सुजाता कोइराला बुबा गिरिजाप्रसाद कोइरालाको पेरिफेरिमा रहेर नेपाली राजनीतिमा उदाइन्। र, शक्ति अभ्यासमा केन्द्रित भइन्। शक्तिको रुचि बढ्दा उनले आफूलाई अब्बल महिलाको रुपमा उभ्याउने कोशिश गरिन्।
शक्तिको आडमै उपप्रधान तथा परराष्ट्रमन्त्री बनिन्। उक्त पद बुबा गिरिजाको कारण पाएको भन्नेको कमी छैन। तर, उनले जुन पद हासिल गरिन्, त्यसले उनलाई काँग्रेस राजनीतिमा स्थापित गरायो। समयसँगै सुजाताले बलियो पञ्जा फिँजाइन्। ‘सुजाता दिदी’ भन्दै हिँड्नेहरूको लावालस्कर बढ्दै गयो। उनी सुजाता ‘दी’ ले चर्चित बनिन्।
देशको राजनीति पिता गिरिजाको वरिपरि रहँदा उनी शक्तिलाई पुज्नेको केन्द्रबिन्दुमा थिइन्। उनको अघिपछि हिँड्नेको हुल हुन्थ्यो। उनी गिरिजाकी एक्ली छोरी थिइन्। बुबाको निधनसँगै सुजाताको शक्ति क्षय हुँदै गयो। उनका अघिपछि हिँड्ने भिड हराउँदै गयो। उनी एक्ली एक्ली भइन्। सुजाता ‘दी’ भन्दै हिँड्ने हुल अर्को शक्तिशालीको पछि कुद्न थालिसकेको थियो।
मान्छे शक्तिकै पछि कुद्ने जात न हो। सुजाता बिरामी परिन्। उनलाई क्यान्सर भयो। उपचारमा लाग्दा उनले सधैँ व्यस्त हुने राजनीतिक भेटघाटलाई कम गरिन्। कार्यकर्ताको आवतजावत पनि कम भयो। उनी धेरैजसाे घरमा नै आराम गर्न थालिन्। कार्यक्रमहरुमा कमै देखिन्थिन्।
यसै महिना सुजाता दाजु शेखर कोइरालाको सचिवालयमा देखापरिन्। उनी आउनुअघि नै कार्यकर्ताले सचिवालय भरिएको थियो। उनी आउनुको कारण १५औँ महाधिवेशनमा दाजु शेखरसँग मिलेर जाने उदघोष गर्नु थियो। दाजुबहिनी सँगै बसेर कार्यकर्तासँग वाचा गरे- हामी मिलेर जान्छौँ। सुजाताले शशांकलाई पनि आफूहरुसँगै ल्याउने वाचा गरिन्।
१४औँ महाधिवेशन अघि पनि वाचाहरु भएका थिए। तीन कोइराला एक भएर जाने पटक पटक समाचार बने। तीन जना (शेखर, सुजाता र शंशाक)ले ‘मिलेरै जान्छौँ एक मात्रै सभापतिको उमेदवार हुन्छौँ’ भनेका थिए। तर, समयक्रमसँगै तीनै जना एकै ठाउँमा रहन सकेनन्। पार्टी भित्रका या बाहिरी कुन शक्तिले मिल्न दिएन त्यो खुलिसकेकै छ।
सभापतिमा एक मात्रै उम्मेदवार त भए तर सुजाता उपसभापतिमा उठिन्, शशांक केन्द्रीय सदस्यमा उठे। दुई कोइराला पराजित भए भने शंशाक केन्द्रीय सदस्यमा विजयी भए। फेरि काँग्रेसमा १५औँ महाधिवेशनको चर्चा सुरु भएको छ। सो चर्चासँगै कोइराला एकताको प्रयास सुरु भएको छ।
तीन कोइराला मिलाउन काँग्रेसका नेता कार्यकर्ता लागेका छन्। काँग्रेसका पुराना नेताहरुलाई कोइरालाहरू मिले मात्रै काँग्रेसको ‘साख’ जोगिने विश्वास छ। साउनकै सुरुवातमा काठमडौँमा सुजाता प्रमुख अतिथि हुने एक कार्यक्रम आयोजना गरिएको थियो। उनी साधारण मानिस जस्तै गरी कार्यक्रममा देखिइन्।
उनलाई खादा माला लगाउने भिड थिएन। न उनको अघिपछि लाग्ने लावालस्कर नै। न सुजात दिदी जिन्दावाद! भन्ने हुल नै थियो। काँग्रेसमा देखिने विरलै दृश्य थियो त्यहाँ। सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्र बहादुर थापाले सुजातालाई स्वागत गरे। कार्यक्रम सुरु नभएकाले उनी कुर्सीमा बसिन्। नेता कार्यकर्ताले उनलाई घेरे।
उमेरले उनी सात दशक नजिक होलिन्। तर, नामैले सबैलाई चिन्थिन्। ‘ए भाइ तिमी पनि आएका छौ?,’ उनी सोधिरहेकी थिइन्। साधारण जस्ता देखिने कार्यकर्तासँग उनी मज्जाले हाँसेर बोलिरहेकी थिइन्। त्यहाँको दृश्यले हाइफाइ गर्नेहरुले पार्टी कब्जा गरेको काँग्रेसमा पनि यस्तो हुन्छ र भन्ने लाग्थ्यो।
उनलाई लुगा कपडाले केही फरक परेकै थिएन। सुकिला मुकिलाको पार्टी भनेर चिनिने काँग्रेसमा तिनीहरु अहिलेको समयमा अपवाद थिए। तर वीपीका सच्चा अनुयायीहरु तिनीहरु नै थिए। सुजाता कुनै पार्टीको कार्यक्रममा हैन, माइत आएकीझैँ लाग्थ्यो। सबैले उनलाई दिदी भनिरहेका थिए। फोटो खिचिरहेका थिए। पुराना गफ गरिहेका थिए। काँग्रेसको चिन्ता र चासो त छँदैथियो।
लामो समयपछि कार्यकर्ताको भिडमा आफूलाई पाउँदा उनी खुशी देखिन्थिन्। अझ भनौँ खुशी उनको मुहारमा छरपष्ट देखिन्थ्यो। उनले धेरैसँगको फोटो आफ्नै मोबाइलबाट लिइन्। कता कता उनमा गिरिजाप्रसादको झझल्को देखिन्थ्यो। कार्यक्रम सुरु भएपछि उनलाई मञ्चमा लगियो। करिब ५ सय नेता कार्यकर्ताहरु माझ आफूलाई उभ्याउन पाउँदा उनी दंग थिइन्।
धेरै वक्ता थिएनन्। जो थिए, उनीहरु काँग्रेस हाँक्ने नेताहरू थिए। नेताहरूले काँग्रेस पार्टीमाथि आक्रोश पोख्दा उनी पनि आक्रोशित हुन्थिन्। चिन्तित देखिन्थिन्। कसरी पार्टीलाई पुरानो अवस्थामा फर्काउने चिन्तामा भए जस्तो लाग्थ्यो।
जब गिरिजा, वीपी र शेखरको नाम कार्यकर्ताले लिन्थे, उनको मुहार उज्यालिन्थे। आँखा रसिला देखिन्थे। क्षणभरमै आँसु भरिन्थे। उनले आफ्ना पिता पुर्खाले बनाएको पार्टी अहिलेको अवस्थामा पुग्यो भनेर दुख मनाउ गरिन्।
सायद आफ्नो सुखद् बाल्यकाल सम्झिइन्। उनको मुहारका संकेतहरू परिवर्तन भइरहन्थे। उनले बेल्दै गर्दा १४औँ महाधिवेशनमा दाजु शेखरलाई सहयोग नगरेर गल्ती गरेको स्वीकारिन्। १४औँ महाधिवेशनमा उनी प्रकाशमान सिंहको उपसभापति भएर निर्वाचन लडेकी थिइन्।
गणेशमान र गिरिजाले पार्टीलाई सहकार्यबाट अगाडि बढाएको भन्दै उनका छोराछोरी मिलेर अघि बढेको उनीहरुले बताएका थिए। तर उनीहरुले सफलता पाएनन्। महाधिवेशन भएको करिब तीन वर्षपछि उनले काँग्रेस नेतृत्व कोइराला परिवारबाट टाढा गएकोमा सार्वजनिक रुपमा दुखेसो पोखिन्। पहिला गरेको निर्णयहरूमा पश्चाताप गरिन्। जसरी नि कोइराला परिवारमा नेतृत्व पर्खाउने बताइन्।
१५औँ महाधिवेशनमा कुनै पद नलिइ दाजु शेखरलाई सभापति बनाउने अभियानमा उनी होमिएको बताइन्। त्यसैका लागि प्रत्येक हप्ता उनी शेखरको सचिवालयमा बसेर कार्यकर्ताहरु भेट्छिन्। कुरा सुन्छिन्। शेखरलाई सभापति बनाउन उनले आफूले मात्रै संकल्प गरिनन्, कार्यकर्तालाई पनि आह्वान गरिन्। त्यही मुद्दा लिएर कार्यकर्तामाझ जिल्ला जिल्ला पुग्ने बताइन्।
उनलाई एउटा कुराले निकै सताउने बताइन्। ‘सर्वसाधारणले तपाईंले बुबाहरूले ल्याएको प्रजातन्त्र यही हो’ भन्दै प्रश्न गर्दा उनी वाक्क हुन्छिन्।
‘तपाईंको बुबाहरूले अहिलेको अवस्था देखाउन १९ वर्ष जेल बसेर प्रजातन्त्र ल्याएको हो’भन्दा उनीसँग केही जवाफ हुन्न। ‘गणतन्त्रको शासनमा भ्रष्टाचार, घुसखोरी, बेतिथि, निराशामात्रै छ म के भनेर उतर दिउँ’, उनी निराश हुँदै भन्छिन्।
वीपीले सबै नेपालीको समृद्धिको लागि राणाशासन र पञ्चायतविरुद्ध लडेका थिए। उनका बुबाले ०४६ र ०६२/६३को जनआन्दोलन हाँकेका थिए। उनीहरूले ल्याएको प्रजातन्त्र र गणतन्त्रले तपाईं हामीले चाहेको कुरा बोल्न लेख्न पाएका छौँ। तर उनीहरूले जनतालाई सुख दिन देखेको सपना भने कतै धुमिल भएको छ।
युवाहरु पलायन भएकोमा पनि सुजातले चिन्ता व्यक्त गरिन्। युवाहरूलाई देशले सपना देखाउनै नसकेको उनको तर्क छ। ‘यो गर्नुपर्ने काँग्रेसले हो नि तर काँग्रेस कहाँ छ? कुन अवस्थामा छ?’, उनी प्रश्न गर्छिन्। उनले १४औँ महाधिवेशनमा परिवार विघटित हुँदाको पीडा अहिले जनताले पाइरहेको बताइन्। काँग्रेसीले पाइरहेको बताइन्। बुबाहरुले देश विकासको सुन्दर सपना देखेको र त्यसकै लागि जीवनभर लडेको उनले सम्झिइन्।
वीपी बुबाको राजनीतिक जीवनमा परिवाले साथ दिएको सम्झँदै उनले अब शेखरले त्यो साथ पाउने उद्घोष गरिन्। त्यसका लागि सबै परिवारसँग छलफल गरिरहेको बताइन्। सपरिवार एक हुने संकल्प गरिन्।
नेपाली राजनीतिमा नेपाली काँग्रेसमा कोइराला परिवारको नाम श्रदाले लिइन्छ। तर, गिरिजा प्रसाद र सुजाताले गर्दा काँग्रेस बदनाम भएको तर्क गर्नेहरु पनि छन्। त्यतिबेला भन्दा अहिले काँग्रेस झनै कमजोर भएको छ। गुण्डागर्दी, पैसावाल, डन, उद्योगी, व्यापारीहरूले पार्टी कब्जा गरेका छन्। वीपीले देखेको समाजवाद अक्षरमा मात्रै सीमित छ।
आफूमाथि यसअघि लागेका दागहरूलाई मेटाउँदै कमजोर भएको पार्टीको अस्तित्व उठाउने संकल्पमा सुजाता छिन्। उनी परिवारमात्रै एक गराउँदै छैनन् काँग्रेस र देश एक बनाउने अभियानमा छिन्। त्यो सपना र संकल्प उनको मुहारमा स्पष्ट देखिन्छ। हेरौँ उनको अभियान कति सफल विफल हुन्छ?