‘नरेन्द्र दाइ’ उपन्यासले मनोवैज्ञानिक धारलाई जबर्जस्त उछालेको सेरोफेरोमा म फ्रायड पढ्न रुचाउने ब्यक्ति हुँ। जो बिपी कोइरालाको उपल्लो स्तरको रचना पनि हो।
लेभी स्ट्रसले कतै भनेका छन्, ‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रुपमा लिन सक्नुपर्छ।’ हो बिपी कोइरालामा उति नै बेला समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो।
लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री थिए।
सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्था नभएर यो त विचारहरुको उत्पादन पो हो त!
तर, हाम्रो देशमा विभिन्न कारणले सामाजिक संरचना यतिबेला लगभग तङ्गभङ्ग अवस्थामा पुगेका छन्।
यति लेख्दै गर्दा मलाई विश्वेश्वरप्रसाद कोइराला (बिपी कोइराला)को सम्झना आउँछ। त्यो किन आउँछ भने मेरो पुस्ताले भौतिक रुपमा त देख्न पाएनौं तर सामाजिक संरचनामा उनको विचारलाई हामीले पढ्यौं। हाम्रा पुस्ताले कोइरालाका केही भिडियो अन्तरवार्ता, लिखित दस्तावेज, पुस्तक र भाषण मात्रै देख्न पाएका हौं। यसैबाट अनुमान लगाउने कोसिस मात्रै हो आजको सन्दर्भ।
प्रजातन्त्रको सुरुवाती स्थापनाका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री भए उनी। मितिका हिसाबले आज उनै बिपी कोइरालाको ४२औं स्मृति दिवस हो।
बिपी कोइरालाले अख्तियार गरेको मेलमिलापको नीति हाम्रो समाजको मियो हो। कुनै कालखण्डमा त्यो राजनीतिक धरातल पनि रह्यो र रहि पनि रहनेछ। तर, अहिलेको राजनीतिक सौदाबाजीमा मेलमिलापको विषय समाजबाट धेरै पर धकेलिएको महसुस हुन्छ। यति नै बेला फेरि बिपीको विचार खड्केको आभास हुन्छ। यसो हुनु फेरि अहिलेको समाजको उपज हो।
बिपी कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उनको दिमागी संरचनामा जन्मेका विचार थिए अनि आवश्यकता पनि त्यही थियो। ती विचारहरूले उनको उच्च कोटीको दिमागी संरचनालाई प्रतिविम्बित गर्छन्।
अस्तित्ववादी नेता कोइराला भावना शून्य विचारका पक्षपाति भने थिएनन्। कोइरालाका लिखित दस्तावेजलाई केलाउने हो भने यो सहजै बुझ्न पनि सकिन्छ। बाँच्नका लागि दर्शन आवश्यक पर्छ भन्ने मान्यता राख्ने कोइरालाले मर्नका लागि दर्शनको कुनै उपयोगिता नरहने विचार अघि सारेका थिए। त्यही विश्वासका साथ राजनीतिलाई जीवनको अभिन्न पाटोका रुपमा अघि बढाए।
समाजवादी विचारका एक प्रणेता थिए र हुन, कोइराला। लामो समय भारतमा निर्वासन जीवन बिताएका कोइराला त्यहाँ अँग्रेजविरुद्धको भारत छोडो आन्दोलनमा समेत सक्रिय रहे। त्यही पृष्ठभूमिले उनलाई प्रजातन्त्र स्थापनका लागि बल पनि मिल्यो। तर, उनको समाजवादी उचाइका अगाडि कतिपय भारतीय नेतृत्व इर्ष्या पनि गर्दथ्यो।
नेपालमा चलिरहेको जहानीया राणा शासनकाविरुद्ध उनको भूमिका एउटा सुनौलो इतिहास बनेर दर्ज छ। प्रजातन्त्रको स्थापनाका लागि जनस्तरबाट क्रान्ति आवश्यक भएको ठहरसहित कोइराला अघि बढेका थिए। तर, क्रान्ति गर्दा हिंसाको बाटो सजिलो हुने भएपनि कोइराला हिंसाको बाटो अंगालेर क्रान्ति नगर्ने मान्यता बेला मौकामा मन खोलेर अघि सार्दथे।
राजनीतिक बन्दीका रुपमा लामो समय जेलजीवन बिताएका कोइरालाको लेखनमा सिग्मडं फ्रायडको प्रभाव झल्किन्छ। बिपी कोइरालाले नेपाली समाजका लागि देखेको एउटा मात्रै सपना समाजवाद थियो।
फ्रायडको पुस्तक ‘इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि ‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्ब नै सपना हो।’ हो, बिपी कोइरालाले पनि नेपाली समाजका लागि देखेको सपना सायद यस्तै थियो। अर्थात् समाजवाद।
फ्रायड र कोइरालाको लक्ष्य फरक भएपनि परिस्थिति उस्तै-उस्तै थियो। हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नु पर्ने अवस्था आएको थियो। यता राणा र राजाहरुको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नु पर्यो। लक्ष्य फरक-फरक र परिवेश अलग भएपनि फ्रायड र कोइरालाबीच केही समानता पनि पाएँ मैले। जीवनको उत्तरार्धमा दुवै क्यान्सर पीडित पनि थिए।
मैले बिपी कोइरालाले लेखेको कतै पढेको थिएँ, ‘राजनीति चारैतीरबाट बन्द हुन्छ तर कला चारैतर्फ खुल्ला।’ निर्वासनका दौरान सायद त्यो अनुभूति आयो होला भन्ने म अनुमान लगाउँछु। सन् १९३४ देखि भारतीय राष्ट्रिय काँग्रेसमा आवद्ध थिए। दार्जिलिङ्गमा वकालत गर्दै बिहारमा उनी राजनीति गतिविधिमा सक्रिय थिए। सन् १९४२-४४ ताका ब्रिटिस सरकारले कोइरालालाई समेत फौजमा जबरजस्ती भर्ना गराएको थियो। जेलमुक्त भएर फर्किएपछि आफ्ना समर्थकहरुका साथमा कोइरालाले काँग्रेस पार्टीको विउ रोपेका थिए। वि.सं. १९८८मा ब्रिटिसले कैद गरेर महिनौ राख्यो।
सन् १९५० मा एसियन सोसलिष्ट एशोसिएसन स्थापना गर्दा कोइराला प्रेसिडेन्ट भए। सोसलिष्ट एसियाका समाजवादी राजनीतिक दलहरुकाे सन् १९५३मा बर्माको यांगुनमा पहिलो एसियन सोसालिष्ट सम्मेलनसमेत आयोजन भयो। त्यो सम्मेलनले एसियन विशेषताको समाजवाद शीर्षकमा प्रस्ताव पारित गरायो। सोसलिष्ट इण्टरनेशनलको अध्यक्ष भएका कोइरालाको सम्बन्ध विश्वस्तरमा चर्चामा रह्यो।
सैद्धान्तिकरुपमा साम्यवादमा प्रजातन्त्र थप्यो भने समाजवाद हुन्छ अनि समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ भनेर कोइरालाले सहज भाषामा आफ्ना समर्थकहरुलाई वणारसमा छँदा बुझाउने गर्दथे।
मेरो हाईपोथेसिस नै भन्छु, भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरुबाट पनि थिचोमिचो सहनु पर्दा उनमा त्यो विचार आयो होला। त्यसैले उनले जीवनको अर्को बाटो पनि पैलाए। त्यो थियो साहित्य।
मलाई फेरि कतै पढेको सम्झना आयो कोइराला सानै उमेरदेखि पश्चिमा जगतका पुस्तक खुबै रुचिका साथ पढ्ने गर्थे भन्ने कुरा। अध्ययनले नै मानिसको ब्यक्तित्वलाई निखार्छ भनेको साँच्चिकै हो भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन कोइराला।
बिपी कोइरालाका साहित्यिक कृतिहरु श्वेत भैरवी, नरेन्द्र दाइ, सुम्निमा, तीन घुम्ती, दोषी चस्मा, जेल जर्नल र आत्मकथा चर्चित छन्। तर, उनको हिन्दी लघुकथा ‘वहा’मा गजबको सरलता छ। प्रेम चन्द जो हिन्दुस्तानका चर्चित ब्यक्तित्व हुन, उनकै पत्रिका हंसमा कोइरालाको लघुकथा हिन्दी भाषमा पहिलोपटक प्रकाशित भयो। यता शारदा पत्रिकामा प्रकाशन भएको पहिलो रचना ‘चन्द्रवदन’ थियो।
तर, बिडम्बना नै लेख्नुपर्छ कोइराला संस्थापक रहेको नेपाली काँग्रेस यतिबेला गन्तव्यविहीन पार्टीझैं गठबन्धनमा मुर्झाउनु परेको छ।
नेपालमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका जननायक कोइरालासहितका मूर्धन्य ब्यक्तित्वहरुको योगदानमा खुलेको देशकै पुरानो राजनीतिक दल यतिबेला नेपाली समाजको ऐना बन्न सकिरहेको छैन।
प्रजातन्त्रमा सामाजिक न्याय र आर्थिक समानताका लागि भूमिगत, सडक, सदन, सत्ता र निर्वासनजस्ता सबै मोर्चामा कोइरालाको सक्रिय सहभागिता थियो।
एउटा मानिसले उसकाे संसारलाई उस्कै दिमागी संरचनाका आधारमा नै बुझ्न गर्दछ। मैले पनि बिपी कोइरालालाई त्यही आधारमा बुझ्ने प्रयास गरें। आशा गरौं उनै कोइरालाले देखेको समाजवादको सपना कुनै दिन अवश्य पूरा हुनेछ। फरक यति छ कि त्यो समय कहिले आउला।
कोइरालाको स्वास्थ्य हेरचाहमा खटिएका डा. रामवरण यादवले एकदिन सुनाएका थिए, ‘सान्दाजुमा अरु त के के थियो थियो तर अदम्य साहस अचम्मको थियो।’ डा. यादव जो गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिसमेत भए।
नेपालका २२औं प्रधानमन्त्री भएका कोइरालाको क्याविनेट वि.सं. २०१६ समावेशी र चुस्तदुरुस्त थियो। वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको वि.सं. २०३९ साल साउन ६ गते क्यान्सर रोगबाट ग्रसित भएर निधन भएको थियो।
गुण र दोष सबै ब्यक्तित्वमा नै हुन्छ। ‘दोषी चस्मा’बाट कोइरालाले आफ्नो साहित्यको उचाइ बढाएको पाउँछु।
राजनीति, धर्म–दर्शन, चिन्तन, विश्व समुदायको विचरण र ध्रुवीकरणका विषयमा कोइरालाका मनतव्य र लेख दस्तावेज उच्च राजनीतिक तहका छन्।
आत्मवृत्तान्त र जेल जर्नललगायतका उनका रेकर्डेड दस्तावेजबाट बनेका ऐतिहासिक पुस्तक चर्चित छन्।
तत्कालीन दरबार, राजा र तिनका नजिककाहरुले त कोइरालालाई देशद्रोही नै ठाने तर इतिहासमा उनी जनताका हितमा काम गरेका जननायक भएर स्थापित भए।
अन्तमा: ‘जीवन नै एक सुनिश्चित जोखिम हो…’ हार्दिक श्रद्धाञ्जली!