प्रेमदेवले साँचिराखेको ‘मादल-प्रेम’

हेमन्त विवश

काठमाडौं
तस्बिर: कर्णलाी उत्सव
तस्बिर: कर्णलाी उत्सव

मान्छेको जीवनमा शरीरका अन्य भागहरुलेझैं अहंम भूमिका निर्वाह गरिहेकै हुन्छन् औंलाहरुले पनि। ती औंला कतै इसारा र खबरदारीका सूचकका रुपमा देखा पर्दछन् भने कतै प्रेम आदर र हार्दिकताको भाव पनि व्यक्त गरिरहेकै हुन्छन्। त्यस्तै कतै सांगीतिक तलाउमा पौडिन सिकाउने सारथी पनि बनिदिन्छन् तिनै औलाहरु। सुर्खेतका ७० वर्षीया प्रेमदेव गिरीका ‌औंलाहरुले मिलाउँदै मादलको ताल पैदा गरिरहेकै छन् एक प्रकारको तरङ्ग। अनि मन्त्रमुग्ध तुल्याइरहेकै छन् कैयौंको मन मस्तिष्कलाई।

नाटक, अभिनय, बाद्यवादन र लोकगीत संकलनमा छुट्छै पहिचान बनाएका छन् उनले। लोभलाग्दो र कलात्मक ढंगले जीवन जीउन सिकेका बहुप्रतिभाका धनि गिरी एक अपवाद पनि हुन्। जसले जीवनमा न कुनै किसिमको महत्वाकांक्षा पाले न त मनमा पलायो रतिभर घमण्ड नै। न आत्मश्लाघा छ, न छ कुनै ग्लानी। दैनिकी चलिरहेकै छ। हँसिलो मुहार र फुर्तिलो ज्यानले कहिल्यै महसुस गरेन थकाइ पनि।

सुर्खेतस्थित हिलेखालीमा जन्मेका गिरीका लागि जीवनको पर्याय नै बनिदियो मादल। जीवनको महत्वपूर्ण उपहारका रुपमा प्राप्त मादलको छुट्टै कथा छ।

बुबा हरिलाल गिरीका ६ जना भाइ सानैमा बितेका थिए। पछि एक जना छोरा पनि बिते। कुलमा जन्मेका बच्चाहरु मर्ने भैरहने। जसलाई कुलमा सन्तान मासिने रोग भन्थे। जसको उपचार पद्धतिका रुपमा चलेका चलन थिए, समाजमा तल्लो जात भनिएकाहरुसँग मितेरी लगाउने। बच्चैदेखि हेला गर्ने। जुठे, ठग्गोजस्ता नाम भिराइदिने आदि। उनी बताउँछन्, ‘म जन्मेपछि बुबाले बादी, दमाइ, विश्वकर्मा र सार्कीसँग मित लगाइदिनु भएको रहेछ। म ठुलो भएपछि फलानो तेरो मित हो भनेर चिनाइ दिनु भयो। मित लगाएपश्चात बादी मितज्यूको घरबाट पाइएको उपहार थियो घरमा राखिएको मादल। त्यस्तै विश्वकर्मा मितज्यूले दिएका बाला हातमा पहिराइएका थिए। अन्नप्रासन भैसकेपछि सार्की मितज्यूबाट पाइएको छालाको कन्दनी त ब्रतवन्ध गर्दाताका मात्रै फुकालेको हुँ।’

यसरी प्राप्त उपहारहरुमध्ये कन्दनीलाई गाउँ-समाजको चलनअनुसार भेटी राखेर कृतज्ञताका साथ उनले पनि ब्रतवन्धका दिन फिर्ता गरे। ती मितज्यूहरुका परिवार र त्यो समुदाय उनको निकटको आधार बन्यो। तर, अरुले जस्तै त्यो समुदायका मानिसले पनि उनलाई हेला गरेर, हेपेर बोलाउँथे। जुन कुरा उनलाई थाहा थिएन। मात्र सोचिरहन्थे किन मान्छेहरु मलाई यसरी हेला गर्छन्? कसैलाई सोध्न पनि सकेका थिएनन्। विगत सम्झिँदै उनी सुनाउँछन, ‘सार्की काकाले हेला गरेझैं गरी ए पिरिम यता आइजा भनेर बोलाउनु हुन्थ्यो।’ केही बुझ्न सकेको थिइनँ। एकदिन तिनै सार्की काकाले भन्नु भयो, ‘तँलाई माया गरेपछि तँ मर्छस् त्यसैले तँलाई हेला गर्नु पर्छ।’ यसरी ब्रतवन्ध नगरुन्जेलसम्म उनलाई कसैले पनि माया देखाएनन्।

तीन वर्षको छँदा नै उनलाई उनकी फुपूले राम्रीकाँडास्थित आफ्नो घरमा लगिन्। फुपाजू गुरुकुलमा पढाउँथे। चार वर्षको भएपछि प्रेमदेव पनि फुपाजुसँगै गुरुकुल जानथाले। छ वर्षको उमेरसम्म उनकै काखमा बसेर कखरा सिके। तत्पश्चात पब्लिक मिडिल स्कुलमा एक कक्षामा भर्ना भए। १५ वर्षको हुँदासम्म वनपाखा, विद्यालय सबैतिर पुगे। प्रायजसो मादल बोकेरै हिँडे।

उनी सम्झिन्छन्, ‘विद्यालयमा शुक्रबारका दिन सांस्कृतिक कार्यक्रम हुन्थ्यो। जहाँ भाइ नाच्न कस्सिन्थे। म बजाउन तम्तयार भैहाल्थेँ। फुपूहरु धेरै जना भएकी हुँदा गाउँका दिदी-बहिनीहरु तिजमा हाम्रै आँगनमा जम्मा हुन्थे। जहाँ म मादल बजाइदिन्थे। रत्यौलीमा समेत मलाई सानो बच्चा न हो भनेर मादल बजाउन लगाउँथे। यसरी बजाउने कलामा निखारता आउँदै गयो।’

लोकगीतमा मादल कसरी बज्छ भन्ने नौलो प्रयोग गरे उनले। लोकलाई मादलका थुप्रै कुरा सिकाए। २०२९ सालसम्म गाउँघरतिर मात्रै नभई मध्य तथा सुदूरपश्चिमेलीले नैपाल भनेर चिन्ने गरेको काठमाडौँले पनि मादल बजाउनेलाई मादले त हुन् भन्थ्यो। दिएको थिएन खासै महत्व। अझैं झ्याउरे र डेउडा गीतलाई त गीत नै ठान्दैन थिए नेपालबासीहरु। उनी सम्झिन्छन्, ‘२०२९ सालमा चौध अञ्चल नृत्य प्रतियोगितामा भेरी अञ्चलबाट गएको हाम्रो टिम प्रथम भयो। जहाँ मगरे झ्याउरे प्रस्तुत गरेका थियौं। मादल यसरी पनि बज्छ भन्ने कुरा देखाउने अवसर पायौं। सिगारु टप्पाको त्यो गीतले जुन स्थान लियो त्यसपछि गायक-गायिकाहरु पनि प्रभावित हुन थाले।’

त्यसै सालदेखि रेडियो नेपालले लोकगीत प्रतियोगिताको आयोजना गरेको थियो। त्यहाँ पनि उनको समूह प्रथम हुन गई स्वर्ण पदक प्राप्त गर्न सफल भयो। त्यतिबेला सुर्खेतबाट काठमाडौं आइपुगेको उक्त टिममा बालकृष्ण मानन्धर संरक्षक थिए भने टोली प्रमुखमा थिए भिमबहादुर कार्की। गायन र नृत्यमा थिइन विमला गन्धर्व। उक्त टोलीमा बाद्यवादनको जिम्मा पाएका थिए गिरीले। टोलीमा अन्य कलाकार थिए, टेकराज भारती र गोपाल बस्नेत। जहाँ गिरीको मादल बजाउने कला देखेर काठमाडौं तीनछक मात्र परेन सांस्कृतिक संस्थानका हाकिमले विमला गन्धर्व र प्रेमदेवलाई संस्थानमा जागिर खानसमेत अनुरोध गरे।

जिन्दगीका घुम्तीहरुमा गिरीले महत्वपूर्ण निर्णय लिनु पर्ने कयौं क्षणहरु आए। जहाँ उनले मनले ठम्याएको निर्णय सजिलै गरिदिए। २०२३ सालमा बुबा गुमाएर परिवारको जिम्मेवारी सम्हालिरहेका उनको २०२९ साल माघ २० गतेदेखि एसएलसी परीक्षा थियो। माघ २४ गते नृत्य प्रतियोगितामा भाग लिन काठमाडौं जानुपर्ने भएपछि उनले एसएलसी परीक्षा नै छोडिदिएका थिए।

२०२९ सालदेखि सांस्कृतिक संस्थानमा बाद्यवादकका रुपमा जागिरे बनेका गिरीले त्यसपछि कहिल्यै समय निकाल्न सकेनन् एसएलसी परीक्षाका लागि।

उनले संगीत र अभिनय कर्मलाई निरन्तरता दिइरहे। १४ वर्षको उमेरमा सुर्खेतमै नाटकमा अभिनय गर्ने मौका पाइसकेका गिरीले संस्थानले मञ्चन गरेको पहिलो नाटक ‘हरिशचन्द्र’मा कुशलतापूर्वक बटुवाको भूमिका निभाए। त्यसपछि थुप्रै नाटकमा अभियन गरिरहे।

०४१ सालमा घरायसी कारणले गर्दा उक्त करारको जागिर छोडी जन्मथलो सुर्खेत फर्केका गिरी घरव्यवहार मिलाएर ०४३ सालमा पुनः फर्के काठमाडौं। यसपटक पनि सांस्कृतिक संस्थानमा जागिरे बने। तर, यसपटक उनले तीन महिनापछि घर फर्किने सोच बनाए। संयोगवश त्यतिबेलै भेट भयो नारायण रायमाझी, पाण्डव सुनुवारलगायत रेडियो नेपालका कलाकर्मीहरुसँग। रेडियो नेपाल उनका लागि नौलो थिएन। उनका कैयौं गीत रेडियोमा रेकर्ड भैसकेका थिए। अगाडिदेखि नै आउनेजाने क्रम चलिरहन्थ्यो। पाण्डव सुनुवारले उनी सुर्खेत फर्किन थालेको चाल पाएपछि सँगैबसेर रेडियोमा काम गर्न अनुरोध गरिहाले। तिनताका पाण्डव सुनुवारले रेडियो नेपालमा ‘रोधी, प्रतिभा साँझ, चौतारी’ कार्यक्रम चलाउँथे। त्यसपछि गिरीले अढाइ वर्ष रेडियो नेपालमा टेक बेसिसमा मादल बजाउने काम गरे।

छिटो छरितो र मनमोहक ढंगले उनले मादल बजाएको देखेर कैयौंले बजाउन सिके। उतिबेला पूर्वबाट गएका सुन्दर श्रेष्ठ र पश्चिमबाट गएका उनले सँगै मादल बजाउँदा काठमाडौंको माहोल नै अर्कै बनिदिन्थ्यो।

बाल्यकालमै बुबा गुमाएका गिरीले सुरुमा भाइहरु सम्हाल्नु पर्ने थियो भने पछिल्लो समय छोराछोरी सम्हाल्नु पर्ने भयो। ज्यालादारी जागिरले जिन्दगी कटाउन पनि कहाँ सजिलो थियो र। २०४५ सालमा सम्राटहरुको सहर छोडी उनी हानिए आफ्नै गृह जिल्ला सुर्खेततिर। २०४६ सालदेखि ०५८ सालसम्म उनले इगर ब्रिज माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत संगीत शिक्षक बनेर काम गरे।

१९९० सालदेखि नै रंगमञ्च बनाएर नाटक देखाउने परम्परा चलिसकेको थियो सुर्खेतमा। २००१ सालमा केही अग्रजहरुले सार्वजनिक खुला ठाउँमा मञ्च बनाएर नाटक देखाउन थाले। त्यही परम्परालाई निरन्तरता दिनेक्रममा २०२५ सालमा दसैंको बेला उनकै गाउँमा ‘सौतेनी आमाको छोरा’ शीर्षक नाटक देखाइयो। जसमा उनले छोराको भूमिकाका साथ  पहिलो पटक रंगमञ्चमा पाइला टेक्ने अवसर पाएका थिए। ५०को दशकमा उनकै संरक्षकत्वमा बागीना समूह, सुर्खेत गठन हुन गयो। संगीतनाट्य क्षेत्रमा पुनः जुर्मुरायो सुर्खेत। जुन समूह अहिले पनि सक्रिय छ।

बादी समुदायका मितबाट उपहार स्वरुप प्राप्त मादल बाल्यकालको खेलौना हुँदै प्रेमदेवलाई चिनाउने आधार बन्न पुग्यो। जीवनकै चिनारी बन्यो। गीतसंगीत र नाट्य विधामा उनको योगदानको जति प्रसंसा गरे पनि कमै हुन्छ। प्रेरणादायी जीवन व्यतित गरिरहेका प्रेमदेवले मध्य तथा सुदूरपश्चिमका डेउडा गीतहरुलाई मूलधारमा ल्याउन जुन भूमिका निर्वाह गरे त्यो आफैंमा स्तुत्य छ।

२०३० सालअघि डेउडा गायकका रुपमा आफूलाई चिनाउन थालेका थिए कर्णालीबाट जुम्लाका महाशंकर देवकोटा र सेतीबाट बझाङ्गका परिमल स्नेहीले। डेउडा गीतलाई नेपालले कुनै महत्व दिएको थिएन। प्रेमदेवले सैयौं लोक भाका र गीतहरु संकलन गरे। चर्चाको शिखरमा रहेका मूलधारका गायक गायिकालाई गाउन लगाएर मध्य तथा सुदूरपश्चिमको चिनारी पस्के। डेउडा गीतलाई मूलधारमा ल्याउन अहंम भूमिका निर्वाह गरे।

२०३१ सालमा नलखोला पारि .....फूलमाया रेलैमा र रिमझिम पानी सोल्टी बेइमानी बोलका झ्याउरे गीत रेकर्ड गराएर संकलनको ढोका खोलेका गिरीले २०३२ मा हिरण्ये भोजपुरे, कविता आले, गणेश रसिक र उर्मिला श्रेष्ठको स्वरमा रेडियो नेपालमा छ्याम्म-छ्याम्म बोलको डेउडा गीत रेकर्ड गराए। गीत रेकर्डिङको कुरा गर्दा सम्झिन्छन् उनी, ‘त्यतिबेला डेउडा गीत रेकर्ड गर्न मान्दैन थिए। त्यो समयमा भाषाभाषीका गीत पनि थिएनन्। एकदिन मैले कुमार बस्नेतसँग भनेँ, ‘दाइ, त्यत्रो नाम कमाउनु भा छ। भोलिपर्सी हाम्रो गीत गायो भनी गुन माल्नान। पश्चिमको गीत पनि गाइदिए हुन्थ्यो नि। कुमार बस्नेतले  अनुरोधलाई स्विकारे र मेरै संकलनका यी गीतमा आवाज दिए।

फलाम खानीका साय्य कल्ले साचिराखेको हो (२०३४ साल) 
चिर्पा दाउरा बाल्पा आगो.... गलबन्दीमा रातो धागो (बस्नेत/गणेश रसिक, २०३५)
क्याट्ट किर्किट्टीका ट्याम्मै....... बैजु घन्काउ मादलु (बस्नेत/राम थापा, २०३५) 
साइलाई सम्झी रुन्थेँ म कत्तिको .....(बस्नेत/तारा थापा, २०३६)

सिन्की गाजलु, सुर्खेतमा बुलबुले ताल, तिरिरि पियारी उज्यालो भयो भाले बास्यो पियारी डाँडैमा घाम लाग्यो, हाँस्ने, खेल्ने मनैमा थियो, नैर पानी धारा आउने, हाँसौंला/खेलौंलालगायत उनको संकलनमा रहेका थुप्रै चर्चित गीतहरु छन्।

वि.सं. ०३१ देखि ०४५ सालसम्म उनका संकलनका गीत गाउनेहरुको नाम लिनु पर्दा लामै सूची तयार हुन जान्छ। केही गायकले उनलाई थाहपत्तै नदिएर संकलकमा समेत आफ्नै नाम राखेर उनका रेकर्डिङ भैसकेका गीत चोरेर गाएका छन्। तथापि, उनले कुनै गुनासो गरेनन्। उल्टै भनिदिए, ‘लोकका गीत हुन्। गाउँ-गाउँमा पुगी संकलन गरेको थिएँ। म हल्करामात्र न हुँ। कसैले मेरै हो भनेर गाउछन र सुखी हुन्छन् भने गाउन् केही छैन।’

उदार हृदय भएका एक फकिर हुन् उनी। जोसँग न कसैप्रति गुनासो छ न त छ कुनै किसिमको लोभ, लालच र कसैप्रतिको आश भरोशा। कर्ममा विश्वास गर्ने गिरी एकोहोरो लागिरहेकै छन् आफ्नो कर्म क्षेत्रमा। आज पनि सुर्खेतस्थित इन्टरनेसनल कोअपरेटिभ एकेडेमीका विद्यार्थीहरुलाई संगीत सिकाइरहेका छन्। गीत संकलन गरिरहेका छन्। नाटकमा अभिनय गरिरहेकै छन्। मादलकै कुरा गर्दा सजिलै भनिदिन्छन, ‘लगातार तीन चार घन्टासम्म अझैँ पनि बजाउन सक्छु।’

उदार सोचका धनी गिरी विनयी, सरल र मायालु छन्। उनी सजीव निर्जीव सबैलाई उत्तिकै प्रेम गर्छन्। भावुक मनमा तरङ्ग पैदा गरिरहन्छन्। गीत संगीतका क्षेत्रमा अथक यात्री बनेर यात्रारत गिरी लोक वाङमयका क्षेत्रमा सुवास छरिरहेका छन्। गाउँ, समाज र राष्ट्रमा आफ्नो नामलाई सार्थक तुल्याएका छन्।

प्रकाशित मिति: : 2024-01-07 18:20:00

प्रतिकृया दिनुहोस्