जीवनभरि आफूले आफैँलाई ‘गुमनाम’ राखेका नेपाली संगीतका एक साधक चुपचाप ‘ब्रह्मलीन’ भएका छन्।
मिथिलाको उर्बर मौलिक संगीतबाट माथि उठेर नेपाली शास्त्रीय संगीतको साधनामा लीन भएका ‘गुरुदेव कामत’ अन्तत: जीवनको साँधमा विलीन भए।
नेपाली शास्त्रीय संगीतको आकाशमा कामतले साधनाको जुन वासना फिँजाए अन्तत: जीवनसँग लड्दालड्दै उनी मिर्गौलाको एउटा रोगसँग पराजित भए।
त्योबेला काठमाडौँ उतिसारो बाक्लिइसकेको थिएन। अहिलेका जस्ता सडक, सहर र सवारीका ‘कर्कस’ थिएन। काठमाडौँ त्यस्ता साधना र साधकहरूको एउटा पावन भूमि थियो। कामतको ‘सा.रे.ग.म’का सुरिला स्वरहरू यही निश्चल आकाशमा गुञ्जिन्थे। गुजमुज्ज काठमाडौँको एउटा कुनामा गुरुदेव कामतको त्यही संगीत साधनाको एउटा भव्य आसन थियो। जहाँ हजारौँ नेपाली संगीतका ताराहरू चम्किला भएर निस्किए।
नेपाली सांगीतिक आकाशको एउटा त्यस्तै चम्किलो तारा अन्तत: रोगसँग लड्दालड्दै थाकिसकेको थियो। एक्लिएको, आफू आफैँभित्र निसास्सिएर अनि संगीत साधनाको त्यो अगाध प्रेमलाई अंगाल्दै केही दिनअघि उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए- ‘… भोलि गाउँ जाँदैछु, काठमाडौँमा बसेर इलाज गराउन सक्दिनँ, उतै लाहानमा डायलासिस गराउँछु, यहाँ अब शारीरिक, मानसिक र आर्थिक रुपमा एकदमै कमजोर भएर गाउँ जाँदैछु।’
संगीतको साधनाले भरिएका अनि आर्थिकरुपमा जीवनभरि अभावले थिचिएका कामत अन्तत: त्यही रोगसँग लड्दालड्दै यसरी रित्तिएकी अब उनीसँग साधनाको त्यो शक्ति पनि थिएन। केही थिएन शिवाय मुठ्ठीभरको सासबाहेक। त्यही एक मुठ्ठी सास पनि उनले आफ्नै माटोमा बिसाए।
जीवन र मृत्युको संयोग पनि कस्तो, करिब ७२ वर्षअघि आजकै दिन जन्मिएका उनी यही दिन अस्ताए। २०१२ साल साउन १७ गते उनी सिरहाको पोखरभीण्डामा जन्मिएका थिए।
प्रारम्भिक शिक्षा सकेपछि संगीत सिक्न गुरुदेव भारत गएका थिए। शास्त्रीय संगीतका शास्त्रीय शूत्रहरू सिकेर ३० वर्षअघि नेपाल फर्किएका कामतले त्यसपछिका सारा जीवन त्यही सांगीतिक शूत्रसाधनामा बिताए। २०४९ सालमा काठमाडौँ फर्किएका उनी काठमाडौँको बानेश्वरस्थित एउटा पुरानो घरमा साँघुरो कोठा लिएर साधनामा लीन भए। त्यही साँघुरो कोठामा साधनाका वासना लिएर निस्किएका उनका हजारौँ चेलाहरूले नेपाली सांगीतिक आकाश आज पनि सुवासिलो बनाइरहेका छन्।
गुरु कामतको त्यो साधनामा पहिलो पाइला राख्ने एक गायिका हुन् लोचन भट्टराई। जसले कामतको महाप्रस्थानलाई ‘नेपाली सांगीतिक क्षेत्रको एउटा जग भासिएको ठान्छिन्।
उनले २०५२ सालदेखि गुरुदेवसँग संगीत शिक्षा लिन थालेकी थिइन्। ‘म बिहान ६ बजेतिर उहाँसँग शास्त्रीय संगीत सिक्थेँ,’ गायिका भट्टराई सम्झिन्छन्, ‘उहाँको बस्ने साँघुरो एउटा कोठा थियो, त्यही कोठामा संगीत सिकाउनुहुन्थ्यो।’
गुरुदेव नेपाली संगीतकर्मीहरुमा शास्त्रीय संगीतको ज्ञान बाँड्न चाहन्थे। संगीतको जग भनेकै शास्त्रीय संगीत रहेकाले नेपाली संगीतमा यसको ज्ञान अपरिहार्य देख्थे उनी।
फलतः उनले आफ्नो साँघुरो कोठालाई संगीत विद्यालय त बनाए तर उनको यो संगीत विद्यालयलाई व्यवसायिक रुपमा लिएनन्। उनी केबल शास्त्रीय संगीतको ज्ञान बाँड्न मात्रै चाहन्थे। गुरुदेव लोचनका गुरु मात्रै भएनन्, उनका संगीतका सहयात्रीसमेत बनेका थिए।
‘मैले उहाँसँग दुई वर्ष शास्त्रीय संगीत सिकेँ, तर उहाँले आफूले कहिल्यै पनि शूल्क तोकेर लिनुभएन, मैले गुरु दक्षिणाका रुपमा आफू सक्दो रकम दिन्थेँ।’ गुरुदेव र लोचनलाई दुईवटा भोजपुरी गीतमा सँगै आवाज भरेका थिए। शास्त्रीय संगीतसम्बन्धी अपार ज्ञान भएका गुरुदेवले आफ्ना चेलाहरुलाई ज्ञान आर्जनमा प्रेरित गरिरहन्थे। नम्र स्वभावका उनी चेलाहरुप्रति कहिल्यै खरो बनेनन्’, लोचन भन्छिन्, ‘उहाँमा हरेक चेलाहरुले संगीतको ज्ञान राम्रोसँग लिउन् भन्ने चिन्तन थियो, उहाँले संगीतको ज्ञान लिनका लागि हरेक चेलाहरुलाई समान तवरले प्रेरित गर्नुहुन्थ्यो, नजानेको कुरा हाँसी–हाँसी सिकाउने कला उहाँमा थियो।’
केही समयपछि गुरुदेवले बागबजारमा गुरुकुल संगीत पाठशाला खोले। त्यो उनको साधनाको महाविद्यालय त छँदैथियो साथै त्यो उनका लागि जिन्दगी टार्ने जोहो पनि थियो। अहिले यो पाठशाला डिल्ली बजारमा छ।
‘बागबजारमा उहाँले संगीत विद्यालय सुरु गरेपछि नयाँ संगीतकर्मीहरुको अधिक चाप बढ्यो,’ गायिका लोचन भन्छिन्, ‘गुरुदेवले बागबजारमा संगीत विद्यालय खोलेपछि म भने व्यवस्तताका कारण त्यहाँ संगीत सिक्न जान पाइनँ।’
नेपाली शास्त्रीय संगीतका यिनै ‘गुरु’ अर्थात् गुरुदेव कामत अन्तत: बिहीबार अस्ताएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको बिहीबार बिहान करिब ६ बजे जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो।
६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा अतुल्य योगदान छ।
स्कुले जीवनबाटै उनले आफ्नो स्टेज प्रेम झल्काइसकेका थिए। विद्यालयमा हुने स्टेज नाटकबाट चर्चामा आएका कामत पछि भारतको इलाहावाद र पश्चिम बङ्गालबाट शास्त्रीय सङ्गीत सिकेर नेपाल फर्किएका थिए। उनका तीन छोरा एक छोरी छन्।
उनको निधनप्रति सबैजसो संगीतप्रेमीहरूले दु:ख व्यक्त गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्। ‘उहाँको निधनबाट नेपाली शास्त्रीय सङ्गीतको एउटा प्रतिष्ठित व्यक्तित्व गुमाएका छौँ’, उनले भनेका छन्।