सांगीतिक आकाशमा अरूहरू उडिरहँदा आफू भने सधैँ भुँइमै रहे। धेरैलाई संगीत सागर तारेर पारी पुर्याए उनले। तर आफूचाहिँ वारि नै रहे। संगीतका छालहरूमा न उनी कहिल्यै जोरी खेले, न आकाश छुने महत्वकांक्षामा कहिल्यै लहरिए। मात्रै संगीत साधना गरिरहे जीवनभरि।
जिन्दगीको बाटोमा उनी कहिल्यै दायाँबायाँ लागेनन्, मात्रै संगीतको सिधा बाटोमा हिँडिरहे। हिँडाइरहे। चुपचाप। अर्थात् एक मौन साधक थिए गायक तथा सङ्गीतकार गुरुदेव कामत। सङ्गीतलाई नै जिन्दगी ठानेका उनले बाँचुञ्जेल त्यही सङ्गीतको पूजा, आराधना गरिरहे। आफूकहाँ आउनेलाई सङ्गीतरुपी नदी तारिरहे। साङ्गीतिक डुङ्गा चलाउँदा चलाउँदै यही श्रावण १७ गते हिँडे परलोकको यात्रामा।
उनको यादमा भावुक बनेका कैयौँ मन र नेत्रहरू रसाइरहन्छन्। तिनको अगाडि कसैले प्रसङ्ग उठाउँदा मात्रै पनि विगतका दिनको चर्चा गर्न थाल्दछन्। अतितका पानाहरू आफैँ पल्टिरहन्छन्।
यसरी रसाएका नेत्रसँगै विगत सम्झिरहने उनका शिष्यहरूमध्येका एक हुन्- गायक तथासङ्गीतकार विश्वनाथ झा।
जो हाल नेपाल पुलिस क्लवमा संस्कृति शाखा प्रमुख छन्। सङ्गीतमा डिग्री हासिल गरेका झा विगत सम्झिन्छन्, ‘पुलिस क्लबको साँस्कृतिक गीतहरू रेकर्ड हुँदा (राजाका पालामा) सेमी क्लासिकल र क्लासिकल गीतहरू उहाँले नै कम्पोज गर्नुहुन्थ्यो। मैथिली र भोजपुरी गीतहरू प्राय आफैँंले गाउनु पनि हुन्थ्यो। उहाँसँग सिकाउने कला पनि गजबको थियो। ज्ञानको धरोहर नै भैहाल्नुभयो। मातृभाषाका विषयमा कुराकानी हुन्थ्यो। उहासँग सिक्न जाँदा होस् कि डेरामा भेट्न जाँदा छोटो समयमा सङ्गालेका थुप्रै यादहरूले मस्तिष्कमा डेरा जमाएका छन्। उहाँले शास्त्रीय सङ्गीतको मर्मभन्दा बाहिर गएर गीत गाउनुभएन। उहाँमा चर्चाको मोह कहिल्यै भएन। यतिबेला उहाँको महाप्रस्थानको खबरले दुखित तुल्याएको छ।’
गुरुदेव कामतको नाम र जिन्दगी दुवैको छुट्टाछुट्टै आभा थियो। उनले सबैका लागि गरे आफ्ना लागि केही गरेनन्। जीवनभर सङ्गीत साधनामा तल्लीन रहेर उनले केही कमाए भने त्यही सामाजिक मान मर्यादा कमाए। स्टेजमा प्रस्तुति दिँदा वाह! भन्ने मनहरू कमाए। उनको सम्झनामा आँसु बगाउनेहरू कमाए। एउटा साँघुरो कोठामा फराकिलो र गहिरो मन लिएर जिन्दगीको ऊर्जावान समय व्यतित गरेका कामत स्वाभिमानी स्रष्टा थिए। जसले बाँचुञ्जेल कसैका अघि हात पसारेनन्। कुनै पद प्रतिष्ठाको लोभलालच केही थिएन उनमा। उनी एक ‘फकीर’ जस्तै थिए। घरबार भएका फकिर।
कवि लेखक तथा सञ्चारकर्मी डा. नवराज लम्साल सम्झिन्छन्, ‘रेडियो नेपालमा शास्त्रीय सङ्गीतको कार्यक्रम हुने बेलामा आउनुभएको थियो। केही गीत रेकर्ड पनि गर्नुभयो। उहाँलाई भेट्दा सङ्गीत र साहित्य नजिक भएजस्तो लाग्थ्यो। आजका चर्चित धेरै गायक गायिकाको गुरु कामत शास्त्रीय सङ्गीतको ठूलो घरना नै हो।’
डा. लम्सालका अनुसार कवि कलाकारका दुई धार हुँदा रहेछन्। एउटा व्यवसायिक दुनियाँँमा फड्को मार्ने अर्को साधनाको दुनियाँमा मात्र रमाउने। व्यवसाय प्रवर्द्धनका लागि लोकप्रियताको खोजी गर्नेहरू ठूलाबडा भनिएकाहरूलाई भेट्ने, ठाउँ खोज्ने, नियुक्ति माग्ने जस्ता कार्य गर्दछन्। कामतजस्ता साधनामा मात्रै रमाउनेहरू भोको पेट हुँदा पनि साधनामा तल्लीन रहन्छन्।
यहाँ जसरी भए नि पैसा कमाउनु धनसम्पति जोड्नुलाई सफलता ठान्नेहरू पनि उत्तिकै छन्। तिनका नजरमा गुरुदेवहरू पर्दैनन् होलान्। तिनलाई गुरुदेवहरूले पनि कहिल्यै वास्ता गर्दैनन्। यतिबेला डा. डीपी भण्डारीको भनाइ सम्झिन मन लाग्छ, ‘चाकडी गरेर, नक्कल गरेर सफलता पाउनुभन्दा विपन्न भएर स्वतन्त्रतापूर्वक गीत गाउनुमा धेरै बढी गरिमा छ। सौन्दर्य छ। आनन्द छ।’
डा. भण्डारीले भनेजस्तै सौन्दर्य, आभा र गरिमा बोकेको जिन्दगी बाँचे गुरुदेव कामत पनि। उनी यो धर्तीमा जति दिन बाँचे सानदार ढंगले बाँचे। कुनै मस्तानाझैँ आफ्नै मस्तिमा, आफ्नै ढंगले बाँचे। दिनरात गहिरो साधनामा डुब्नेहरूको जिन्दगी लोभलाग्दो हुन्छ। त्यस्ता स्वाभिमानी र लोभलालचरहित श्रष्टा कसैसँग केही माग्दैनन्। कामतले त उल्टै बिरामी हुँदाका बखत समेत मधेश प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा चार घन्टासम्म प्रस्तुति दिएको र आफूले पाउनुपर्ने पारिश्रमिकवापतको रकमसमेत पाएको कुराले व्यापकता लिएको छ।
जसले बाँचुन्जेल गीतसंगीत मात्र भने। राष्ट्रका लागि काम गरे। थुप्रै चेलाचपेटाहरूलाईसङ्गीत सिकाए। आज उनले सिकाएका मध्येमा कतिपय त सेलिब्रेटीका रुपमा देखापरेका छन्। त्यस्तो व्यक्ति बिमारी भएर मृत्यु शैय्यामा पुग्दासम्म राष्ट्र सञ्चालकलाई दुख्दैन। मधेश प्रञा प्रतिष्ठानले बोलेको पारिश्रमिकता समेत उपलब्ध गराएन भने यो भन्दा निर्लज्जता र अपराध अरु के नै होला र!
संगीतले नैतिकता सिकाउँछ। इमान्दार बनाउँछ। संवेदनशील हृदय भएकाहरू गीतसंगीतको दुनियाँमा आफूलाई चुर्लुम्म डुबाउन चाहन्छन्, ती श्रोता हुन् या सर्जक। यो राष्ट्र चलाउनेहरू सरकारका उच्च ओहोदामा बस्नेहरू संवेदना शून्य प्राय छन्। यदि अलिकति पनि संवेदना हुन्थ्यो भने उपचारका लागि पहल हुन्थ्यो। तर, त्यो हुन सकेन।
निकम्मा सरकारलाई लक्षित गर्दै गुरुदेवको यादमा कवि, गीतकार समालोचक डा. लम्साल बताउँछन्, ‘राज्यसँग आँखा हुँदैन केवल कान मात्र हुँदोरहेछ। जो दौडेर गएर आफ्नो कुरा सुनाउँछ, उसले पाउँछ। गुरुदेव कहिल्यै कतै माग्न जानुभएन।’
गायकसङ्गीतकार विश्वनाथ झाका अनुसार उनी एघार/बाह्र वर्षकै उमेरमा घरबाट भागेर कलकत्ता पुगेका थिए। जहाँ उनले गायन र सङ्गीतका साथै अभिनय कलासमेत सिके। केही वर्षपछि घरफर्किए। जब गाउँमा रामलिला लगाइयो, उनी माइक सामातेर गाउन थाले।
उनको स्वरले सबैलाई चकित तुल्यायो। गाउँघरतिर विस्तारै चिनारी बन्दै जान थाल्यो। केही समय उनले नेपाल र भारतका थुप्रै ठाउँमा रामलिला लाग्दा गाउने, बजाउने र अभिनय गर्ने कार्य गरे। काठमाडौँ आइसकेपछि उनले सङ्गीत पढ्न भारतीय दुतावासको छात्रवृत्ति पाए र पुनः निस्किए भारतको यात्रामा।
‘गायक उदितनारायण र उहाँ दुबै जना समकालीन नै हो। उदित नारायणले छात्रबृति पाएको एक वर्षपछि गुरुदेवले पाउनुभएको हो। भारतमा पनि गुरुदेवले आफ्नो छुट्टै चिनारी बनाइसक्नु भएको थियो। तथापि आफ्नै देशमा गई केही गर्छु भन्ने इरादाका साथ फर्किनुभयो। सकेको गर्नु पनि भयो। तर, दुखको कुरा देशले कुनै वास्ता गरेको देखिएन’, झा भन्छन्।
संगीतमा स्नातकोत्तर तह उत्तीर्ण गरेका, शास्त्रीय गीतसंगीतमा चर्लुम्म भिजेका कामतसँग एक आविष्ट गायक सङ्गीतकारको व्यक्तित्व थियो। अनन्तसित सम्वाद गरिरहे जस्ता देखिने, संवेदना र स्वाभिमानको च्यादर ओढिरहने उनलाई परवाह हुने कुरै भएन कुनै नेता र राजनीतिको।
उनी जति सरल थिए, उति नै जटिल थियो उनको परिवेश। उनी बसेको सहर। सिंहदरबारले कहिल्यै सुनेन उनको नाम। डा. लम्सालले भनेझै चाकडी र चाप्लसीका भाकाले सदा भरिभराउ भैरहने सिंहदरबारसामु हात फैलाउन नेत्र जुधाइरहने खाले स्रष्टा थिएनन् उनी पनि। आफ्नो जीवनको अभिन्न अंश नै साधना ठान्ने गुरुदेवहरूलाई त्यस्ता सिंहदरबारको कुनै वास्ता नै हुँदैन। उनी जस्ता स्रष्टाका लागि सिंहदरबार भन्नु केवल चाकडी, चाप्लुसी,पाखण्डीपन र धुर्तताको नाङ्गो नृत्य देखाउँने आँगन मात्र हो।
उनको प्रतिभालाई चिन्नेहरूका सम्झनामा बास गरिरहेकै छन् र गरिरहने नै छन् कामत। डेउडा गायक तथासङ्गीतकार अन्तराम बिष्ट ती दिनहरू सम्झिँदै सुनाउँछन्, ‘२०६१ ताका पेशल पोख्रेलको ‘भाकाको जीत’ शीर्षकको लेख छापियो हिमाल खवर पत्रिकामा। जहाँ गुरुदेव कामत, उदित नारायण, अन्तराम बिष्ट, शिन्धु मल्ल लगायतका बारेमा लेखिएको थियो। जहाँ उहाँले मैथली र भोजपुरी भाषाका गीतमा पुर्याउनुभएको योगदानको चर्चा थियो। साथै लेखिएको थियो काठमाडौँमा उनको बसाइ र बिहानको नित्य कर्मका बारेमा। उक्त लेख पढिसकेपछि म उहाँलाई खोज्न थालेँ। डोरेमीमा सिकाउनु हुँदोरहेछ। त्यतै सिक्न गएँ शास्त्रीय सङ्गीत। त्यति बेलासम्म मेरा १५ वटा एल्बम प्रकाशित भैसकेका थिए। चर्चाकै कुरा गर्ने हो भने उहाँ निकै चर्चित हुन सक्ने मान्छे हो। शान्त स्वभाव, अनावश्यक नबोल्ने। उहाँमा सिकाउनु पर्छ भन्ने भावना मात्र हुन्थ्यो। मैले २ वर्ष उहाँसँग सिक्ने मौका पाएँ। आफ्नो बारेमा कहिल्यै केही भनेको सुनिनँ। उहाँ नेपाली सँगीत क्षेत्रको एक धरोहर हो। जसले आर्थिक अभावका कारण उपचार पाउन सक्नुभएन भन्ने सुनियो। राज्यले उहाँजस्तो श्रष्टालाई चिन्न नसक्नु विडम्बना मात्रै नभएर निर्लज्जताको पराकाष्टा नै हो।’
भ्रष्टाचार र कमिसनको खेती गरिने मुलुकमा सुनिदैन गुरुदेवहरूको दर्द। चिन्दैनन् राज्य सञ्चालकहरूले यस्ता व्यक्तित्वहरूलाई। हुन त जडहृदय भएकाहरूलाई यस्ता प्रतिभाका बारेमा थाहा नहुनु कुनै नौलो कुरा पनि त होइन। पाषाण मन हुनेहरूलाई के थाहा स्वाभिमान र संवेदनशीलताको महत्व र आनन्दका बारेमा।
गुरुदेव कामतले कुनै पार्टीको झोला बोकेका भए, या त आफैँं राजनीतिमा सक्रिय भएर सांसद, मन्त्री वा अन्य कुनै पद प्राप्त गरेका भए स्वदेशमा त के विदेशमै उपचार गर्ने सुविधा दिन्थ्यो होला राज्यले। एक सज्जन व्यक्तित्व, पवित्र आत्मा छटपटाउन थालेपछि साँझको पाहुनाझैं एकाएक दैलामा आउन बध्य भयो मृत्यु। शायद राम्रा मान्छेहरूको खाचो हुँदो हो उता पनि र त चाडै नै लगिदिदो हो उसले। यसरी आउने मृत्युले लगेर गयो शास्त्रीय सङ्गीतका हस्ती गुरुदेव कामातलाई पनि।
चर्चित गायक उदितनारायण झा र उनी समकालिन थिए। दुबै जना भारतीय दुतावासको छात्रबृत्तिमा भारतमा सङ्गीत सिक्न गएका थिए। कामतले भारतमा आफ्नो लागि ठाउँ खोजेनन्। मात्र सिक्ने ध्येयका साथ तल्लीन रहे र घरदेश फर्किए। भाषाभाषीका गीतप्रति रुचि देखाए। मैथली गीतसङ्गीतको श्रीबृद्धिमा अहम् भूमिका निर्वाह गरे। नेपालमा शास्त्रीय सङ्गीतका क्षेत्रमा आफ्नो नाम स्थापित गरे। उसो त भारतका कतिपय शहरमा पनि उनको गायकीको चर्चा थियो र छ।
यसै सन्दर्भमा गुरुदेवको सम्झना गर्दै वरिष्ठसङ्गीतकार मनराजा नकर्मी बताउँछन्, ‘साधारण परिवारमा जन्मेका साधक जोसँग निकै नै सरल हुनुहुन्थ्यो। भारतमा नाम चलेका कलाकारहरूभन्दा कम थिएनन् र छैनन् हाम्रा केही कलाकारहरू। जसमध्येका एक हुनुहुन्थ्यो गुरुदेव पनि। कयौँपल्ट साङ्गीतिक कार्यक्रममा उहाँसँगै काम गर्ने अवसर जुरेको थियो। उहाँको प्रस्तुतिका बारेमा भन्नलाई मसँग शब्द नै छैनन्। उहाँको जस्तो गला र प्रस्तुति शायद कमैमा होला। जोसँग देशले केही लिन सकेन तर उहाँले आफूले सक्ने जति दिएर जानुभयो।’
त कहिल्यै कसैसित न हात थापे न त कुनै राजनीतिक दलको झण्डा नै बोके। न त कुनै अवसर र कोटाको खानतलास नै गरे। जीवनमा आइपुगेका हरेक सजिला असजिला मोडहरूमा झुमिरहे। झुम्न सिकाइरहे। न भोलिको चिन्ता न त आजको हुकार। न आत्मश्लाघा न कुनै मुखरता। न त कुनै प्रकारको लोभलालच नै। शान्त स्वभावका धनी, दिनरात साधनामा रमाइरहेको एक अर्थपूर्ण नाम थियो गुरुदेव कामत।
यतिखेर सम्झिन मनलाग्छ डेउडा सम्राट चल्ले साईको भनाइ- डेउडा सम्राट चल्ले साई कसैको मलामी बनेर घाट तर्फ गइरहेको बेला बाटो छेउको खेतमा काम गरिरहेकी कुनै महिलाले सोधिछन्– यो मान्छे आज मरेको हो कि हिजो? खासमा त्यो मान्छेको त्यही दिन केही समय अगाडि मात्रै निधन भएको थियो। चल्ले साई उत्तर दिन्छन्– यो मान्छे हिँजै मरेको हो। निकै गहिरो भाव थियो उनको भनाइमा। महिलाले भाव बुझेर टाउको हल्लाइन र चुपचाप हेरिरहिन लाश लगिरहेका मलामीको लस्करलाई। चल्ले साई आफ्नो बाटो लागे। सेती किनारमा पुगेर अरु मलामीले चल्ले साइलाई गाली गरेछन् किन झुटा बोलेको भनेर। तर उनको भनाइको आशय थियो जो मान्छे समाजका लागि उपयोगी हुन सक्दैन त्यो मरेतुल्य नै हो। ऊ मरिसकेको हुन्छ, केवल सास मात्रै फेरिरहन्छ। उसले बाँच्नु र मर्नुमा खासै अन्तर केही हुँदैन।
यस अर्थलाई अझै गहिरिएर मनन् गर्दा गुरुदेव कामत त जीवित नै छन्। उनको पञ्चभूतले बनेको शरीर नासिए पनि उनी बाँचिरहेका छन् कैयौँको सम्झनामा। उनी यतै कतै साङ्गीतिक घुम्तीहरूतिरै छन्।
गुरुदेव शास्त्रीय सङ्गीतको क्षेत्रमा एक जज्वल्यमान नक्षेत्र थिए। इतिहासको घुम्तीभित्र सदाका लागि नाम दर्ज गरेर परलोकको यात्रामा निस्कनेहरूमध्येका एक हुन् उनी पनि। जो नेपाली समाज रहुन्जेल अमर रहने छन्। शास्त्रीय सङ्गीतका क्षेत्रमा होस् वा भाषाभाषीका गीतसङ्गीतको श्रीबृद्धिमा नै किन नहोस् उनले पर्याएको योगदान अतुलनीय छ।
पवित्र आत्मासँगै पवित्र मन र सोच बोकेका एक फकिर थिए उनी। जसको जिन्दगी नै प्रेरणादायी छ। उनले ४० वर्षसम्म काठमाडौँस्थित एक साँघुरो कोठाबाट संसार चियाए। सङ्गीतकै लागि जन्म लिएझैँ लाग्ने कामत काठमाडौँबाट जन्मभूमि (सिरहाको पोखरभिन्डा) फर्किए र निस्किए परलोकको यात्रामा। पवित्र आत्माले शान्ति पाओस्।