्।

जुम्लीहरुका मुराखविन्दुबाट अक्सर सुनिन्छ, जुम्लाको विकासको बाधक कालिकोट हो। यसको अर्थ त्यहाँका मान्छे नभएर भू-बनावट भन्ने बुझिन्छ। कालिकोटमा अक्सर ठुलठुला भीर र चट्टानहरु छन्। जसले गर्दा जुम्लामा बाटो पुग्न निकै समय लाग्यो। कालिकोटका भीर काटेर बनाइएको उक्त बाटो निकै डरलाग्दो छ। त्यही कालिकोटको विकट गाउँमा २०२३ सालमा जन्म हुन गयो मोतिराज बमको। भक्तबहादुर बमका साइला छोरा बने उनी। सरल जीवन बाँचिरहेका उनी अक्सर गम्भीर मुद्रामा देखिन्छन्। जो सामाजिक अभियन्ता, सांस्कृतिक अध्येता, गायक, कविका, रुपमा चिनिन्छन्।

चार वर्षको हुँदा आमा गुमाएका उनलाई खासै सम्झना छैन, आमा धनशीलाको मुहार अनि त्यतिबेलाको परिवेशको। नाबालक छँदै ममतामयी आमाको काख छुटेपछि दुःखको के वर्णन गर्नु र। आङ ढाक्न र पेट भर्न नै पाइँदैन थियो।

उनी सम्झिन्छन्, ‘माथि फाटेको भोटो मात्र हुन्थ्यो। जसलाई चख्या भनिन्थ्यो। कम्मर मुनि लगाउने केही हुँदैन थियो।। आमा बितेको दुई वर्ष जति भएको हुँदो हो, हामीलाई औल (बेसी) काकाको घरमा छोडेर बुवा श्रीमती खोज्न गाउँ डुल्न थाल्नुभयो। एकदिन काकाले मृग मारेर ल्याउनुभएको थियो। आँगनमा पुगेर हामीलाई भन्नुभयो ‘तिम्रा बाले स्वास्नी ल्याएका छन्, तिमीहरु घर जाऊ’। भाजुभाइ भोकभोकै उकालो चढ्न थाल्यौँ। बाटोमा अति भोक लाग्यो। दाइसँग भोक लाग्यो भनेँ। विकल्प केही नभएपछि १० वर्षका जेठा दाइले उपाय निकाले सिस्नु माडेर खाने। अनि कपडामा माडेर सिस्नो खायौँ। घर पुगेपछि न बा थिए, न त कुनै आमा। खै काकाले किन त्यसो भन्नु भो थाहै भएन।’

२०३२ सालमा भक्तबहादुर बमले अर्को बिहे गरेर रुखमा देवीलाई भित्र्याए। मोतिराजले कान्छी आमा पाए। ती आमाले कहिल्यै नराम्रो गरिनन्। जन्मदिने आमालेझैँ मातृप्रेम देखाइन्। आफैँले जन्माएका सन्तानझैँ लालनपालन गरिरहिन्। विद्यालय पठाइन्। मोतिराजका चार जना दाइभाइमा पनि हाम्री आमा छैनन् भन्ने सोच कहिल्यै आएन। कान्छी आमा रुखुमा देवीबाट मोतिराजका दुइटा भाइ जन्मे। अनि छ जना दाजुभाइ बने।

२०४० सालमा टेष्ट परीक्षा दिएर आफन्तकोमा बाजुरा पुगेका बमको चिनजान भयो बाजुरास्थित परिवार नियोजनका अफिसरसँग। जसले सुपरभाइजरको जागिर लगाइदिन्छु भनेर काठमाडौँ ल्याए। यसरी काठमाडौँ पुगेका बम केही दिन तत्कालीन माननीय धर्मदत्त उपाध्यायकहाँ बसे। यो सहरमा धेरै दिन टिक्न नसकेपछि पुनः फर्किए आफ्नै गाउँ। कालिकोट फर्किएपछि बमले सिँचाइ कार्यालयमा मुखियाको जागिर खाए। सुपरभाइजरको जागिर खाए। शिक्षक बने।

२०४७ मा पुनः काठमाडौँ आएर केही दिन उनै धर्मदत्त उपाध्यायकहाँ बसे। अनि विस्तारै लैनकुमार सुब्बाको घरमा भाँडा माझ्ने काम पाए। २०४८ सालमा बडिमालिका मावि रासकोट, कालिकोट पुगे एसएलसी परीक्षा दिन। त्यो वर्ष एसएलसी परीक्षा उत्तीर्ण मात्र गरेनन्, जीवन साथीसमेत भित्र्याए। त्यसपछि पुनः काठमाडौँ आई पाटन क्याम्पस ललितपुरबाट आइए गरे।

२०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका बमले सोही वर्ष तालमोरा... पाइली हान दोरा (दोहरा) बोलको लोकप्रिय डेउडा गीत रेकर्ड गराए। रेडियो नेपालभित्र उनले तितो अनुभव बटुलेको सम्झिन्छन्, ‘रेडियोमा डेउडा गीतलाई वाद्यवादकहरुदेखि थुप्रैले उपेक्षा गर्थे। रेकर्डिङ गर्ने डेट मिले पनि वाद्यवाधकहरु स्टुडियोभित्र नआइदिने। निकै नै चाकडी गर्नुपर्ने। डेउडा गीत त गीतै हैनन्, डेउडा गाउने पनि के को गायक भन्ने खालको बुझाइ थियो। स्वर परीक्षा पास गरेका गायकलाई वर्षमा दुईटा गीत रेकर्ड गर्न दिइन्थ्यो। डेउडा गीतका लागि छुट्टयाइएको डेटमा पनि अरुले नै गीत रेकर्ड गरिदिने। मैले आफ्ना चार वटा गीत शिव शंकरको पहलमा रेकर्ड गर्न पाएँ। उहाँले मलाई ठुलो गुन लगाउनुभयो। त्यसपछि रेडियो नेपाल छिर्न मन लागेन।’

रेडियो नेपालको परिवेशबाट वाक्कदिक्क बनेका बमले गीत रेकर्ड गराउने सपना देख्न छोडिदिए। आर्थिक अभावका कारण बाहिर रेकर्ड गर्न सम्भव थिएन उनका लागि। यिनै कारणले गायन क्षेत्रबाट पलायन भए। त्यसपछिका केही वर्ष पत्रकारिता क्षेत्रमा तल्लीन भए। त्यही रेडियो नेपालको संवाददाता बने। नेपालवाणी, समाचारपत्र, गोरखापत्र संस्थानलगायतमा रिपोर्टर बनेर काम गरे।

ताहाचल क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिए। क्याम्पसका परीक्षामा पास हुँदै गएका उनको जिन्दगीको यात्रामा फेरि पहिरो गयो। २०५२ सालमा बुवाले साथ छोडेर गए। त्यसै वर्ष श्रीमती ‘पोइल’ गइन्। तथापि हार मानेन्।

२०५४ मा विष्णु कुमारीका आँखासँग उनका आँखा जुधे। त्यो जुधाइ गहिरो प्रेममा परिणत हुन गयो। एकदिन उनले ती नयनलाई घरभित्रै भित्र्याए। विष्णुकुमारी सरकारी विद्यालयकी स्थायी शिक्षिका थिइन्। उनकै जागिरको पैसाले उनले भाइहरुलाई पढाउन थाले।

एक छोरा, एक छोरी। सुन्दर परिवार। राम्रैसँग चलिरहेकाे थियो जिन्दगीको यात्रा। एकाएक नियतिले प्रहार गर्यो। १५ वर्षीय छोरो परलोकको यात्रामा निस्कियाे। कान्छी आमाले पनि धर्ती छोडिन्। त्यो पल सम्झेर परेलीमा टिलपिल गरिरहेका आँसुका थोपा लुकाउने प्रयत्न गर्न थाले उनी।

‘कम्ता गाह्रो परेन सम्हालिन। मेडमलाई सम्झाउन सक्ने अवस्था नै थिएन। अनि म त्यत्तिक्कै भनिदिन्थेँ, आज एउटा केटीसँग चिनजान भयो। कस्तो राम्री। कति मायालु...। यति भनेपछि उनी मसँग रिसाउन थाल्थिन्। झगडा गर्थिन्। छोरालाई बिर्सिन्थिन्। केही समयका लागि अन्यत्रै उनको माइन्ड डाइभर्ट गर्न खोजे पनि पुनः छोराको शोकमा आकाश वर्षेझैँ बर्सिरहिन् उनी,’ सुँक्क गर्दै आकाशतिर हेरेर केहीबेर टोलाइरहे मोतिराज।

उनका दाजुभाइ सबैको सहरमा घरजग्गा छ। दाजुभाइबीच प्रेमपूर्ण सम्बन्ध छ। उनको काठमाडौँमा डेराको जिन्दगी चलाइरहेकै छ। गाउँमा श्रीमतीको जागिर चलेकै छ। मोतिराजको सहित्यदेखि समाज सेवासम्मको यात्रा चलेकै छ। तर, वर्षौँ भैसक्यो भारततिर गएको भाइको अत्तोपत्तो केही छैन। जीवनमा आइपर्ने हरेक उल्झनलाई नियति ठानेर सहनशीलताका पाइला चलेकै छन्। जीवनप्रति पनि कुनै गुनासो छैन उनको। तर, अरुका गीत सुन्ने क्रममा उनको मनमा एउटा प्रश्न खेलिरहन्छ रे ‘मैले गर्न सकिनँ’।

‘जीवनमा गिट्टी कुटेँ। बालुवा चालेँ। खानु हण्डर खाएँ। केही मानिनँ। गीत गाउन नपाउँदा भने मन दुखिरह्यो। बाहिर गीत रेकर्ड गर्न सक्ने अवस्था हुँदो हो त म पनि राम्रै गायकको सूचीमा दर्ज भइसकेको हुन्थेँ हुँला,’ विगत सम्झिन्छन् उनी।

आफ्नाहरूले छोडेर जाँदाका ती दिनहरू, बाल्यकालमा खान-लाउनको अभाव, पीडा र संघर्षको कथा सुन्दा लाग्छ, उनले जीवनभर दुःखकै पहाड बोकेर यात्रारत रहे। दुःखका पहाड बोकी दुखको भीरमा पाइला सार्दै अघि बढेका उनले जिन्दगीदेखि कहिल्यै हरेश खाएनन्। बरु त्यो दुःखले गायक बनायो। कवि, लेखक बनायो। र कर्णालीको कला, संस्कृतिका क्षेत्रमा कलम चलाउन सिकायो।

जहाँ हरदम साथ पाइरहेकै छन् जीवनसाथी विष्णुकुमारीको। राजनीति शास्त्रबाट एमए गरेका उनले तीनवटा कविता, एउटा लोकसाहित्य र एउटा जीवनी गरेर पाँचवटा पुस्तक प्रकाशित गरिसकेका छन्।

हिजोआज सामाजिक कार्यमा तल्लीन भइरहेका बमसँग जिन्दगीका कुरा गर्दा भनिदिन्छन्, ‘आफैँसँग पनि विश्वास नहुने भोग्नैपर्ने एउटा नियति त रहेछ आखिर यो जिन्दगी भन्नु पनि।’

अनि गुनगुनाउँछन् वर्षौँअघि आफैँले स्वर दिएको गीतका दुई पक्तिः
को बैरीले चल्लो लैग्यो खोलेसा माउ छैन
शरीरमा सन्चो छैन देखिदो घाउ छैन

प्रकाशित मिति: : 2024-09-01 16:36:00

प्रतिकृया दिनुहोस्